कोरोनाले बालबालिकामा संक्रमणभन्दा मनोवैज्ञानिक समस्या बढ्दो

जोखिममा फ्रन्टलाइनरका सन्तान

काठमाडौं । कान्ति बाल अस्पतालमा केही दिनअघि छोराको समस्या लिएर चिन्तित हुँदै एक अभिभावक आइपुगे । बालकको समस्या थियो- ‘मोबाइल अत्यधिक चलाएका कारण जीउ गल्ने । बालक जुनबेला पनि घरमा डराइरहन्थे । मनोविद्को परामर्शपश्चात् थाहा भयो उनलाई आफूलगायत ‘बा, आमा र भाइलाई केही हुन्छ कि’ भन्ने डरले सताइरहेको रहेछ । त्यसकै असरले अनौठो स्वभाव देखा परेको रहेछ ।

८ वर्षीय अर्का बालकमा सामानहरू फालिदिने, आगो लगाइदिने र बाआमाका कुरा मान्दै नमान्ने समस्या देखा परेपछि अस्पताल ल्याइयो । ती बालकले यस्तो प्रतिक्रिया जनाउन थालेको केही दिनमात्र भयो ।

कान्ति बाल अस्पतालका चिकित्सक मनोविद् डा. रामपुकार साहका अनुसार अस्पतालमा घरमा अतालिएर मनोवैज्ञानिक समस्या देखा परेका बालबालिकाका केस लकडाउनको बीचमा धेरै आएको छ ।

‘एक जना बालक केहीदिनदेखि डरले हिँड्नै नसक्ने भएका थिए । यसलाई डिसिसरी डिसअर्डर भनिन्छ । यसमा तनाब धेरै भएपछि त्यो शरीरमा जान्छ । र शरीरको कुनै पनि भाग नचल्ने हुनसक्छ । तर शारीरिक रुपमा केही पनि गाह्रो भएको थिएन । अरु जाँच गर्दा रिपोर्ट नर्मल थियो,’ उनले सुनाए ।

कारण रहेछ, कोभिडको मनोवैज्ञानिक असर । घरमा बाहिर जाँदा ज्यान जान्छ भन्ने खालका कुरा सुनेपछि उनी अत्तालिन थालेका रहेछन् । साहका अनुसार कतिलाई त खान निल्नै गाह्रो हुने भएका केस पनि आए ।

‘खासमा बच्चाको डर व्यक्त गर्ने तरिका फरक हुन्छ । र उनीहरूको डर व्यक्त शरीरबाटै हुन्छ,’ डा. शाह भन्छन् ।

तस्बिर स्रोत : युनिसेफ ।

मनोविद् करुणा कुँवरसँग पनि पछिल्लो समय यस्ता केस आइरहेका छन् । ‘एकजना अभिभावकले बच्चाले धेरै मोबाइल चलाएपछि किन चलाएको भन्दा बच्चाले मुख लगाएछन् । मुख लगायो भनेर एक थप्पड हान्दा आँखामा लागेर चोटपटक लागेछ । कतिपय अभिभावक चिन्तित हुँदै फोन गर्नुहुन्छ,’ कुँवर भन्छिन् ।

नयाँ भेरियन्टसहितको कोरोना दोस्रो वेभको प्रभाव बालिबालिकामा पनि उत्तिकै परेको छ । कोरोनाको प्रत्यक्ष असर त बालबालिकामा छ नै । त्यसमाथि लकडाउनको समयमा बालबालिकामा मानसिक समस्या पनि देखा पर्न थालेका यी प्रतिनिधि उदाहरण हुन् ।

डा. साहका अनुसार कान्ति बाल अस्पतालमा तीन वर्षमुनिका बालबालिकामा विकासमा कमी आएका केससमेत आउँछन् । मांसपेशी विकास नहुने (जसले गर्दा हिँडडुल गर्न, सामात्न गाह्रो हुने), बोलाउँदा नबोल्ने, बोलीकै विकास नहुने, भावनात्मक कुरा नबुझ्ने खालका समस्या आइरहेको उनले बताए । उनका अनुसार बालबालिकाको हुनुपर्ने जति बौद्धिक विकास पनि भएको पाइएको छैन ।

जोखिममा फ्रन्टलाइनरका बच्चा

इटालीमा गरिएको एक अनुसन्धानका अनुसार ३० प्रतिशत बालबालिका ‘पोष्ट ट्रमाटिक डिसअर्डर’को उच्च जोखिममा छन् । यो जोखिम स्वास्थ्य क्षेत्रका फ्रन्टलाइनरहरूको बालबालिकामा बढी देखिएको छ । नेपालमा पनि विशेषगरी मेडिकल क्षेत्रमा काम गर्ने फ्रन्टलाइनरका बच्चाहरूमा त्यस्ता समस्या देखिएका छन् ।

कोभिडको बेला कतिपय फ्रन्टलाइनरहरू घर नजाँदा बालबालिकाबीचको दूरी बढिरहेको छ । घर गए पनि आइसोलेसनमा रहने हुँदा बालबालिकासँग नजिक हुन पाउँदैनन् । मनोविद् कुँवर सुनाउँछिन्, ‘एकजना डाक्टर साथीले मलाई सुनाउँदै थिए- म घरमा आइसोलेसनमा बस्दा नजिक नआऊ भन्दा बच्चाहरू मान्दैनन् । इरिटेट हुने र एग्रेसिभ हुने समस्या देखा परेको छ ।’

‘उनीहरूसँग अभिभावकले पनि राम्रोसँग कुरा गर्न नपाउने टाढै बसेर कुरा गर्नुपर्ने अवस्था छ । यसले गर्दा बालबालिका अभिभावकसँग अहिले टाढिएको अवस्था छ,’ उनी थप्छिन् ।

मनोविद् डा. साह पनि सोही अनुभव सुनाउँछन्, ‘बाआमा कोही अफिस जानु पर्‍यो भने डाँको छाडेर रुने, टाढा भयो कि दशदेखि पन्ध्रचोटी कल गर्ने, बोलाउने । अभिभावकहरू काममा पनि जान नसक्ने । यस्तो केस बढीजसो मेडिकल क्षेत्रमा काम गर्ने अभिभावकहरूले बताउँछन् ।’

कतिपय भने दुवै अभिभावक काममा जानु पर्ने भएकाल लकडाउनको बेला बच्चाहरूलाई समय दिन सकिरहेका हुँदैनन् । यसको परिणाम बच्चाहरूमा बोलीको विकासमा कमी आउने, सामाजिक विकासमा कमी आउने, भावनात्मक समस्या बढी आउने खालका समस्या देखा परेको डा. साह बताउँछन् ।

अत्यधिक त्रास र निराशा

बाल मनोविद् डा. मिनाक्षी दाहाल शिक्षक तथा अभिभावकहरूसँग कुराकानीका क्रममा संवेदनशील बालबालिकालाई यसले थप नकारात्मक असर पारिरहेको पाइएको बताउँछिन् । दाहालका अनुसार जो बालबालिका पहिला बढी डर र त्रासमा थिए । जसलाई प्रत्यक्ष असर अघिल्लो लकडाउनमा पारेको थियो, त्यस्तो बालबालिकालाई यसले थप नकारात्मक प्रभाव पारेको छ । ‘अब यस्तै हुन्छ कहिले पनि खुल्दैन भन्ने खालका सोच, निराश हुने समस्या बालबालिकामा छन् ।

एकजना अभिभावकसँगको संवादमा उनले सुनेकी थिइन् । ‘अब निराश हुनुपर्दैन । एक महिनापछि सबै ठीक हुन्छ’ भनेर अभिभावकले सम्झाउँदा भन्दा पनि सन्तानको निराशाजन्य जवाफ थियो, ‘फेरि अर्को यस्तै आइहाल्छ नि… ।’

यद्यपि, सबै बालबालिकालाई एउटै नियम लागू नहुने उनको अनुभव छ । ‘यसले कति गहिरो असर बनाएको छ, यसलाई उनीहरूले ग्रहण गर्नसक्ने क्षमता कस्तो छ ? युवा तथा अभिभावकले त्यसलाई कसरी लिएका छौं, कसरी यसबारे कुरा गरेका छौं त्यो पनि उतिकै महत्वपूर्ण रहेछ,’ उनी सुनाउँछिन् ।

किन हुन्छ यस्तो ?

मनोविद्हरूका अनुसार कोभिडको कारण जुन भयको वातावारण सिर्जना भयो, त्यसले नै यो किसिमको समस्या पैदा भयो । समाचारमा मान्छे बितेको, अक्सिजन अभाव भएको लगायतका जानकारी आउँछन् । त्यसले गर्दा बच्चालाई सही जानकारी थाहा हुन्न । त्यसपछि उनीहरूले यो अवस्थालाई डरलाग्दो र उपायविहीन भन्ने हिसाबले सोच्छन् । डा. साहका अनुसार ५ वषदेखि १० उमेर समूहका बालबालिकामा कोरोनाबारे धेरै जानकारी आउँछ ।

‘अभिभावकले कुरा गर्दा उनीहरूले सुन्छन् । तर, बुझिरहेका हुँदैनन् । कोरोनालाई लिएर एकदमै डरलाग्दो मनस्थिति बन्छ । उनीहरूले डराएँ भनेर भन्ने भन्दा पनि शरीरबाट व्यक्त गर्ने हो । त्यतिबेला उनीहरूको लक्षण पेट दुख्ने, टाउको दुख्ने खालको हुन्छ,’ साह भन्छन्, ‘ किशोरकिशोरीको अवस्थामा चाहिँ जानकारी पनि हुन्छ । के भइरहेको भन्ने कुरा पनि थाहा हुन्छ । तर, एकदमै धेरै चिन्ता र इन्टरनेट एडिक्ट बढेको कारण ध्यान दिन कमी आउने, चिरचिराहट हुने, छट्पटी हुने, रिसाउने इत्यादि कुरा पनि अत्यधिक मात्रामा पाउँदैछौं ।’

स्कुल बन्द भएका कारण साथीहरू भेट्न नपाउँदा पनि उनीहरूमा छट्पटी देखिने डा. दाहाल बताउँछिन् । ‘जाँच हुन्छ कि हुँदैन, स्कुल खुल्छ कि खुल्दैन लगायतका कुराले नकारात्मक मनोभावनालाई मलजल गरेको छ,’ उनी भन्छिन् ।

अभिभावक सजग हुन आवश्यक

बच्चाको मनोविज्ञान उनीहरूको अभिभावकको मनोविज्ञानमा समेत भर पर्ने मनोविद्हरूको बुझाइ छ । दाहाल भन्छिन्, ‘अभिभावकले कोभिडबारे अरुसँग कुरा गर्दै गर्दा त्यसबारे बच्चाले सुनिरहेका हुन्छन् । समाचार सुनिरहेको छ । कोभिडको ग्राफ त उनीहरूले पनि उतिकै देखिरहेको हुन्छन् । भलै, कुन उमेरको छ, कति भन्न र बताउन नसक्लान् । तर उनीहरूलाई यो परिवेशले, आएको समाचारहरूले, हामीले गर्ने कुराकानीले असर पारिरहेको हुन्छ ।’

अभिभावक स्वयम् सामाजिक सञ्जालमा व्यस्त हुँदा बालबालिकाले समय नपाएको मनोविद् कुँवर बताउँछिन् । ‘बुबाआमा स्वयम् सामाजिक सञ्जालमा व्यस्त भएको हुँदा बालबालिकालाई समय नै नदिएको जस्तो देखिन्छ । यसमा अभिभावकले ध्यान दिनुपर्नेछ,’ उनी सुझाउँछिन् ।

बालबालिकासँग संवाद आवश्यक

बालबालिकालाई मनोवैज्ञानिक समस्याबाट जोगाउन अभिभावक र बालबालिका बीचको दूरी घटाउनुपर्ने डा. दाहाल बताउँछिन् । ‘अभिभावकले के गरिरहेका छन् भन्ने कुरा बालबालिकाले थाहा पाउनुपर्‍यो, बच्चाले के गर्दैछ भन्ने कुरा अभिभावकले थाहा पाउनुपर्‍यो । संवाद गर्नुपर्‍यो एकअर्कासँग,’ उनको सुझाव छ ।

मनोविद् कुँवरको पनि उही मत छ । उनका अनुसार बालबालिकासँग अभिभावकले समय बिताउनुपर्छ । ‘उनीहरूसँग कुरा गर्ने, खेल खेल्ने । आँगन छ भने सहभागी भएर कुराकानी गर्ने, घरकै र सिर्जनात्मक काममा उनीहरूलाई संलग्न गराउने । सिकाइमा समावेश गराउने गर्न सकिन्छ,’ उनी सुझाउँछिन् ।

डा. साह अभिभावकले पनि बालबालिकाको जिज्ञासा मेटाउनुपर्ने सुझाउँछन् । ‘बच्चाहरूसँग कोरोनाबारे खुलेर सही ढंगले कुरा गर्न सक्नुपर्‍यो । झुटो बोल्नुएन । बच्चाहरूलाई जिम्मेवारीका काम सिकाएर व्यस्त राख्नुपर्‍यो । साना-साना जिवन उपयोगी सीप सिकाउनुपर्‍यो,’ उनी सुझाउँछन् ।

इन्टरनेटको लतमा नियन्त्रण

इन्टरनेटको लतबाट बालबालिकालाई टाढै राख्नुपर्ने मनोविद्हरूको सुझाव छ ।

डा. साह भन्छन्, ‘यदि बच्चा ६ वर्षमुनि छ भने इलेक्ट्रोनिक ग्याजेट्स आधी घण्टादेखि एक घण्टामात्र चलाउनु दिऊँ । त्यो पनि अभिभावकको उपस्थितिमा, ४ वर्षमुनिकालाई मोबाइल दिनु जरुरी छैन ।’ ८ वर्षभन्दा माथिकालाई ४५ मिनेटदेखि एक घण्टा दिन उनी सुझाउँछन् ।

डा. दाहालका अनुसार इन्टरनेटको कुलतमा बालबालिका यसरी फसिरहेका छन् कि उनीहरू अश्लील साइटहरूमा जाने गरिरहेका छन् । कोही दुर्व्यवहारमा पनि फसिरहेका छन् ।

‘आफ्ना छोराछोरीले इन्टरनेटमा के हेरिरहेका छन्, कस्तो संगत गरिरहेका छन्, सामाजिक सञ्जाल के-के चलाइरहेका छन् भन्ने अभिभाविकले याद गर्नुपर्ने देखिन्छ । सामाजिक सञ्जाल भन्नेवित्तिकै निश्चित उमेर समूहका लागि त बन्दै गरिदिनुपर्छ,’ दाहाल भन्छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *