अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग, रुकुम हत्याकाण्डमा जातीय विभेद गरेको आरोप – Nepal Press

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग, रुकुम हत्याकाण्डमा जातीय विभेद गरेको आरोप

काठमाडौं । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकाले सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ ।

नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए । उनले भने,‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन् ।’

डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए । अन्तरजातिय विवाहको आरोपमा नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप लगाए ।

उनले भने,‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ ।’ अन्तर्राष्ट्रिय नजरपनि यस घट्नामा परेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे । उनले भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभुति गराउनुपर्छ ।’

‘जनार्दन शर्मा जस्ता अपराधीका कुख्यातले सत्ता र शक्तिकै दम्भ देखाएर हत्याराको संरक्षण गरिरहेका छन्,’ उनले भने । विवादित व्यक्तिलाई देउवा सरकारमा नियुक्त हुँदा दलित, शिल्पी समुदायले अपमान महसुस गरेको बताए । उनले नवराज बिक लगायतको जातिय हिंसाले अन्तराष्ट्रिय बेइज्जती भएको बताए । उनले सर्वोच्चमा विचाराधिन मुद्दामा पीडित पक्षले न्याय नपाउने खतरा बढेर गएको समेत उल्लेख गरे ।

पत्रकार सम्मेलनमा अलायन्सका अर्का संयोजक चन्देश्वर दासले माओवादीले आफ्ना सरकार आएपछि जातिय विभेद हट्ने भनेर जनतालाई झुक्याएको समेत आरोप लगाए ।

उनले भने,‘जे जति सामाजिक घट्ना भएका छन्, ती सबै धार्मिक कारणले भएका छन् ।माओवादीले विभेद हटाउँछौ भनेर पछि आँफंैले दमन गर्दै आएको छ ।’देशमा हत्यारालाई पुरस्कृत गरिएको आरोप लगाउदै अहिले हत्याराको एउटा संरक्षक जनार्दन शर्मा अर्थमन्त्री भएको उल्लेख गरे ।

उनले थपे,‘अब अर्का संरक्षक मातृका यादवपनि मन्त्री बन्दैछन् रे ।’ अब दलित र उत्पीडन वर्गले खुकुरी र बन्दुक पड्काउने साहस गर्नुपर्ने बताए ।

कार्यक्रममा अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन् तबसम्म दलित आन्दोलन सफल नहुने बताईन् । उनले जात प्रथाले समाजमा ल्याएको विभाजन र त्यसको अन्त्य गर्न आफूहरुले अलायन्सको गठन गरेको पनि स्पष्ट पारिन् ।
दलित–दलितबीच भएको खाडल मेटेमात्र आन्दोलन सफल हुने उनको भनाई थियो ।

 


प्रतिक्रिया

One thought on “अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग, रुकुम हत्याकाण्डमा जातीय विभेद गरेको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर