कांग्रेस सभापतिमा दोहोरिन आज ३ प्रदेशका नेतासँग छलफल गर्दै देउवा – Nepal Press

कांग्रेस सभापतिमा दोहोरिन आज ३ प्रदेशका नेतासँग छलफल गर्दै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सभापतिमा आफ्नो सम्भावित उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गर्दैछन् । देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् ।

छलफलका लागि ती प्रदेशबाट प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । यसअघि शनिबार प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरेका थिए ।

कांग्रेसको १४ औं महाधिवेशन आगामि भदौ १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ । महाधिवेशनबाट फेरि एक कार्यकालका लागि सभापति बन्न देउवाले चाहेका छन् ।

पार्टीलाई अझै एक कार्यकाल नेतृत्व दिन र सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गराउन आफूले चाहेको देउवाले बताउने गरेका छन् । आफ्नो समूहका अधिकांश नेताको समर्थन पाए पनि उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दावी गरेपछि देउवालाई दवाव बढेको छ ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि देउवाको उत्तराधिकारी आफू हुनुपर्ने बताएका छन् । यस्तो अवस्थामा आफ्नै समूहलाई एकतावद्ध बनाउनुपर्ने चुनौती देउवासामू देखिएको छ ।

यसअघि भएका छलफलमा अधिकांश केन्द्रीय सदस्यहरुले निधि, श्रेष्ठलगायतलाई सहमत गराउन देउवालाई सुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर