नेपालको निर्यात व्यापार भारतको ‘मुड’मा निर्भर, पाम आयलमा यस्तो मनोमानी – Nepal Press

नेपालको निर्यात व्यापार भारतको ‘मुड’मा निर्भर, पाम आयलमा यस्तो मनोमानी

काठमाडौं । नेपालको वैदेशिक व्यापार दक्षिणी छिमेकी भारतमा अत्यधिक निर्भर छ । तर, यो निर्भरताको गलत फाइदा उठाउँदै भारतले नेपाललाई बारम्बार हैरानी दिन्छ । खासगरी नेपालबाट हुने निर्यातमा उसले विभिन्न बहानामा बारम्बार रोकावट पैदा गर्ने गरेको छ ।

पछिल्लो समयमा भारतको यस्तो प्रवृत्तिको शिकार बनिरहेको छ, पाम आयल । नेपालबाट हुने पाम आयालको निर्यातमा भारत मन लागे बन्देज लगाउँछ र मन लागे खोलिदिन्छ । केही समयअघि रोक लगाएर गत शुक्रबारदेखि ६ महिनाको लागि मात्रै भारतले पाम आयलको निर्यात खुला गर्यो । सरकारले भारतसँग पहल गरेपछि भारतले पाम आयलको निर्यात खुल्ला गरेको हो ।

भारतले गत पुस २३ गतेदेखि नेपालबाट निर्यात हुने पाम आयल निर्यात एक्कासी वृद्धि भएको र पाम नेपालमा उत्पादन नहुने भनेर रोकेको थियो । अहिले ६ महिनाका लागि भनेर खोले पनि त्यसपछि फेरि के हुने भन्ने निधो छैन ।

मलेसिया, क्यानाडा र अर्जेन्टिना लगायतका देशबाट नेपालमा पामको दाना आयात हुने गरेको छ । विदेशबाट आयात गरेको पामलाई नेपालमा प्रशोधन गरेर भारतमा निकासी गरिन्छ । भारतमा भन्सार मंहगो हुने भएकाले पाम नेपालमा प्रशोधन भई भारत जाने गरेको हो ।

नेपालबाट पाम भारतमा निकासी हुँदा भन्सार शुल्क लाग्दैन । नेपालमा बाहिरबाट पाम आउँदा भन्सार कम र भारत निकासी गर्दा भन्सार नलाग्ने भएकाले पनि नेपालबाट निकासी हुने पाम आयलको मूल्य सस्तो हुने गरेको छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले नेपालले पहल गरेकाले नै भारतले अहिले ६ महिनाका लागि खोलिदिएको बताए ।

उनले भने, ‘सरकारले निरन्तर पाम आयल निकासीको लागि भारतसँग पहल गरिरहेको छ । अहिले पनि सरकारको पहलले नै पाम आयल निकासी खुलेको हो ।’

उनले विश्व बजारमा नै विभिन्न वस्तुको आयत खुल्ने र बन्द हुने गरेको भन्दै यो स्वभाविक रहेको तर्क गरे । नेपालमा उत्पादन हुने अन्य बस्तुको बेरोकटोक निकासीका लागि सरकारले निरन्तर काम गरिरहेको दुगडको भनाइ छ ।

नेपाल चेम्बर अर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालबाट निर्यात हुने बस्तु रोकिँदा व्यापार घाटा बढ्ने बताए । एन्टी डम्पिङ कानून लागु भएपछि नेपालमा उत्पादन भएका बस्तुले बजारको माग धान्न सक्ने भएमा विदेशबाट ल्याउँदा भन्सार र कर (सेफ गार्ड) धेरै लाग्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा पाम आयल निर्यातकर्ता अविनाश बोहोराले भारतले पाम आयल निर्यात बन्द गरेपछि केही मात्रामा नेपालमै विक्री भएको बताए ।

उनले भने, ‘भारतले अहिले ६ महिनाको लागि मात्रै पाम आयल निर्यात खुल्ला गरेको छ । त्यसैले अहिले हामी ६ महिनाको लागि मात्रै भनेर उत्पादन सुरु गर्दैछौं ।’

भारतले पाम आयल निर्यात खुल्ला गरेपछि व्यवसायीले कच्चा पदार्थ मगाउन थालेका छन् । मलेसियाबाट २५ दिनमा पाम नेपाल आइपुग्ने गरेको छ । क्यानाडा र अर्जेन्टिनाबाट पनि पामको कच्चा पदार्थ आयात हुन्छ ।’

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले विदेशबाट १० अर्ब १२ करोडको कच्चा पदार्थ आयात गरेर ११ अर्ब ५५ करोड रुपैयाँको पाम आयल निकासी गरेको छ । आव ०७५/७६ मा नेपालले भारतमा १० अर्ब ३३ करोडको पाम तेल निर्यात भएको थियो ।

त्यसो त नेपालमा नै उत्पादन हुने अदुवा, अलैंची, अम्रिसो, चिया र कफीजस्ता बस्तु निर्यात पटक–पटक व्यवधान उत्पन्न गर्दै आएको छ भारतले । भारतको बजार हेरेर नै नेपालमा कृषक-व्यवसायीहरु अदुवा उत्पादन गर्छन् । तर भारतले निर्यातमा बारम्बार अवरोध गरेपछि नेपालमा उत्पादक निरुत्साहित भएका छन् र उत्पादन पनि घटेको छ । नेपाली बजारमा अदुवा धेरै खपत नहुने भएकाले भारतको बजार नपाएमा फ्याक्नुको विकल्प हुँदैन ।

पूर्व आपूर्ति सचिव पुरुषोत्तम ओझा विश्वभर नै आयत र निर्यातमा समस्या रहेको बताउँछन् । नेपालबाट भारत वस्तु निकासी हुँदा गैरभन्सारको प्रक्रिया झन्झटिलो रहेको उनको भनाइ छ ।

ओझाले भने, ‘आयात-निर्यातमा सबैतिर समस्या नै छ । त्यो समस्या दुई देशबीच छलफल गरेर नै समाधान गर्नुपर्छ ।’

नेपालको मुख्य निर्यातजन्य उत्पादनहरु सोयाबिन तेल, कार्पेट, पाम आयाल र अलैँची हुन् । चालु आवको बैशाखसम्ममा सबैभन्दा धेरै सोयाविन तेल निर्यात भएको थियो । तथ्यांकअनुसार ३५ अर्बको सोयाविन तेल निर्यात भएको थियो । त्यसपछि ५ अर्ब ९८ करोड बराबरको कार्पेट र ५ अर्ब ९७ करोडको अलैँची विदेश पठाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर