चिकित्सक भन्छन् -दोस्रो पटक संक्रमित भएकाहरुकाे स्वास्थ्य झन जटिल – Nepal Press

चिकित्सक भन्छन् -दोस्रो पटक संक्रमित भएकाहरुकाे स्वास्थ्य झन जटिल

रुपन्देही । एकपटक कोरोना संक्रमण परेर निको भएका र कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई पनि अहिलेको संक्रमणले निकै च्यापेको छ ।पहिलो चरणको संक्रमणभन्दा यो पटकको संक्रमणले निकै दुःख दिएको उनीहरुको भोगाई छ ।

विशेषगरी खोप लगाएका र पहिलोपटक संक्रमणमा परेकाहरुले स्वास्थ्य सुरक्षा सर्तकतामा ध्यान नदिएका कारण पनि यस्तो भएकोे स्वास्थ्यकर्मीको भनाइ छ ।

एकपटक कोरोना जितेपछि अब केही हुँदैन र कोरोनाविरुद्ध खोप लगाएकालाई केही हुँदैन भन्ने दम्भका कारण यस्तो समस्या आएको चिकित्सक संघ लुम्बिनीका सचिव डा. सागर न्यौपानेको भनाइ छ ।

‘एकपटक संक्रमण भएकालाई तीन महिना नहुनसक्छ भन्ने हो तर भाइरसका प्रकृति फरक फरक आइरहेकाले ठ्याक्कै यस्तो भन्ने पुष्टि हुन सकेको छैन, पहिलो पटक भएकाले तयार गरेको एन्टिबडीले तीन महिनासम्म रोगप्रतिरोधी क्षमता बढाउन सक्टछ तर अब कोरोनाले छुनसक्दैन भन्ने भ्रम धेरैमा छ त्यो सचेतनामा कमी आएकै कारण हो,’ उनले भने ।

कोरोनाविरुद्ध दोस्रो खोप लगाएकाहरु प्नि संक्रमणको जोखिममा परेका छन् । डा. न्यौपानेका अनुसार अहिलेसम्म यसको शतप्रतिशत रोकथाम कतै हुन सकेको छैन, कोरोनाविरुद्ध खोप लगाएकाहरुमा ७० प्रतिशतसम्म रोकथाम हुन्छ भन्ने अनुमान मात्र हो ।

तर पछिल्लो समयमा खोप लगाएका धेरैजनामा संक्रमण देखिएको छ केहीले ज्यान पनि गुमाएका छन् । कोरोनाविरुद्ध खोप लगाएको भएपनि आफ्नो आमाको संक्रमणबाट मृत्यु भएको बताउँछन् बुटवल १३ का ऋषि आजाद ।

‘मेरो आमामा कुनै पनि दीर्घ रोग थिएन, नियमित औषधि खानुपरेको थिएन, कोरोनाविरुद्धको खोप पनि लगाउनुभएको थियो तर मलाई संक्रमण भएपछि होमआइसोलेसनमा बसें, आमालाई पनि संक्रमण सर्यो, १५ दिन अस्पतालमा राखियो तर बचाउन सकिएन’ उनले भने ।

पहिलो चरणको संक्रमणमा पनि आफ्नो परिवारका सदस्यहरु धेरैजना परेको तर अहिलेको जस्तो जटिल अवस्था नआएको उनको अनुभव छ । ६५ वर्षका आजादले कोरोना संक्रमण जित्न उच्च आत्मबसहित नियमित खानपान र औषधि उपचारमै गम्भीर बन्न सुझाव दिन्छन् ।

बुटवल उपमहानगरपालिका सेमलारका तुल्सी पौडेल पनि गत कार्तिक महिनामा कोरोना संक्रमणमा परेका थिए । उनको परिवारमै त्यतिबेला संक्रमण देखिएको थियो, तर अहिलेजस्तो जटिल थिएन । उनका अनुभवमा पनि पहिलेभन्दा अहिले निकै समस्या जटिल रहेको छ ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य ०७७ कार्तिक ५ गते संक्रमणमा परेकी थिइन् । त्यतिबेला दुई साता घरमै बसेर कोरोना परास्त गरेकी आचार्यलाई अहिले पनि संक्रमणले भेटाएको छ । तर पहिलेभन्दा अहिलेको संक्रमणले निकै च्यापेको छ ।

अहिले त राम्रोसँग बोल्न पनि सकेको छैन, निकै च्यापेको छ, खोकी पनि निकै धेरै छ, म्यासेनजरमा आफ्नो प्रतिक्रिया दिँदै उनल भनिन्– बोल्न निकै समस्या परेको छ ।

पहिले संक्रमणमा परेकाहरु पनि अहिले संक्रमित भएको भएपनि कति जना परेका छन् भन्ने तथ्यांक जिल्ला तथा प्रदेश स्वास्थ्य कार्यालयमा छैन तर समस्या आइरहेको उनीहरु बताउछन् । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले दोस्रो पटक पनि संक्रमित बनेको र खोप लागेकालाई पनि संक्रमण देखिएपनि यसको आधिकारिक तथ्यांक निकाल्न नसकिएको बताए ।

‘स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतमा दोस्रोपटक पनि संक्रमण परेको अवस्था छ, सर्तकता बढाउन जरुरी छ उनले भने ।
‘पहिलो र दोस्रो डोज लगाएर दुई साता पुगेकालाई संक्रमण दर र संक्रमण भएपनि मृत्युदर अत्यन्तै कम रहेको छ, यो अहिले रुपन्देहीमा देखिएको तथ्यांकले पुष्टि हुन्छ, ६५ वर्षमाथिका संक्रमित कम छ र मृत्युदर पनि कम छ, ५० वर्षभन्दा कमीमा धेरै संक्रमण देखिएको छ,’ डा. गिरीले भने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर