डा. प्रकाशशरण महतको गुनासो : माथिल्लो तामाकोशी मैले अघि बढाएको हुँ, सरकारले जस दिएन – Nepal Press

डा. प्रकाशशरण महतको गुनासो : माथिल्लो तामाकोशी मैले अघि बढाएको हुँ, सरकारले जस दिएन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा आफूले निभाएको भुमिकालाई सरकारले अवमुल्यन गरेको गुनासो गरेका छन् । आजभन्दा १० वर्षअगाडि उर्जामन्त्री छँदा आफूले पहलकदमी लिएर माथिल्लो तामाकोशीको काम शुरु गरेको उनको दावी छ ।

तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उनले बताए ।

डा. महत भन्छन्, ‘अपर तामाकोशी आजभन्दा १० वर्ष अगाडि म ऊर्जामन्त्री भएको बेला अगाडि बढेको हो । त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो । त्यहाँको बाटो नै जोडिएको थिएन । बाटो नबनिकन ठेक्का लगाउने कुरा भएन । ठेकेदारहरुलाई बाटो बनाउन दिइएको थियो, तर उनीहरुले वर्षौं लट्काइरहेका थिए । मैले नै ठेक्का क्यान्सिल गराएर आर्मीले टेकओभर गरी बाटो जोडेपछि ठेक्का लगाउने परिस्थिति बनेको हो ।’

उनले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको बताए । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्वको लागत अनुमान गरिएको उनले जानकारी दिए । पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

यसको लागत ४८/५० अर्ब भन्दा बढी नजाने भए पनि ढिलासुस्ती र मिलेमतो लगायतका कारणले लागत बढाइएको नेता महतले बताए ।

आफूले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामलाई शुरु गरी योगदान गरेको भएपनि त्यसको मुल्यांकन नभएको उनको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर