वडामै चुनाव लड्न डराउँछन् कांग्रेसका केन्द्रीय नेता – Nepal Press

वडामै चुनाव लड्न डराउँछन् कांग्रेसका केन्द्रीय नेता

काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय आमन्त्रित सदस्यहरूले शुक्रबार सामूहिक राजीनामा दिए । सभापति शेरबहादुर देउवाले मनोनित गरेका उनीहरूले राजीनामा दिनुको मुख्य कारण स्वत: महाधिवेशन प्रतिनिधि हुन नपाउनु हो । कांग्रेसको विधानमा केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन्छ । तर आमन्त्रित केन्द्रीय सदस्यहरूले वडाबाटै निर्वाचित भएर आउनुपर्ने हुन्छ ।

केन्द्रीय समितिका आफूहरूबारे सबै स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाले अपमानित महसुस गराएको आमन्त्रित केन्द्रीय सदस्यहरूको गुनासो छ । कांग्रेस विधानको परिच्छेद ३ को दफा ११(१) को (ख) मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय समितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति,संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार एक अवधिका लागि स्वत: क्षेत्रीय अधिवेशनकोको प्रतिनिधि हुने व्यवस्था छ । आमन्त्रित केन्द्रीय सदस्यका हकमा यत्तिसम्म प्रावधान नहुनु गलत भएको असन्तुष्ट आमन्त्रित केन्द्रीय सदस्यहरूको भनाई छ ।

‘यही केन्द्रीय समितिमा तपाईहरूसंगै बसेर, तपाईहरू सरह हामीले काम गर्दै आएका छौ । तर पार्टीको विधानले तपाई हामीमा विभेद गरेको छ, यो विभेद अन्त्य गर्न नमानेका कारण हामी सामुहिक राजीनामा दिन्छौ’, बैठकमा आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले भने ।

कांग्रेस विधानमा बढीमा १० जनामात्रै आमन्त्रित केन्द्रीय सदस्य रहने व्यवस्था छ । यद्यपि फोरम लोकतान्त्रिक, राप्रपा, अखण्ड नेपाल लगायतका पाटीसंग एकताका कारण सभपाति देउवाले २२ जना आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन् । कांग्रेसमा केन्द्रीय पदाधिकारीसहित सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्न वर्षौंदेखि माग हुँदै आएको छ ।

पछिल्लो महासमिति बैठकमा देशैभरका जिल्ला सभापतिहरूले जोडदार ढंगले यो माग उठाएका थिए । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिहरूको माग सम्बोधन गर्ने वाचा गरेपछि मात्रै महासमितिको बैठक सम्पन्न भएको थियो । तर महासमितिको म्याण्डेट अनुसार केन्द्रीय समितिले विधान संशोधन गर्दा त्यसबारे विधानमा समेटिएन ।

‘केन्द्रका नेताहरू वडाबाट चुनिएर आउन डराएको पाइयो । महासमिति बैठकमा सभापति र वरिष्ठ नेताले हामीसंग सम्झौता गर्नुभयो तर केन्द्रीय समितिबाट विधान अनुमोदन गर्दा हाम्रो माग सम्बोधन भएन’, एक जिल्ला सभापतिले भने ।

ती सभापतिका अनुसार काठमाडौंमा बसेर नेताको चाकडी गरेका भरमा लिस्टमा परेर केन्द्रीय सदस्य भएकाहरू वडाबाटै चुनिएर आउनुपर्ने प्रस्तावको विरुद्धमा छन् ।

एकातिर पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म वडाबाटै चुनिएर आउनुपर्ने माग कांग्रेसमा उठ्दै आएको छ । अर्कोतिर आमन्त्रित केन्द्रीय सदस्यहरूले स्वत: महाधिवेशन प्रतिनिधि नबनाएको भन्दै राजीनामा दिएका छन् । कांग्रेस विधानमा महाधिवेशन प्रतिनिधि हुन सबैभन्दा पलिा वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिनुपर्छ ।

त्यसपछि क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चुनिनुपर्छ । विगतमा कतिपय केन्द्रीय नेताहरू वडा र क्षेत्रमै पराजित भएका दर्जनौ उदाहरण छन् । भूगोलमा भन्दा काठमाडौंमा बढी व्यस्त रहने, शर्षि नेतासंगको हिमचिमका आधारमा टिममा पर्ने र आफ्नो जिल्लामा पकड नभएका नेताहरू स्वत: महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने पक्षमा छन् । यद्यपि केन्द्रीय समितिमै केही नेताहरू वडाबाटै चुनाव लडेर आउनुपर्ने पक्षमा छन् ।

सभापति देउवा यसअघि डडेल्धुराबाटै सर्वसम्मत महासमिति सदस्य निर्वाचित भएका थिए भने वरिष्ठ नेता पौडेलपनि तनहुँबाट सर्वसम्मत चुनिएका थिए । सभापति देउवाले आमन्त्रित केन्द्रीय सदस्यको मागबारे सुनुवाई हुने बताएपनि त्यसका लागि विधान संशोधनको विकल्प छैन । अहिले विधान संशोधन गराएर त्यस्तो प्रावधान समेट्न सक्ने अवस्था देखिदैन । किनकी आमन्त्रित केन्द्रीय सदस्य समेत स्वत: महाधिवेशन प्रतिनिधि हुँदा सभापतिले आफ्नो मत बढाउने निश्चित हुन्छ ।

‘आफैले मनोनित गरेका सदस्यलाई स्वत: मतदाता बनाएर कसरी समान प्रतिस्पर्धा हुन्छ । आमन्त्रित मात्रै होइन सबै तलबाट चुनिएर आउनुपर्छ । वडामा लड्न नसक्ने मान्छे कसरी कांग्रेसको केन्द्रीय नेता हुन्छ ?’ एक केन्द्रीय सदस्यले भने ।

कांग्रेसमा महाधिवेशनको विषय उत्कर्षमा छ । विधान र संविधानले तोकेको सीमा घर्किनै लाग्दा कांग्रेस महाधिवेशन अझै निश्चित भइसकेको छैन । सभापति देउवा मंसिरदेखि महाधिवेशन कार्यतालिका सुरु गर्ने पक्षमा छन् वरिष्ठ नेता पौडेल भने भदौ २३ भित्रै अधिवेशन प्रक्रिया थाल्नुपर्ने पक्षमा छन् ।

आमन्त्रित केन्द्रीय सदस्यहरूको राजीनामा पनि महाधिवेशन हुन नदिन विषयान्तर गर्ने गरी आएको पौडेल पक्षको बुझाई छ । ‘म पनि वडाबाटै लडेर आउने हुँ । विधानमै नभएको व्यवस्था सभापतिले मनोनित गरेका व्यक्तिका लागि मात्रै लागु हुनसक्दैन । कि सभापतिले विधान संशोधन प्रस्ताव ल्याउनुपर्यो । यस्ता विषयले महाधिवेशन हुन नदिने विचारलाई प्रश्रय गरेको छ’, वरिष्ठ नेता पौडेलले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

One thought on “वडामै चुनाव लड्न डराउँछन् कांग्रेसका केन्द्रीय नेता

  1. नेताको फेरो समातेर नेतृत्व गर्न चहाने र नेतासँग एक क्लिक फोटो पोस्ट गरेर नेता बन्ने साथिहरुलाइ नियम पालन कसरी गर्नु पर्छ बिधानले देखाइ दियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर