नेपालमा १२ जनामा कालो ढुसीको संक्रमण पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी जारी – Nepal Press

नेपालमा १२ जनामा कालो ढुसीको संक्रमण पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी जारी

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको भएका मानिसहरुमा ‘कालो ढुसी’को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म झन्डै एक दर्जन मानिसमा आँखा बिगार्ने ‘ब्ल्याक फङ्गस’को संक्रमण देखिएको मन्त्रालयले बताएको छ । वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंका अस्पतालबाट कालो ढुसी संक्रमणको विवरण आएको स्वास्थ्य मन्त्रालयको प्रवक्त्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

भारतमा ब्ल्याक फङ्गसबाट हजारौ मानिस संक्रमित भएका छन् । नेपालमा पनि कोभिड बिरामीका लागि यो संक्रमण घातक बनेको छ ।
पौडेलले भने, ‘नेपालमा सुरुमा वीरगञ्जबाट कालो ढुसीको संक्रमणबारे रिपोर्ट गरिएको थियो । संक्रमण रोकथाम तथा उपचारको लागि मापदण्ड बनाएका छौं, विशेषज्ञ चिकित्सकहरुको एउटा कोर टीम बनाएर हामीले रोकथामका लागि एड्भाइजरी प्रकाशित गरिसकेका छौं ।’

चिकित्सकका अनुसार कालो ढुसी संक्रमितको उपचारको लागि ‘एम्फोटेरिसिन बी’ औषधीको प्रयोग गरिएको छ तर नेपालामा भने अहिलेसम्म यो औषधी उपलब्ध हुन सकेको छैन । पछिल्लो समय भारतले आयात निर्यातमा रोक लगाएपछि औषधि उपलब्ध गर्नका लागि चुनौतिपूर्ण भएको छ’ पौडेलले बताए ।

तीलगंगा इन्स्टिच्यूटका विशेषज्ञ रीता गुरुङका अनुसार कालो ढुसी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको मानिसमा बढी हुने गर्दछ । कोभिड संक्रमण भइसकेका मानिसहरुमा इम्यूनिटी (प्रतिरोध क्षमता) घटेको हुन्छ, त्यस्ता बिरामीहरुमा रोगसँग लड्ने क्षमता घट्न जान्छ । यो रोग मधुमेह रोगी, जलेका बिरामी र क्यान्सरका बिरामीमा बढी समस्या देखिने गर्छ ।

अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङ्गस एउटै प्रजातिको भएको उनी बताउँछिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *