ओलीपछि माधव नेपालले सर्वोच्चबाट पाए जन्मदिनको ‘अप्रिय उपहार’ – Nepal Press

ओलीपछि माधव नेपालले सर्वोच्चबाट पाए जन्मदिनको ‘अप्रिय उपहार’

काठमाडौं । सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटनको ऐतिहासिक फैसला गर्दा संयोगले त्यही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन थियो । आज सर्वोच्चले सत्तारुढ पार्टीमा उथलपुथल ल्याउने गरी अर्को फैसला गरेको छ । संयोगले आज माधवकुमार नेपालको जन्मदिन परेको छ ।

सर्वोच्चले फागुन ११ मा गरेको फैसला केपी ओलीका लागि अप्रिय थियो । आफूले गरेको विघटन सिफारिस सर्वोच्चले उल्टाउँदा ओलीलाई ठूलै झट्का लाग्यो । सामाजिक सञ्जालमा चर्चा भयो- ओलीले सर्वोच्चबाट जन्मदिनको ‘कहिल्यै नबिर्सिने उपहार’ पाए ।

सर्वोच्चको फैसला आउँदा ओली जन्मदिन मनाउन व्यस्त थिए । तर, उनले फैसलालाई सहजरुपमा लिए । जन्मदिनको समारोह विथोलिएन । ओली अदालतको विरोधमा उत्रिएनन् ।

आज माधव नेपाल पनि जन्मदिनको खुशियालीमा छन् । उनलाई बधाइको ओइरो लागिरहेको छ । तर, खुशीको मुडमा रहेका नेपाललाई सर्वोच्चले नमिठो झट्का दिएको छ । अनि, सामाजिक सञ्जालमा लेख्न थालिएको छ, ‘माधव नेपालले पनि सर्वोच्चबाट जन्मदिनको उपहार पाए ।’

सर्वोच्चको फैसलालाई नेपालले कसरी ग्रहण गर्छन् हेर्न बाँकी छ । तर, सत्तारुढ नेकपालाई फैसलाले खारेज गरिदिएपछि उनी आजबाट साविक नेकपा एमालेको वरिष्ठ नेतामा फर्किएका छन् । यो बीच नेपाल कम्युनष्टि पार्टीका नामबाट भएका कुनै पनि काम-कारबाही अब स्वतः अवैध भएका छन् ।

सर्वोच्चको आजको फैसलाले सबैभन्दा ठूलो धक्का नेपाललाई लागेको छ । केपी ओलीले पुरानो एमाले पाए । प्रचण्डले माओवादी केन्द्र पाए । तर, माधव नेपाल यता न उताको बनेको चर्चा चल्न थालेको छ । उनी र उनको पक्षका सबै नेता र संसद अब ‘एमाले’ भएका छन् । उनीहरूलाई माओवादी केन्द्रतर्फ तान्न प्रचण्डलाई सहज छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर