अनेरास्ववियूका संयोजक महरमाथि प्रचण्ड–माधव पक्षको कारबाही – Nepal Press

अनेरास्ववियूका संयोजक महरमाथि प्रचण्ड–माधव पक्षको कारबाही

काठमाडौं । पार्टी विभाजनपश्चात कारबाही र प्रतिकारबाहीको लहर नेपाल कम्युनिष्ट पार्टीका भ्रातृ संगठनमा पनि प्रवेश गरेको छ।

सग्लो नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरलाई प्रचण्ड–माधव पक्षले कारबाही गरेको छ।

महर ओली पक्षका हुन् भने उनलाई कारबाही गर्ने सहसंयोजक रञ्चित तामाङको समूह प्रचण्ड–माधव पक्षका हुन्।

तामाङ समूहले संगठनको नीति, निर्णय र विधान विपरीतका काम महरले जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार कारबाही गरिएको बताएको छ।

‘विगतमा पटकपटक सम्झाउँदा पनि रूपान्तरण नभइ संगठनको नीति, निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि नेकपाकाे केन्द्रीय कमिटी समक्ष सिफारिश गरिएको छ’ सहसंयोजक तामाङद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै निकट भविष्यमा बस्ने केन्द्रीय कमिटीको पूर्ण बैठकबाट अन्य राजनीतिक तथा सांगठनिक निर्णय लिइनेसमेत जानकारी गराउँछौँ ।’

प्रचण्ड–माधव पक्षले कारबाही गरेपछि ओली पक्षले पनि यसको प्रतिवादस्वरुप तामाङ समूहलाई कारबाहीको तयारी थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर