बर्डफ्लु नियन्त्रणमा सरकारको तयारी के छ ? – Nepal Press

बर्डफ्लु नियन्त्रणमा सरकारको तयारी के छ ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ ।
बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताए ।

सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए ।

कुनैपनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल ¥यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि जानकारी दिए । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारेका छन् ।

अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हो । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर्मलको भनाई छ । तर एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइराखेको पनि उनले बताए ।

मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको छ ।
सहसचिव डा. निर्मलले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ उहाँहरुले ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउन समेत आग्रह गरेका छन् ।

त्यसबाहेक कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उनको भनाई छ ।मन्त्रालयले स्थानीय निकायहरुसँग पनि समन्वय गरी अनुगमन गरिरहेकोले कसैले मरेका कुखुरालाई काटेर विक्री वितरण गरेको पाइए कारबाही गरिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर