पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको अवस्था सुधारोन्मुख – Nepal Press

पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको अवस्था सुधारोन्मुख

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । बुधबार राति ८ बजे अस्पतालबाट पूर्वराजा डिस्चार्ज भएको नर्भिक इन्टरनेशनल अस्पतालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमण भई १९ दिनअघि पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो ।

लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षण हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्तालले जनाएको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि स्वास्थ्य अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको जनाइएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँगै अस्पतालमा रहेकी छन् । पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न रहेको जनाइएको छ । अस्पतालको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *