धनुषामा अश्लील गीत बजाउन र डीजेइङ गर्न प्रतिबन्ध – Nepal Press

धनुषामा अश्लील गीत बजाउन र डीजेइङ गर्न प्रतिबन्ध

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले डीजे बाजा र आर्केस्ट्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । दिउँसोको समयमा सानो स्वरमा डीजे बजाउन पाउने र रातिको समयमा पूर्णतः प्रतिवन्ध लगाइएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट र डीजे व्यवसायीहरुबीच मंगलवार भएको छलफलपछि डिजे बजाउने मापदण्ड तोकेको हो । राति ९ बजेदेखि विहान ५ बजेसम्म ठूलो आवाजमा ध्वनी निस्कने डीजे बाजा बजाउन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको एसपी रानाभाटले बताए ।

उनका अनुसार विहान ५ बजेदेखि राति ९ बजेसम्म डिजे बजाउन पाइनेछ । तर ठूलो आवाज होइन् । दिनमा डीजे वा अन्य बाजा बजाउँदा छरछिमेकबाट गुनासो आएमा तत्काल बन्द गर्नुपर्ने कुरामा डीजे व्यवसायीहरु सहमत भएका छन् ।

उनले भने, ‘डीजे वाजाले समस्या भएको गुनासो सिधा सम्बन्धित प्रहरी कार्यालयमा गर्न सकिन्छ । प्रहरीले तत्कालै डीजे बन्द गराउनेछ ।’ अन्य जिल्ला तथा बाहिरबाट आउने डीजे व्यवसायीहरुले समेत निर्णयको पालना गर्नुपर्ने उनले बताए ।

यस्तै अश्लील गीत र द्वीअर्थ लाग्ने गीतहरु नबजाउने प्रतिबद्धता डिजे व्यावसायीहरुले जनाएका छन् । समाजमा नकारात्मक प्रभाव पारिरहेकाले अश्लील गीत र द्वीअर्थ लाग्ने गीतहरु नबजाउन प्रशासनले डिजे व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

तराई मधेसका ग्रामिण भेगमा विभिन्न अवसरमा आर्केस्ट्रा तथा डिजे नाचहरु गर्ने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *