गण्डकीमा खोप भण्डारण गृह शिलान्यास, ४० लाख खोप भण्डारण क्षमता – Nepal Press

गण्डकीमा खोप भण्डारण गृह शिलान्यास, ४० लाख खोप भण्डारण क्षमता

पोखरा । गण्डकी प्रदेशको प्रदेश मामिला समितिको ३० औं बैठकमा सांसद इन्द्रधारा विष्टले माग राखे, ‘कोभिडविरुद्धको खोप आइसक्यो । धमाधम लक्षित वर्गले लगाउन पनि थालिसके । तर, खोप भण्डारणमा विचार पुर्‍याएनौं कि ? अब त्यतातर्फ ध्यान दिन जरुरी होला !’

त्यतिबेला खोप भण्डारण गर्न प्रदेश सरकारले योजना त बनाएको थियो । तर, प्रारम्भिक प्रक्रिया सुरु भइसकेको थिएन । बैठकमा समिति सदस्यसमेत रहेको सांसद विष्टले भनेका थिए, ‘सामाजिक विकासमन्त्रीलाई नै लगेर खोपको भण्डार हेरौं र खोप भण्डारण कक्ष नभए त्यसको गुणस्तर कसरी कायम हुन्छ ?’

सांसद विष्टले भने जस्तै कोभिशिल्डमात्रै नभई नेपालमा अन्य ११ प्रकारका खोप लगाइँदै आइएको छ । ती खोप लगाउने प्रायः एक वर्ष मुनिका बालबालिका छन् । तर, ती खोप खोपको उचित भण्डारण व्यवस्था नभएकै कारण गुणस्तरीयता घट्ने हो कि भन्ने सरोकारवालाको चिन्ताको विषय थियो ।

विष्टले प्रदेश मामिला समितिमा माग राखेको करिब एक महिनापछि गण्डकी प्रदेशले आफ्नै खोप भण्डारण गृह पाउने भएको छ । हाल स्वास्थ्य तालिम केन्द्र रहेको भवन परिसरमा प्रदेश सरकारले खोप भण्डार गृह निर्माण हुने भएको हो ।

२ महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित शुक्रबार मुख्यमन्त्री पृथ्वीसुब्बाले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोभिड महामारी फैलिइसकेपछि त्यसबाट पाठ सिक्दै प्रदेशले उल्लेख्य काम गरेको सुनाए । उनले भने, ‘कोभिड महामारी हाम्रो लागि एउटा गतिलो पाठ बन्यो । तर, समस्याबाट पाठ सिक्दै हामी अगाडि बढिरहेका छौं ।’

खोप केन्द्रका लागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ करोड १२ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये टेन्डरका माध्यमबाट उक्त खोप केन्द्र ७५ लाख रुपैयाँमै बन्ने गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

‘पहिले पनि खोप कार्यक्रम सञ्चालन भइराखेकै हुन्थे । तर, भण्डारण कक्षको अभाव थियो । यो भवण २ महिनाभित्रै सम्पन्न भइसक्छ,’ डा शर्माले भने, ‘त्यसपछि भने गृहमा एकैचोटी ४० लाख परिमाणमा खोप भण्डारण गर्न सक्छौं ।’

खोप उत्पादनदेखि भण्डारसम्म उचित तापक्रममा राख्न सकिएन भने खोपको गुणस्तर कायम नरहने भएको पनि भण्डारण कक्ष अपरिहार्य रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले बताए ।

‘कोभिड १९ आइसकेपछि त्यसको खोप भण्डारण गृहको आवश्यकता झनै छ । नेपालले धान्न सक्ने २ देखि ८ डिग्री सेन्टी ग्रेड तापक्रमसम्म खोप प्राप्त भएको छ,’ केसीले भने, ‘त्यसको तापक्रम मेन्टेन गर्न पनि गृह आवश्यक थियो ।’

गण्डकी प्रदेशमा पहिलो चरणमा १८ हजार जना र अहिले ५५ वर्षमाथि उमेर समूहका करिब ३ लाख जनालाई कोभिडविरुद्धको खोप लगाउने तयारी भइरहेको केसीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *