‘केपी ओली आई लभ यू’ कसरी भयो टिकटकमा भाइरल ? – Nepal Press

‘केपी ओली आई लभ यू’ कसरी भयो टिकटकमा भाइरल ?

काठमाडौं । भ्यालेन्टाइन डे नजिकिएको छ । प्रेममा परेका युवा–युवतीहरू आफ्ना प्रेमी-प्रेमिकालाई कसरी माया दर्शाउने भनेर सोचमग्न होलान् । जो सिंगल छन्, उनीहरू पनि कसरी आफूले मन पराएको व्यक्तिलाई प्रपोज हान्ने भनेर योजना बुन्दै होलान् ।

माया दर्शाउन होस् वा प्रेम प्रस्ताव राख्न, सबैभन्दा चलनचल्तीको शब्द हो, आई लभ यू । प्रेममा परेकाहरूले एक-अर्कालाई आई लभ यू भन्नु नियमित काम नै भयो । तर आफूले मन पराएको व्यक्तिलाई फ्याट्ट ‘आई लभ यू’ भन्न सकिंदैन । बरु सामाजिक सञ्जालमार्फत आफूले मन पराएको सेलिब्रिटीलाई ‘आई लभ यू’ भन्ने/लेख्नेहरू चाहिं धेरै छन् ।

यही ‘आई लभ यू’ अहिले टिकटकमा अनौठो किसिमले भाइरल भइरहेको छ । अनौठो यसकारण कि युवा–युवतीहरू कुनै लक्का जवान सेलिब्रिटीलाई होइन, देशका प्रधानमन्त्रीलाई आई लभ यू भनिरहेका छन् । उमेरले वृद्धावस्थाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आई लभ यू’ भन्दै खासगरी युवतीहरूले बनाएका भिडियो क्लिप्स बग्रेल्ती भेटिन्छन् ।

केही वर्षदेखि नेपाली राजनीतिको केन्द्रमा छन् ओली । यस्तो लाग्छ कि उनको पक्ष र विपक्षमा देश बाँडिएको छ । देशमा या त ओली समर्थक छन् या विरोधी । धेरै सञ्चारमाध्यमले ओलीलाई लगातार खलनायकको रूपमा चित्रित गरिरहेका छन् । संसद विघटनयता त झनै खुलेर ओलीमाथि आक्रमण भइरहेको छ । यसका बाबजूद टिकटकमा ‘केपी ओली आई लभ यू’ वाला ट्रेन्ड किन चलिरहेको छ त ?

यसरी टिकटक बनाउने पुस्ता त्यो हो, जसलाई देशको राजनीतिसँग खासै चासो छैन । उनीहरू ओलीका भाषण समाचारमा होइन, टिकटकमै हेर्छन् र रमाइलो मान्छन् । विरोधीहरूको तेजोबध गर्ने चोटिला डाइलग र रमाइला उखान टुक्कासहितका भाषणले टिकटकमा ओलीको अर्कै खाले फ्यान फलोइङ जन्माइरहेको छ । राजनीतिमा चाख नराख्ने पुस्ताले उनलाई पछ्याउन थालेको छ ।

पछिल्लो समय ओलीको भाषणका कैयन् फुटेज टिकटकमा भाइरल छन् । ओली र प्रचण्डको फुटेज जोडेर बनाइएको ‘नाटकै हो, नौटंकी नै हो’ वाला टिकटकले त व्यापकै रूप लियो । ओलीले प्रचण्ड र माधव नेपालको क्यारिकेचर गरेका भिडियोहरू पनि उत्तिकै चर्चित छन् ।

कसरी शुरू भयो ट्रेन्ड ?

गएको माघ २२ गते प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा देशव्यापी आमहड्ताल आयोजना गरेको थियो । सोही दिन ओली समूह समर्थित युवा संघले काठमाडौंमा मार्च पास आयोजना ग¥यो । त्यही मार्चपासमा पहिलोपटक ‘केपी ओली आई लभ यू’ को नारा लागेको बताउँछिन् ओली समर्थित अनेरास्ववियूकी सचिवालय सदस्य अस्मिता थापा ।

‘पूर्वयोजना बनाएर होइन, फिल्डमा स्वस्फूर्त रूपमा लागेको नारा हो’, उनले भनिन् । पार्टीका युवा नेता महेश बस्नेतबाट यो नारा शुरू भएको उनको भनाइ छ ।

सो मार्चपासमा सहभागीहरूले ‘नेपाल बन्दैछ, केपी ओली आई लभ यू’ भन्दै गरिएको नारावाजीको भिडियो फुटेज टिकटकमा आएपछि हिट भएको थियो । त्यसपछि ओली समर्थित अन्य जुलुसहरूमा पनि यो नारा लाग्ने गरेको छ । साथै, यही आवाजमा लिप सिंक गरेर टिकटकमा भिडियो बनाउने होड चलेको छ । युवा–युवतीहरूले ओलीको फोटो देखाएर भिडियो बनाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर