राजधानीको टोखामा दम्पत्तिको शंकास्पद मृत्यु – Nepal Press

राजधानीको टोखामा दम्पत्तिको शंकास्पद मृत्यु

काठमाडौं । राजधानीको टोखामा एक दम्पत्तिको शव शंकास्पद अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार बानेश्वरका ३३ वर्षिय उमेश केसी र उनकी पत्नी ३३ वर्षिया सुदिक्षा गिरी टोखास्थित एक अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार राती प्रहरीले शव भेटाएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भने केसीको हत्या गरि उनकी पत्नीले आत्महत्या गरेको हुनसक्ने जनाएको छ । डीएसपी रोशन खड्काका अनुसार दम्पत्तिको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तर, केसीका परिवारले भने आत्महत्या भनिएपनि घटना सुनियोजित हुन सक्ने आशंका गरेका छन् ।

परिवारलाई जानकारी नदिइकन प्रहरीले शवलाई अस्पताल लैजानुले थप सन्देह पैदा गरेको मृतकका दाजु हिमेशले बताए । उनले घटनापछि आत्महत्या नै हो भन्नलाई गाह्रो हुने बताए । मृतक उमेशको टाउकोमा गम्भिर चोट लागेको छ । शरीरमा कुटपिटको नीलडाम छ । सुदिक्षाको शरिरमा कुनै चोटपटक नलागेको बताइएको छ । सुदीक्षाको शव झुन्डिएको अवस्थामा भेटिएको जनाइएको छ ।

मृतकका दाजु हिमेशका अनुसार उमेश जनवरी १४ मा अमेरिका जाने तयारीमा थिए । उनले तीन महिनाअघि मात्रै अमेरिकी ग्रीनकार्ड पाएका थिए २०७२ सालमा अध्ययनका लागि उनी अमेरिका गएका थिए । उमेशले कमाएको पैसा माइती पक्षले भोगचलन गरेको र पछिल्लो घटनापनि त्यसैसँग जोडिएको हुनसक्ने हिमेशले आशंका गरे । काठमाडौं बानेश्वरका स्थायी बासिन्दा उमेश पत्नीसँग टोखामा बस्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर