आहा ! गुफापोखरी – Nepal Press
आहा ! गुफापोखरी
फोटो फिचर
विराट अनुपम २०७७ पुष ११ गते १०:१०
२०७७ पुष ११ गते १०:१०

इटहरी । प्रदेश १ को चर्चित पर्यटन गन्तव्य हो, गुफापोखरी । तेह्रथुम सीमानानजिक संखुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो पोखरी घुम्न धरान, इटहरी, विराटनगरलगायत शहरबाट दैनिक सयौं पर्यटक जाने गर्छन् ।

गुराँसको राजधानी भनिने तीनजुरे मिल्के र जलजले (टीएमजे) क्षेत्रमा पर्ने यो पोखरी समुन्द्र सहतबाट २८९० मिटर उचाइमा छ । पोखरीसँगै जोडिएको छ, गुफाबजार । जहाँ दैनिक डेढ सय आगन्तुक बस्न सक्छन् ।

गुफाबजारसँगै जोडिएको छ, सुकेबजार । २९१० मिटर उचाइमा रहेको यो बजारभन्दा केही पर त्रिजिल्लाको पाहाड छ । मेन्छ्यायेम डाँडा भनिने यो डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङको साझा चुचुरो हो ।

 

 

तेह्रथुमको एक स्थानीय तह (मेन्छ्यायेम गाँउपालिका)को नाम यहीं डाँडाको नामबाट राखिएको हो । आकाश खुला हुँदा यहाँबाट मकालु हिमशृङ्खलाका आकृति पोखरीमा पौडी खेलिरहेको देख्न सकिन्छ ।

गुफापोखरी परिसरबाट कन्चनजंगा तथा कुम्भकर्ण हिमाल पनि मज्जाले अवलोकन गर्न सकिन्छ । ताप्लेजुङको तमोरको दोभानहुँदै सुनसरीको चतरासम्म आउने र्याफ्टिङको समेत ट्रान्जिट हो, गुफापोखरी क्षेत्र ।

पोखरीको नामाकरण हुनुमा गुफा र पोखरीको संयोजन छ । तर, गुफा भने पोखरी भन्दा केही पर छ । मेन्छ्यायेम डाँडापर्तिरको डाँडमा छ, गुफा । गुफापोखरी पुग्नेहरु प्रायः गुफा पुग्दैनन् । जनकारी अभाव र केही समय पैदल उकालो हिँड्नुपर्ने भएकोले उनीहरु त्यहाँसम्म पुग्दैनन् ।

  

तेह्रथुमको वसन्तपुर बजारबाट करीब साढे एक घन्टाको दुईपांग्रे यात्रामा पुगिने गफापोखरी पुग्न धरान तथा इटहरीबाट भने करिब ५ देखि ६ घण्टा लाग्छ । निर्माणाधीन सडकको कारण स्कुटर र होचा सवारी चल्न गाह्रो छ ।

पहाडको कुमैकुम यात्रा गर्नुपर्ने भएकोले जाडोको समयमा गुफापोखरी यात्रा चिसोबाट असर गर्नेहरुलाइ धेरै गाह्रो हुन्छ । गुफाबजारमा स्थानीय गोठमा उत्पादित दुग्ध पदार्थहरु सहज पाइन्छन् । छुर्पी, दुध, दही, घ्यू त्यहाँका मौलिक परिकारहरु हुन् ।

टीएमजे क्षेत्रको लामपोखरी हुँदै पुगिने गुफापोखरीबाट करिब एक तलतिर हिँडेपछि पुगिन्छ, तातोपानी । जुन ४३६ वर्ष पुरानो लिखित इतिहास भएको क्षेत्र हो ।

 

गुफापोखरीबाट आधा घण्टाको पैदलमा मिल्के डाँडा पुग्न सकिन्छ भने करिब दुई दिनमा पुगिन्छ, सभापोखरी । यसरी गुफापोखरी आफैंमा एक गन्तव्य मात्रै होइन, आसपासका अन्य गन्तव्य पुग्ने प्रस्ताव बिन्दु पनि हो ।

भौतिक रुपमा ५६५ मिटरको मात्रै परिधि भएको पोखरीको पर्यटकीय परिधि भने व्यापक छ ।