सुशील’दा जसले आफ्नो सम्पत्ति बेचेर बीपीकाे उपचार गरे – Nepal Press
सम्झनामा सुशील’दा

सुशील’दा जसले आफ्नो सम्पत्ति बेचेर बीपीकाे उपचार गरे

कुनै पनि प्राणीको जीवनलाई जन्मको आकस्मिकता र मृत्युको सुनिश्चितताले पूर्णता प्रदान गर्दछ । जन्मको पूर्वनिश्चितता हुँदैन र यो आकस्मिक नै हुन्छ तर मृत्यु अकाट्य ।

प्राणीहरूमा मान्छे सर्वश्रेष्ठ प्राणी हो । उसले आफू र बाँकी संसारका निम्ति आफ्नो जीवनलाई समर्पण गर्छ । मान्छेहरूमा पनि केही त्यस्ता व्यक्तिहरू पैदा हुन्छन् जो औसत मान्छेभन्दा फरक हुन्छन् । आफ्नो जन्मको उपादेयतालाई फरक ढंगले बुझ्दछन् । र, आफूले पाएको जीवनलाई अरूका निम्ति समर्पित गरिदिन्छन् अर्थात् सम्पूर्ण मानव जातिको सुख र स्वतन्त्रताका निम्ति ।

अझ महान् सन्तहरूले त मानव जातिका निम्ति मात्र होइन, सम्पूर्ण जगतको हितको वकालत गर्दछन् । कतिपय त भगवानको अवतार पनि बन्न पुग्दछन् । आफ्नो लक्ष्यप्रतिको प्रतिबद्धता, सार्थक कर्म र निरन्तर संघर्षले मान्छेलाई आम मान्छे भन्दा माथि उठाउँछ । समकालीन विश्वमा अहिले पनि त्यस्ता मान्छेहरू अलग्गै चिनिन्छन्, अरूबाट छुट्टिन्छन् । उनीहरूलाई संसारभरिका मान्छेहरूले श्रद्धा र माया गर्दछन् ।

संसारमा एकपल्ट प्राप्त भएको जीवनमा आफ्ना सुखको वास्ता नगरी अरूका लागि मरिमेट्ने त्यस्ता महामनाहरू विरलै पाइन्छ । उनीहरू शायद एउटा कार्यसूची बोकेर पैदा हुन्छन् र त्यसलाई पूरा गरेर मृत्युवरण गर्दछन् । त्यस्ता थोरै मान्छेहरूमध्ये एक हुनुहुन्थ्यो नेपाली कांग्रेसका सभापति र पूर्व प्रधानमन्त्री सुशील कोइराला ।

जीवनको तात्पर्य बुझेका सुशील’दा

जन्म र मृत्युको बीचमा चल्ने यात्रा हो जीवन । जसले जीवनको तात्पर्य बुझ्यो उसको जीवन सार्थक भयो, जसले बुझेन, निरर्थक । सुशील’दाले जीवनको तात्पर्य बुझ्नुभयो र जीवनलाई सार्थक बनाउनुभयो ।

औसत राजनीतिज्ञले राजनीतिलाई आफ्नो हितको निम्ति उपयोग गरिने उद्यम बनाउँदछ अर्थात् कतिपय अर्थमा यो व्यापार बन्छ । यस्ता व्यक्ति या नेताका कारण राजनीतिले आफ्नो बाटो विराउँछ र आकर्षण पनि गुमाउँछ । तर त्यस्ता केही व्यक्ति पनि समाजमा हुन्छन् जसले राजनीतिलाई सत्कर्म र परोपकार बनाउँछन् । राजनीतिलाई व्यापार बनाएकाहरूका विरुद्ध कडा संघर्ष गर्छन् र जनतालाई स्वतन्त्रता प्रदान गर्दछन् ।

सुशील’दा जनअधिकार प्राप्तिको लामो संघर्षका अथक् योद्धा हुनुहुन्थ्यो । लगभग २००७ सालको जनक्रान्तिदेखि नै राजनीतिमा संलग्न उहाँ २०१२ सालको वीरगञ्ज महाधिवेशनदेखि त नेपाली कांग्रेसको राजनीतिमा होमिइहाल्नुभो । त्यसयताको ६ दशक लामो राजनीतिक यात्रामा अविराम संघर्ष गर्नुभयो । देश, लोकतन्त्र र नेपाली कांग्रेसका निम्ति आफ्नो सम्पूर्ण स्वार्थको तिलाञ्जली दिनुभयो ।

राजनीतिमा लागेर सम्पत्ति जोड्ने नेताहरूले भरिपूर्ण नेपाली राजनीतिमा उहाँ त्यस्तो व्यक्ति हो जसले आफ्नो सम्पत्ति लोकतान्त्रिक संघर्षमा लगाउनुभयो । सिनेमाको हिरो बन्ने आकांक्षा बोकेको सुट र टाई लगाएर हिंड्ने तरुण वयको एउटा व्यक्ति सुशील’दाले आफ्नो जीवनको बाटो परिवर्तन गर्नुभयो ।

सरल र सादगीपूर्ण संघर्षमय यात्राको प्रस्थानविन्दु २०१७ सालको राजनीतिक दुर्घटना थियो । त्यसयताको सम्पूर्ण जीवनमा सुशील’दाले आफ्नो निजी सपनाको परित्याग गर्नुभो अर्थात् लोकतन्त्रको पुनर्वहाली र जनअधिकारको स्थापनालाई आफ्नो जीवनको लक्ष्य बनाउनुभयो । पैसा कमाउँला, सुखभोग गरौंला, ठूलो पदमा पुगौंला, राम्रो गाडी चढौंला र अट्टालिकामा बसौंला भन्ने आम मान्छे या औसत मान्छेको सोचाइको दाहसंस्कार गर्नुभो ।

१६ वर्ष भारत प्रवासमा बस्ने त्यो पनि निकै कष्टपूर्ण, नेता समकालीन राजनीतिमा पाइँदैन । उहाँले दुःखको बाटो रोज्नुभो कसका लागि ? आम नेपाली जनतालाई अधिकारसम्पन्न तुल्याउन ।

बीपीका दुःखको साक्षी

साँच्चै भन्ने हो भने बीपीले जीवनभर भोग्नु परेको दुःख र पीडालाई नजिकबाट देख्ने व्यक्ति हुनुहुन्थ्यो सुशील’दा । अर्थात् लामो र अनिर्वचनीय दुःखका प्रत्यक्ष साक्षी ।

बीपीको राजनीतिक पाठशालाका थोरै शिष्यमध्ये हुनुहुन्थ्यो उहाँ । हरेक कुराकानीमा बीपीलाई सान्दाजु भनेर उद्धृत गर्ने थोरै नेतामा पर्नुहुन्थ्यो उहाँ । सान्दाजुको कथाबाट उहाँले शुरू गर्ने हरेक कुराकानीमा लोकतन्त्रको संस्थागत विकास र देशको सर्वाङ्गीण विकासको चिन्ता झल्किन्थ्यो ।

देशलाई धनी बनाउने, जनतालाई सुखी तुल्याउने र लोकतन्त्रको भविष्यलाई सुनिश्चित गर्ने कार्यसूची थिए उहाँसँग । उहाँले बारम्बार भनेका अनेकौं कुरामध्ये एउटा कुराको बारम्बार सम्झना आइरहन्छ यतिबेला । ‘हामी त कति दिन रहौंला र ! अबको भविष्य तपाइँहरूकै हो । व्यक्तिको पछि नलाग्नुस्, संस्थालाई सर्वोपरि ठान्नुस् । सानो स्वार्थको पछि लाग्नुभयो भने न त तपाईं अघि बढ्नुहुनेछ न त संस्था नै रहनेछ, मेरो मान्छे नबन्नोस्, पार्टीको बन्नोस् ।’

कसले भन्छ, यस्तो कुरा ? आफ्नो मान्छे बनाउन पाउँदा वा कसैले म त हजुरको मान्छे भनिदिंदा दंग पर्ने मनोविज्ञान र चरित्र भएका राजनीतिज्ञले भरिएको नेपाली राजनीतिमा उहाँका कुरा स्वार्थी मानिसहरूका निम्ति शायद बेढंगका लाग्थे तर उहाँले जीवनपर्यन्त यो सूत्र रटाइरहनुभो सबैलाई ।

सुवर्णको दानवीरताको पथगामी

सुशील’दा नेपाली कांग्रेसका श्रद्धेय नेता सुवर्णशमशेरका पथगामी पनि हुनुहुन्थ्यो । प्रवासमा बसेर दुःख पाएका कार्यकर्तालाई यथोचित भरणपोषण गर्ने जिम्मा उहाँ आफैंले लिनुभयो । नेपालमा जनक्रान्तिका लागि ठूलो रकम खर्च गर्नुभयो । यसरी आफ्नो निजी सम्पत्ति राजनीतिमा लगाउने नेता संसारमा विरलै पाइन्छ ।

सुशील’दाले पनि आफ्नो अंशमा परेको सम्पत्ति बिक्री गरी बीपीको उपचारमा खर्च गर्नुभयो । वीपीका साना छोराछोरीको शिक्षादीक्षाको जिम्मा लिनुभयो र कारखानामा मजदूरी गरेर घर चलाइदिनुभयो । यो सबै सुवर्णजीको दानवीरताको अनुसरण हो ।

गणेशमानजीको दृढ अठोटका अनुगामी

नेपाली राजनीतिका अर्का धरोहर सर्वोच्च नेता गणेशमानजीको दृढता समेत उहाँमा देख्न पाइन्थ्यो । पछिल्लो जनआन्दोलनमा उहाँले खेल्नुभएको भूमिका असाध्यै प्रशंसनीय छ । प्रतिगमन विरोधी आन्दोलनमा उहाँले प्रदर्शन गर्नुभएको क्रियाशीलता र राख्नुभएको विचार समकालीन राजनीतिज्ञहरूको भन्दा फरक र दृढनिश्चयी थियो ।

जनआन्दोलन उत्कर्षतर्फ पुग्न लाग्दा राजाले फालेको पासो राजातर्फ नै फर्काउने दृढता उहाँले व्यक्त गर्नुभयो । अरू पार्टी र नेता झण्डै अलमलमा परेको वेला उहाँले संसद पुनस्र्थापना र जनअधिकार बहाल नहुञ्जेल आन्दोलन नरोकिने दृढता प्रकट गर्नुभयो । यो संकल्प र अठोट सबैमा पाइँदैन । यसले गणेशमानजीको चट्टानी अडानको सम्झना गराउँदछ ।

अविरल सम्झौताहीन संघर्ष गणेशमानजीको पहिचान थियो । यही पथमा हुनुहुन्थ्यो सुशील’दा । बीपी र सुवर्णले अघि बढाएको परम्परालाई धान्ने सर्वोच्च नेताको असल अनुयायी हुनुहुन्थ्यो उहाँ । बारम्बार भन्नुहुन्थ्यो, हामीले गणेशमानजी, किसुनजी र गिरिजाबाबुलाई ब्रह्मा, विष्णु, महेशको स्थानमा राख्यौं । कतिपय अवस्थामा सही सल्लाह पनि दिन सकेनौं । त्यसैले पार्टीमा बेला–बेलामा समस्या आयो ।

तपाईंहरू हामीलाई उचाल्न नआउनुस् सही सल्लाह दिनुस् ताकि गलत निर्णय नहोस् । स्पष्ट विचार र लक्ष्यप्रतिको एकाग्रता उहाँका मौलिक गुण हुन् । गणेशमानजीको अठोट र लक्ष्यप्रतिको प्रतिबद्धतालाई उहाँले जीवनभर पछ्याइरहनुभो ।

किसुनजीको सुझबुझ र सादगीपनका प्रवक्ता

नेपाली राजनीतिमा सादगी, त्याग र समर्पणका पर्याय मानिने श्रद्धेय नेता किसुनजीको प्रतिबिम्ब हुनुहुन्थ्यो सुशील’दा । पार्टीलाई नै आफ्नो घर ठान्ने आफ्नो निजी परिवार नभएका किसुनजीको जीवन मार्ग पछ्याउनुभो उहाँले । बिहे गर्नुभएन, घर बनाउनुभएन, सम्पत्ति जोड्नुभएन । किसुनजीमा भएको आध्यात्मिक चिन्तन उहाँमा नभएको होइन तथापि उहाँमा बहसमा उत्रिने प्रवृत्ति थिएन ।

आफ्नो अध्ययनलाई समाजमा सम्प्रेषित गर्ने मुखरता नदेखाउनु र नियमित गीता पाठ बाहेक उहाँ किसुनजीका समकक्ष हुनुहुन्थ्यो । राजनीतिमा त्यागलाई मानक बनाउनुभएका किसुनजीको प्रतिरुप हुनुहुन्थ्यो उहाँ । जोगी र संन्यासीको जस्तो विचार, निस्पृहता र शक्तिप्रतिको अनासक्ति किसुनजीको परिचय थियो भने यस्तै किसिमको व्यवहार सुशील’दाको पनि थियो ।

रित्तो खल्ती बोकेर कार्यकर्ताको आश्रयमा बस्न रुचाउने उहाँ दक्षिणएशियाको तडकभडकपूर्ण राजनीतिलाई पुनर्परिभाषित गर्ने राजनीतिक सन्त हुनुहुन्थ्यो । गान्धी, बीपी र किसुनजीको महान परम्पराका पछिल्लो कडी हुनुहुन्थ्यो उहाँ ।

कार्यकर्तासँग कहिल्यै निराशा व्यक्त नगर्ने, तरुण र युवाहरूमाथि अत्यधिक भरोसा गर्ने प्रजातान्त्रिक समाजवादका प्रवक्ता सुशील’दाको अभावलाई नेपाली समाजले धेरै समयसम्म पूर्ति गर्न सक्ने छैन । समकालीन पुस्ताबाट त्यस्तो व्यक्तित्व पैदा हुने कुनै गुञ्जायस छैन । यसको लागि नेपाली राजनीतिले नयाँ पुस्ताको आगमन पर्खनै पर्छ ।

गिरिजाबाबुको कठिन संघर्षका सहयात्री

गिरिजाबाबुले जीवनभर गर्नुभएको कठिन संघर्षका समेत साक्षी, सहयात्री र सहयोगी समेत बन्नुभो । गिरिजाबाबुको जीवनकालभरि उहाँको आज्ञाकारी शिष्यजस्तो रहनुभयो सुशील’दा । पार्टीका सबै तहका नेता–कार्यकर्ता उहाँको एउटै वाणी बारम्बार सुिनरहन्थे । ‘यो कुरा गिरिजादाजु वा गिरिजाबाबुलाई भन्नोस् आजै गएर भन्नोस् ।’ उहाँ कोइराला परिवारको एउटा मौलिक र विशिष्ट राजनीतिक परम्परामा हुर्कनुभयो । त्यसको अन्तिम गुरु हुनुहुन्थ्यो गिरिजाबाबु ।

शायद जीवनमा सुशील’दाले बीपी र गिरिजाबाबुका कुनै पनि निर्देशनको उल्लंघन गर्नु भएन । कतिपय मतभेदका प्रसंगहरू बाहिर आए पनि त्यसलाई समयक्रममा व्यवस्थापन गरिहाल्ने उहाँहरूको अद्भुत चरित्र थियो । सुशील’दा भेटेर गिरिजाबाबुकहाँ पुग्ने हरेक व्यक्ति फेरि सुशील’दा कहाँ फर्कंदा समस्याको गाँठो फुकिसकेको हुन्थ्यो ।

आफ्ना कार्यकर्ताहरूलाई विभिन्न कोणबाट परीक्षण गर्ने गिरिजाबाबुका गुणहरू सुशील’दा मा पनि विद्यमान पाइन्थे । विश्वास गरेपछि सम्पूर्ण विश्वास गर्ने उहाँको बानी अरू नेताको भन्दा नितान्त फरक थियो । आज अश्रुपूरित नजरले उहाँको तस्वीर हेरेर बस्ने दिन पनि आयो । सुशील’दा तपाईंलाई मुटु रित्याएर श्रद्धाञ्जली !

[email protected]

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.