सर्वदलीय बैठक : सरकारको संयुक्त प्रतिवाद गर्ने निर्णय – Nepal Press

सर्वदलीय बैठक : सरकारको संयुक्त प्रतिवाद गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड पक्ष) र जनता समाजवादी पार्टीले संसद विघटन गर्ने सरकारी निर्णयको संयुक्त प्रतिवाद गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै तीनवटै पार्टीको केन्द्रीय बैठक र आन्तरिक तयारीपश्चात् सरकारविरुद्ध संयुक्त कार्यक्रम घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

तीन दलको बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कदम असंवैधानिक रहेकोले कानूनी र राजनीतिक दुवै हिसाबले प्रतिवाद गर्ने निर्णय भएको बताए ।

‘सरकारको कदम संविधान र लोकतन्त्रविरोधी रहेको ठहर सबै दलले गरेका छौं । अब तीनै दलको आन्तरिक गृहकार्यपछि कानूनी र राजनीतिक हिसाबले सरकारको प्रतिवाद गर्छौ’, श्रेष्ठले सञ्चारकर्मीसँग भने ।

बैठकपछि कांग्रेस नेता रमेश लेखकले तीनवटै पार्टीको केन्द्रीय बैठक तय भइसकेकोले ती बैठकपछि थप रणनीति निर्माण हुने जानकारी दिए । कांग्रेस र नेकपाको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारका लागि बोलाइएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरु डा.मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी थिए ।

नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुनलगायत सहभागी थिए । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर