जेठ २ मा फर्केको एमालेमा ३० सदस्यीय स्थायी कमिटी, नेकपाकालीन ८ नेता स्वतः समावेश (सूचीसहित) – Nepal Press

जेठ २ मा फर्केको एमालेमा ३० सदस्यीय स्थायी कमिटी, नेकपाकालीन ८ नेता स्वतः समावेश (सूचीसहित)

काठमाडौं । २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको विभाजनसँगै एउटै कमिटीमा नभेटिएका नेकपा एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा स्थायी कमिटी बैठकमा भेट हुँदैछन् ।

एमाले एकताका लागि गठित १० सदस्यीय कार्यदलले हस्ताक्षर गरेकाे १० बूँदे सहमति  अनुमोदनका लागि आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बाेलाइएकाे महासचिव ईश्वर पाेखरेलले बताए ।

याेसँगै ६ महिनापछि एमालेकाे आन्तरिक एकता कायम भएकाे छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यकै हैसियतमा सर्वोच्च अदालतबाट एमाले पुनःस्थापनापछि माधव नेपाल पक्षका नेताहरु पहिलो पटक पार्टी बैठकमा सहभागी हुँदैछन ।

२०७५ जेठ २ अघि जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुँदै गर्दा नेकपाकालीन ८ जना स्थायी कमिटी सदस्य एमालेको सोही पदीय हैसियतमा थपिने भएका छन् । यसअघि माधव पक्षबिनाको एमालेमा ती नेता स्थायी कमिटी सदस्यकै हैसियतमा क्रियाशील छन् ।

नेकपाकालीन स्थायी कमिटीमा एमालेबाट थपिएका चार सदस्य रघुजी पन्त,बिष्णु रिमाल,रघुवीर महासेठ र बेदुराम भुसाल स्वतः स्थायी कमिटीमा रहनेछन् ।

त्यस्तै पुस ५ पछि नेकपामा ओलीलाई साथ दिएका र एकता बदरपछि ओलीसँगै रहेका रामवहादुर थापा बादल,टोपवहादुर रायमाझी,लेखराज भट्ट र मणि थापा पनि एमालेको स्थायी कमिटी सदस्यका हैसियतमा सहभागी हुनेछन् र एमाले एकताको मस्यौदा अनुमोदन गर्नेछन् ।

कार्यदलका एक सदस्यले भने, ‘नेकपाकालीन जिम्मेवारीको विषय ठूलो विवादको कुरा होइन । कार्यदलमा स्थायी कमिटी सदस्यकै हैसियतमा माधव नेपाल पक्षबाट रघुजी पन्त र ओली पक्षबाट बिष्णु रिमालले मस्यौइदामा हस्ताक्षर गर्दै हुनुहुन्छ भने अब यसमा अरु विवादको कुरा के छ र ?’

२०७५ जेठ २ अघि २२ सदस्यीय रहेको एमाले स्थायी कमिटी अब ३० सदस्यीय हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर