स्वास्थ्यमा बजेट र निःशुल्क सुविधा, कसरी थाहा पाउने ? हेर्नुस् ३० जवाफ – Nepal Press

स्वास्थ्यमा बजेट र निःशुल्क सुविधा, कसरी थाहा पाउने ? हेर्नुस् ३० जवाफ

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सबैभन्दा धेरै स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब रुपैया बिनियोजन गरेको छ । महामारीको बेला समेत भएकाले स्वास्थ्य क्षेत्रमा ठूलो बजेट गएको छ ।

स्वास्थ्यमा गएको बजेट र कोभिड महामारीको उपचार तथा खोपका सन्दर्भका धेरैलाई जिज्ञासाहरु छन् । कुन अस्पतालमा निःशुल्क उपचार हुन्छ, कहाँ सहमुलियत पाइन्छ र अन्य स्वास्थ्य सुविधाहरु कसरी लिने ?

यी सबै विषयलाई सर्वसाधारणले बुझ्ने भाषामा नेकपा एमालेका स्कूल विभाग सचिव ईश्वरी रिजालले ३० वटा प्रश्नोत्तरमाला बनाएका छन् । जुन सबै लागि उपयोगी हुनसक्छ भनेर यहाँ प्रस्तुत गरिएको छ ।

१. कुन अस्पतालहरूमा कोभिडको निःशुल्क परीक्षण र उपचार गरिन्छ ?
सबै सरकारी अस्पताल र प्रयोगशालाहरूमा ।

२. अक्सिजन उद्योग स्थापनाका लागि बजेटले के सहुलियत दिएको छ ?
उपकरण आयत गर्दा लाग्ने भन्सार र मूल्य अभिवृद्धि कर पुरै छुट । सामुदायिक र निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा कुल लागतको ५० प्रतिशत पूँजीगत अनुदान दिने । महामारीको अवधिभर अक्सिजन उत्पादनमा लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट दिने सहुलियत दिएको छ ।

३. कोभिड उपचारका लागि आईसियु, एचडियू, भेन्टिलेटर, किट्स लगायतका उपकरण खरिद गर्न बजेटमा कति रकम व्यवस्था छ ?
रु. ४ अर्व ।

४. कोभिड औषधि आयातमा बजेटले के छुट दिने भनेको छ ?
भन्सार महसुल छुट ।

५. कोभिड उपचारका लागि आवश्यक थप जनशक्ति बारे बजेटमा के व्यवस्था छ ?
सेवा निवृत्त र इन्टर्नसीप स्वास्थ्य सम्वद्ध जनशक्तिलाई सेवा करारमा लिई तलव सुविधा सहित ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराएर उपचारमा खटाउने ।

६. आफ्नै घरमा आइसुलेसनमा बसेका कोभिड विरामीहरूका लागि बजेटमा के व्यवस्था छ ?
सबै जनतालाई कोभिड खोप सुनिश्चित गर्न रु. २६ अर्व ७५ करोड विनियोजन गरेको छ ।

८. कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि वजेटले कति रकम विनियोजन गरेको छ ?
रु. ३७ अर्व ५३ करोड ।

९. नागरिकहरूलाई निःशुल्क प्रदान गर्दै आएको ७० प्रकारका औषधीका लागि बजेटमा कति रकम विनियोजन भएको छ ?

रु. ५ अर्व ६० करोड ।

१०. निःशुल्क मुटु रोगको उपचार कुन स्तर र उमेर समूहका नागरिकलाई गरिने छ ?
विपन्न स्तरका, चौधवर्ष मुनिका बालवालिका र ७० वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई निःशुल्क मुटु रोगको उपचार गरिने छ ।

११. कतिप्रकारका रोगको उपचारका लागि अनुदानको व्यवस्था गरिएको छ र यसका लागि कति रकम विनियोजन भएको छ ?
मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अलजाइमर्स, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाका रोगहरूको उपचारका लागि बजेटले अनुदानको व्यवस्था गरेको छ । यी उपचारका लागि २ अर्व ५० करोड रकम विनियोजन गरेको छ ।

१२. सरुवा रोग अस्पताल निर्माण बारे बजेटमा के व्यवस्था छ ?
आगामी आर्थिक वर्ष भित्र काठमाण्डौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशहरूमा ५० शैय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने र सोका लागि १ अर्व ३० करोड रकम बजेटले व्यवस्था गरेको छ ।

१३. प्रसूति, नवजात शिशु स्याहार, मातृ स्वास्थ्य सुधार र निःसन्तानका लागि बजेटले के संवोधन गरेको छ ?
सबै जिल्ला अस्पतालमा प्रशूति सेवा र नवजात शिशु स्याहार सेवा सञ्चालन गर्ने । हुम्ला, डोल्पा, मुगु र बझाङ लगायत २० जिल्लामा प्रशूति सेवा अगाडिको स्वास्थ्य जाँच र औषधी सुविधा सहितको मातृ प्रतीक्षा गृह सञ्चालन गर्ने । विराटनगर, बीरगञ्ज, बुटवल र धनगढीका सरकारी अस्पतालहरूमा निःसन्तान दम्पतिका लागि आईभिएफ सेवा विस्तार गर्ने ।

१४. हाल निर्माण प्रारम्भ भएको ३९७ स्थानीय तहका अस्पतालका बारे बजेटमा के व्यवस्था छ ?
हाल निर्माण प्रारम्भ भएका अस्पतालहरू आगामी २ वर्ष भित्र सम्पन्न गर्ने । निर्माण कार्य थालनी हुन बाँकी स्थानीय तहका हकमा आगामी आर्थिक वर्षमा निर्माण शुरु गर्ने । यी कार्य सम्पन्न गर्न ६ अर्व १५ करोड रकम बजेटले व्यवस्था गरेको छ ।

१५. बाल पोषण र खोप सम्वन्धमा बजेटमा के व्यवस्था छ ?
बाल स्वास्थ्य तथा पोषण कार्यक्रमलाई निरन्तरता दिने । विसिजी, पोलियो, डिपिटी, दादुरा, टाइफाइट लगायत १३ प्रकारको खोप सेवा प्रदान गरी आगामी वर्ष पूर्णखोपयुक्त वर्ष बनाई ६ लाख २० हजार बालबालिकालाई खोपसेवा दिने ।

१६. स्वास्थ्य सेवामा आमनागरिकको पहुंच पुर्‍याउन बजेटमा थप के व्यवस्था छ ?
स्वास्थ्य चौकी विस्तार, टेलिमेडिसियन, घुम्ती स्वास्थ्य सेवा, गर्भवती जाँच, प्रशूति, खोप सेवा, समुदायमा आधारित पुनस्र्थापना तथा प्रशामक सेवा प्रदान गर्ने ।

१७. नेपालमा स्वास्थ्य स्वयंसेवीकाको संख्या कति छ ? वजेटले उनिहरूलाई के व्यवस्था गर्‍यो ?
स्वास्थ्य स्वयंसेवीकाको कुल संख्या जम्मा ५२ हजार रहेको छ । उनिहरूलाई प्रदान गर्दै आएको यातायात खर्च बजेटले सतःप्रतिशत वृद्धि गरि मासिक १२ हजार पुर्‍यायो ।

१८. क्षयरोगमुक्त स्थानीयतह घोषणा कतिवर्ष भित्र गरिन्छ र अन्य सरुवा रोगकाबारे बजेटमा के व्यवस्था छ ?
आगामी २ वर्ष भित्र क्षयरोग मुक्त स्थानीयतह घोषण गरिने छ । मलेरिया, क्षयरोग, एड्स तथा योन रोग र कूष्टरोग नियन्त्रणका लागि १ अर्व ४६ करोड रकम विनियोजन गरिएको छ ।

१९. मधुमेह, उच्चरक्त्तचाप, मुटु र मृगौला रोग, क्यान्सर जस्ता नसर्ने रोगको निदान र उपचारका लागि बजेटमा के व्यवस्था छ ?
यस्ता रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक, आधुनिक उपकरण सहितको विशिष्टीकृत अस्पतालको स्थापना, स्तरोउन्नति र विस्तार गर्ने वजेटमा व्यवस्था छ ।

२०. ४० वर्षभन्दा माथिका नागरिकको स्वास्थ्यका बारेमा बजेटले के व्यवस्था गरेको छ ?
रक्तचाप, पिसाव र रगतको ग्लुकोजाँच, स्तन र पाठेघरको मुखको क्यान्सर वर्षमा एकपटक निःशुल्क परीक्षण गरिदिने व्यवस्था गरेको छ । तीन प्रदेशका नौ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिने व्यवस्था गरेको छ ।

२१. मेडिकल कलेज, केन्द्रीय अस्पताल र स्वास्थ्य प्रतिष्ठानले अव के दायित्व पुरा गर्नु पर्छ ?
कम्तीमा एउटा सरकारी अस्पतालमा नियमित रूपमा विशेषज्ञ सेवा सहितको स्याटालाइट क्लिनिक सञ्चालन गर्नु पर्ने छ । ५० शैय्याभन्दा बढी क्षमताका स्वास्थ्य संस्थाले महिनाको एकपटक आफ्नो सेवाक्षेत्र भित्र अनिवार्य रूपमा घुम्ती क्लिनिक सञ्चालन अनिवार्य गर्नु पर्ने छ ।

२२. दुई सय शैय्या क्षमताभन्दा माथिका अस्पतालहरूले कुन रोगको उपचारका लागि कति बेड छुट्याउनु पर्ने छ ?
मानसिक रोग उपचारका लागि न्यूनतम १० बेड ।

२३. पचास शैय्याभन्दा माथि क्षमता भएका अस्पतालहरूले कुन उपचार कक्षको थप व्यवस्था गर्नु पर्छ ?
जेष्ठ नागरिक उपचार कक्ष ।

२४. सुपर स्पेसीयालिटी अस्पताल कहाँ बन्ने छ, कहिले सम्पन्न गरि सञ्चालनमा आउने छ र त्यसमा कुन रोगको निदान र उपचार हुनेछ ?
सुपर स्पेसीयालिटी अस्पताल ३ वर्षभित्र सञ्चालनमा आउने गरी काठमाण्डौंको किर्तिपुरमा बनाइने छ । यसमा अन्तराष्ट्रिय स्तरको सेवासहित युरोलोजी, नेफ्रोलोजी, न्युरोलोजी सर्जरी, स्पाइनलकर्ड सर्जरी, कार्डियोलोजी, कार्डियो सर्जरी, पल्मोनोलोजी, ग्याँस्ट्रोइन्टर्लोजी र ग्याँट्रो सर्जरीका साथै अन्य रोगको विशिष्टीकृत उपचार गरिने छ । यसमा उच्च स्तरको उपचार, डाइग्नोष्टिक सेन्टर, अध्ययन, अध्यापन र अनुसन्धानका लागि १ हजार ५ सय शैय्याको क्षमता हुने छ ।

२५. वीर अस्पताल सेवा विस्तारका लागि कुन जिल्लामा, कुन स्तरको अस्पताल कति वर्ष भित्र सम्पन्न गरिने छ ? यो कुन स्तरको आयोजनामा समावेश गरिने छ ?
भक्तपुर जिल्लाको दुवाकोटमा, अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न अस्पताल निर्माण गरी तीन वर्षभित्र सञ्चालनमा ल्याइने छ । यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने छ ।

२६. आगामी आर्थिक वर्ष भित्र ट्रमा अस्पताल कहाँ-कहाँ बनाइने छ ?
धनुषाको ढल्केवर, परासीको बर्दघाट र लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने छ । साथै धादिङको वेल्खुमा ट्रमा सेन्टर स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने छ ।

२७. रोग निदानका लागि विदेशमा परीक्षण गर्न नमुना पठाउनु पर्ने झन्जटबाट मुक्त हुन बजेटमा के व्यवस्था गरिएको छ ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्तरोउन्नति गरिने छ । प्रादेशिक प्रयोगशालालाई रिफरलर प्रयोगशालामा विकास गरिने छ ।

२८. निरोगी नेपाल अभियानलाई सफल पार्न के कस्ता कार्यहरू गरिने छ ?
स्वच्छ विचार, स्वस्थ खाना, नियमित व्यायमकालागि नागरिक जागरण कार्यक्रम सञ्चालगर्ने । आयुर्वेद, प्राकृतिक चिकित्सा र वैकल्पिक उपचार पद्धतिको प्रवद्र्धन गर्ने । सवै प्रदेशमा आयुर्वेदिक असपताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने ।

२९. आगामी आर्थिक वर्ष भित्र कतिप्रतिशत मानिसलाई स्वास्थ्य विमा दायरामा ल्याइनेछ ? यसका लागि बजेट कति विनियोजन गरिएको छ ?
स्थानीय तहका ५० प्रतिशत मानिसलाई विमा दायरामा ल्याइने छ र यसका लागि रु ७ अर्व ५० करोड बजेट विनियोजन गरिएको छ ।

३०. बजेटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कति रकम विनियोजन गरेको छ ?
१ खर्व २२ अर्व ७७ करोड रकम विनियोजन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live