यी हुन् राष्ट्रियसभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि – Nepal Press

यी हुन् राष्ट्रियसभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि

काठमाडौं । वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतगणना शुरू भएको छ । हेटौंडामा शुरू भएको मतगणनाको परिणाम आजै साँझसम्म आइसक्नेछ ।

निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका छन् ।

अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य अनुपस्थित भए । त्यस्तै माओवादी केन्द्रकी सांसद हिमाली गोले पनि बिरामी परेका कारण अनुपस्थित भइन् ।

मतदानमा अनुपस्थित हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका तीनजना, नेपाल मजदुर किसान पार्टीका एकजना र एमालेको माधव नेपाल पक्षका एकजना छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ मतदानमा अनुपस्थित भए ।

त्यस्तै दोलखाको मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी पनि बिरामी परेका कारण अनुपस्थित भएकी छन् । उनी एमालेको माधव नेपाल पक्षमा खुलेकी दोलखाको एकमात्र जनप्रतिनिधि हुन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुन्छ । यस हिसाबले प्रदेश सभातर्फ जम्मा ५ हजार ४० मत खसेको छ भने स्थानीय तहतर्फ ४१७६ मत खसेको छ । जित्नेले ४५ सय ६० मत कटाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर