रेखा थापाले भेटिन् विप्लव, ‘देशका अभिभावक’ भन्दै तारिफ – Nepal Press

रेखा थापाले भेटिन् विप्लव, ‘देशका अभिभावक’ भन्दै तारिफ

काठमाडौं । एकताकाकी चर्चित अभिनेत्री रेखा थापा अचेल फिल्मभन्दा राजनीतिमा बढ्ता चासो राख्छिन् । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रहेकी रेखाको विप्लव माओवादीप्रति पहिल्यैदेखि सहानुभूति थियो ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएलगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नाचेर उनी राजनीतिक वृत्तमा चर्चामा आएकी थिइन् । लगत्तै उनी माओवादीमै प्रवेश पनि गरिन् । माओवादीले संसदीय राजनीतिको आरोह-अवरोह पार गर्दै गर्दा रेखाले प्रचण्डको साथ छोडिन् ।

रेखा राजनीतिमा देखिने नयाँ प्रवृत्ति र पात्रसँग चाँडै आकर्षित पनि भइहाल्छिन् । त्यसैले उनी राप्रपा जस्तो ‘कन्जर्भेटिभ’ पार्टीमा रहेर पनि भूमिगत रहेका नेक्रविक्रम चन्द ‘विप्लव’ प्रति सहानुभूति जनाइराख्थिन् । उनले भर्खरै खुल्ला राजनीतिमा आएका विप्लवसँग हिजो भेटघाट पनि गरेकी छन् ।

लाजिम्पाटको एउटा क्याफेमा विप्लवलाई भेटेकी रेखा उत्साहित सुनिइन् ।

नेपाल प्रेससँग उनले भनिन्, ‘खुला राजनीतिमा आउनुभएकोमा बधाई दिन भेटेकी हुँ । समसामयिक विषय, देश र जनताको विषयमा कुरा भयो ।’

सरकारसँग तीनबुँदे सहमति गरेर सार्वजनिक हुँदा राष्ट्रिय सभागृहबाट दिन खोजेको सन्देशमा विप्लव अडिग रहेको उनी बताउँछिन् ।

रेखा भन्छिन्, ‘उहाँले राष्ट्रियसभा गृहबाट जे म्यासेज दिनुभएको थियो, त्यो कुरामा अडानमा हुनुहुन्छ । जनतालाई केन्द्रमा राखेर, मजदूर, महिला र उत्पीडित वर्गबारे उहाँको स्पष्ट एजेन्डा छ ।’

विप्लवसँग रेखाको पहिलो भेट हो । यसअघि माओवादीमै रहँदा विप्लवलाई झल्याकझुलुक देखेको भएपनि कुराकानी भने गरेकी थिइनन् । विप्लवलाई भेटेर आफू थप उत्साहित भएको बताउने रेखा उनमा त्यागी र फकिरपन पाएको बताउँछिन् ।

‘नेपाली जनताप्रतिको उहाँको त्याग र फकिरपन हामीलाई थाहा छ’ उनको भनाइ छ, ‘कुनै पद र प्रतिष्ठाको लोभ नगरिकन क्रान्तिलाई निरन्तरता दिनुभएको हो । बोलेको कुरा उहाँले शतप्रतिशत पूरा गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ विप्लव भूमिगत राजनीतिमा रहँदा पनि रेखाले उनीप्रति सहानुभूति जनाइराख्थिन् ।

यसबारे उनी भन्छिन, ‘यो देशप्रति निष्ठावान, कसैसँग नझुक्ने स्वभाव म उहाँमा पाउँछु । ठूलो आशा नदेखाउने र आफूले भनेको कुरालाई कार्यान्वयन गर्न सक्ने एउटा राम्रो नेतृत्व, यो देशलाई चाहिने अभिभावकका रुपमा मैले उहाँलाई लिएकी थिएँ । र, अहिले पनि लिन्छु । त्यस हिसाबले पनि मैले उहाँलाई समर्थन गरेको हो ।’

देशलाई नयाँ नेतृत्वको खाँचो रहेको ठान्ने उनी विगतमा माओवादीले उठाएर छोडेका मुद्दालाई विप्लवले निरन्तरता दिनेमा विश्वस्त छिन् ।

रेखाको भनाइ छ, ‘हिजो जनयुद्धमा जति पनि मुद्दा छोडिए, ती मुद्दाको सम्बोधन पनि हुनुपर्‍यो । दलितका मुद्दा छन् । महिलाका मुद्दा छन् । मजदुरका मुद्दा छन् । गरिबका मुद्दा छन् । गरिबको रेखामुनि परेका मानिसका मुद्दा छन् । यी सबै मुद्दा हिजोको नेतृत्वले छोडेको छ । त्यो चाहिं उहाँले निरन्तरता दिनुहुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।’

भेटमा रेखाले विप्लवलाई एउटा दरिलो सुझाव पनि दिएकी थिइन् ।

उनी भन्छिन्, ‘मैले उहाँलाई भनेको छु- तपाईंले जुन कुरा बोल्नुभएको छ, त्यसमा अडान भएन भने चाहिं सबैभन्दा पहिले अग्रपक्तिमा उभिएर विरोध गर्ने मै हुन्छु । तर, म उहाँप्रति एकदम आशावादी छु । जनमानसमा पनि एक प्रकारको उत्साह देखेकी छु । विप्लव दाइसँगको तस्बिर देखेपछि युवाहरू पनि आकर्षित भएको देखकी छु ।’

विप्लवप्रतिको समर्थन र साथ राप्रपामै रहेर हुन्छ कि बाहिर निस्केर भन्ने प्रश्नमा रेखाले खासै कुरा गर्न चाहिनन् । यसबारे उनी यत्ति भन्छिन्, ‘अहिले यो च्याप्टर ननिकालौं न प्लिज ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर