महिला लिगमा पुलिसको शानदार जित – Nepal Press

महिला लिगमा पुलिसको शानदार जित

काठमाडौं । रेखा पौडेल र सिर्जना खड्काको दुई गोल प्रेरित नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकालाई ६-० को नतिजामा पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनेटमा गोल गर्दै रेखाले विभागीय टोली पुलिसलाई अग्रता दिलाएकी थिइन् । चौदण्डिगढी नगरपालिकाको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसका लागि ४१औं मिनेटमा अम्रिता जैसीले दोस्रो गोल गरेकी थिइन् । त्यसको ४ मिनेट नबित्दै सिर्जना खड्काले पुलिसका लागि तेस्रो गोल गरिन् त्यसको दुई मिनेट नबित्दै निर्मला बिकले पहिलो हाफको इन्जुरी समयमा पुलिसका लागि चौथो गोल गरेकी थिइन् ।

पहिलो हाफमा ४-० को अग्रता बनाएको पुलिसले निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा पाचौँ गोल थप्यो । खेलको पहिलो गोल गरेकी रेखाले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् । पुलिसको आक्रमक शैलीविरुद्ध सम्हालिन नसकेको चौदण्डिगढीका लागि सिर्जनाले खेलको इन्जुरी समयमा छैठौं तथा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् ।

जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको पुलिसको प्रतियोगितामा यो नै पहिलो जित हो । प्रतियोगितामा पहिलो खेल खेलेको चौदण्डिगढीले सुरुआतमा आधा दर्जन गोल खाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर