सरकार सधैँ स्वतन्त्र न्यायपालिकाको पक्षमा छ :शहरी विकास मन्त्री – Nepal Press

सरकार सधैँ स्वतन्त्र न्यायपालिकाको पक्षमा छ :शहरी विकास मन्त्री

काठमाडौं । शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पुर्ण रुपमा सम्मान गर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दे उनले सरकारले विगतमा पनि कानुन र संविधानको पुर्ण पालना गरेर र अब पनि गर्ने उल्लेख गर्दे संसद विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताएका हुन् ।

राजनीतिक अस्थिरता र संसदले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तराष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार मुुलुकलाई स्थिरता तर्फ लैजान संसद विघटन गरिएको प्रसंग उल्लेख गर्दे उनले सरकार सधै स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको स्पष्ट बताए ।
उनले भने,‘यो सरकार कानूनी राज्य र कानुनी शासनको, संविधानको सिद्धान्तलाई स्वीकार्छ । कानुनी शासन अन्र्तगत न्यायपालिकाकाले स्वतन्त्रतालाई, उसको अधिकार क्षेत्रलाई पुर्ण रुपले सम्मान गर्न जान्दछ । सक्दछ र सक्नुपर्छ भन्ने मान्यता राख्दछ ।’

पुर्नस्थापित संसदले मुलुकमा देखिएको अस्थिरता र पश्चगमनको बाटाहरुलाई निराकरण गरेर समस्या समाधान गर्न नसकेको र बहुमतको सरकार गठन गर्ने पटक पटकका अवसर खेर फालेकाले दोश्रो पटक संसद विघटन गर्नुपरेको उनले स्पष्ट पारे । दोश्रो पटक मन्त्रालयको कार्याभार सम्हालेका मन्त्री नेम्वाङ्गले आफुले मुलुक र जनताप्रतिको दायित्व निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

उनले अर्को आर्थिक बर्षमा सबै भन्दा बढी भौतिक र वित्तिय प्रगति शहरी विकास मन्त्रालयले गर्यो भन्ने समिक्षा निकाल्न सक्ने गरि कामकारवाही अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिए उनले समयमा आयोजना छनौट नहुने, बजेट निकासा नहुने लगायत समस्या देखिने गरेको भन्दै आागामी दिनमा त्यस्ता समस्या आउन नदिन सबैलाई सचेत गराए ।

लामो समय देखि अड्किएर रहेको काठमाडौै उपत्यकाका स्मार्ट सिटी बनाउने निर्णयलाई कार्यान्वयन गर्ने तर्फ पनि सक्रिय ढंगले काम गर्न ध्यानाकर्षण गराए । मुलुकमा असुरक्षित बसोबास गरिरहेका विपन्न, गरिब बर्गको फुसको छानो हटाएर टिनको छानो लगाउने कार्यक्रममा सन्तोषजनक प्रगती नभएको भन्दै उनले मन्त्रालयले अघि सारेको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन पनि निर्देशन दिए ।

उनले भने,‘जति सक्दो छिटो छरितो ढंगले जनतालाई पुराउने सुविधाहरु र बार्षिक नीति र कार्यक्रमका लक्षहरु प्राप्त गर्ने ढंगले लाग्नुभएको छ । सरकार सक्षम ढंगले, सहि ढंगले त्यसको नेतृत्व गर्दछ र यहाँहरुलाई साथ दिन्छ । म आजको दिनमा यही कुराहरु राख्न चाहन्छु । अर्को आर्थिक बर्षमा सबै भन्दा बढी भौतिक र वित्तिय प्रगति शहरी विकास मन्त्रालयले गर्यो भन्ने समिक्षा निकाल्न सक्यौ भने त्यही नै सबै भन्दा ठूलो गौरवको विषय बन्छ ।’

कोभिड महामारीको असरका कारण पनि मन्त्रालयको प्रगती आशाजनक नै रहेको भन्दै उनले एकढिक्का भएर काम गर्न सबैलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर