के थियो प्रचण्डलाई ‘गलहत्याइएको’ कुर्सी काण्ड ? – Nepal Press

के थियो प्रचण्डलाई ‘गलहत्याइएको’ कुर्सी काण्ड ?

चैत ६ को बैठकमा सारिएको कुर्सी बैशाख २० मा ओलीकै लहरमा

काठमाडौं । शुक्रबार नेकपाको अर्को पार्टी कार्यालय पेरिसडाँडामा आयोजित आफू पक्षधर जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीबाट पालैपालो कसरी अपमानित भइयो भनेर सुनाए । त्यसक्रममा अध्यक्ष प्रचण्डको कुर्सीसमेत ओलीसँगैको लहरबाट हटाएर अन्य सात जनासँगै सारिएको प्रसङ्ग पनि उठ्यो ।

ओलीले भने बमोजिम मान्दै जाँदा अन्तिममा अध्यक्षको कुर्सी नै हटाएर ‘गलहत्याइएको’ प्रचण्डले बताएका थिए । माधव नेपालले तत्कालै कुर्सी लगेर ओलीसँगै राखेर बस्न सुझाव दिँदा पनि आफूले त्यसो नगरी ‘सात जनाको लहरमा पुर्याउनुभयो, अब म यहीं बस्छु’ भनेर त्यही बेलादेखि वरिष्ठ नेताहरुको समीकरण बनेको बताएका थिए ।

वास्तवमा बालुवाटारको कुर्सी काण्ड के थियो ? करीब डेढ महिनासम्म प्रचण्डकै भाषामा ‘गलहत्याइएको’ कुर्सी वैशाख २० गते फेरि ओलीसँगै कसरी राखियो ? शुक्रबारको पेरिसडाँडाको भाषण नेपाल प्रेसमा पढेपछि बालुवाटार स्रोतले यसबारेमा केही तथ्य उपलब्ध गराएको छ । चैत ६ गते सारिएको कुर्सी वैशाख २० गते फेरि फर्काउनुको पछाडि राजनीतिक ‘दण्ड’ नभएर स्वास्थ्य मापदण्डले काम गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत वर्षको मंसिर ४ गते नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँड नहुन्जेल बैठकको अध्यक्षता ओलीले नै गर्ने गरेका थिए र प्रचण्ड अन्य नेताकै लहरमा बस्थे । मंसिर ४ मा ओली पाँच वर्ष प्रधानमन्त्री र प्रचण्ड कार्यकारी भूमिकासहितको अध्यक्ष तथा बैठकको अध्यक्षता आमरुपमा प्रचण्डले गर्ने सहमति भएपछि दुवै अध्यक्षको कुर्सी सँगै राख्ने गरिएको थियो ।

त्यतिबेला चीनको वुहानबाट कोरोनाभाइरसको महामारी फैलिसकेको थियो । नेपालमा पनि एकजना संक्रमित भेटिए । प्रधानमन्त्री ओलीलाई अचानक स्वास्थ्यमा समस्या भएपछि मंसिर १० गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरियो । ओली शल्यक्रियाको १० दिनपछि मंसिर २० गते अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएपछि बालुवाटारमा सचिवालयका राजनीतिक सहयोगी भन्दा निजी चिकित्सकहरु हाबी हुने अवस्था आएको प्रधानमन्त्रीका सल्लाहकारहरु बताउँछन् ।

प्रधानमन्त्रीको शल्यक्रियालगत्तै चिकित्सकहरुले कुर्सी सँगै नराख्न, भेटघाटमा नियन्त्रण गर्नेदेखि प्रधानमन्त्रीका दैनिक गतिविधिमाथि नियन्त्रण गरेका थिए । शल्यक्रियादेखि नै चिकित्सकले कुर्सी अलग्गै राखेर संक्रमणबाट जोगाउन प्रधानमन्त्रीको सचिवालयलाई दबाब दिइरहेका थिए । यद्यपि प्रचण्डको कुर्सी ओली सँगैको लहरबाट भने फागुन ६ गतेमात्र हटाइएको थियो ।

यसबीचमा नेकपामा बैठकहरु पनि कमै भएका थिए । एपेन्डिक्स शल्यक्रियाको तीन महिनापछि प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा फागुन २१ गते भर्ना गरियो । त्यसबेला प्रचण्ड आफैं पनि ज्वरो र रुघाखोकीको समस्याले गर्दा घरमै आराम गरिरहेका थिए र प्रधानमन्त्रीलाई भेट्न अस्पताल जान पनि सकेका थिएनन् ।

वैशाख २०, २०७७ को सचिवालय बैठक ।

ओलीको मिर्गौला पुनः प्रत्यारोपण सफल भएर फागुन ३० गते निवास फर्किए भने प्रचण्डले फागुन १ गते बालुवाटार पुगेर भेट गरेका थिए । त्यसको एक महिनापछि चैत ६ गतेको सचिवालय बैठकमा प्रचण्डको कुर्सी अध्यक्षको लहरबाट सारिएको थियो । यद्यपि त्यो बैठकमा कुर्सी सारिएको बारे छलफल भएको थिएन । तर पेरिसडाँडाको भेलामा प्रचण्डले खुलासा गरे– ‘त्यतिबेलै माधव कमरेडले जानुस् त कुर्सी लिएर अलि पर सर्नुस् म यहाँ बस्छु भन्नुस्’ भन्नुभएको थियो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्यासिंह शाहले भने त्यो बेला प्रधानमन्त्री दुईवटा ठूला शल्यक्रियाबाट निस्केर सामान्य अवस्थामा पनि संक्रमणको उच्च जोखिममा रहेको र त्यतिबेला कोरोनाभाइरस समेत महामारीको रुपमा फैलिएकाले मान्छेहरुसँग दूरी कायम गर्न बाध्य पारिएको नेपाल प्रेसलाई बताएकी छन् । आफूहरुले कैयौंपटक प्रधानमन्त्रीसँग यस्तो विषयमा झगडै गर्नुपरेको समेत उनले सुनाएकी छन् ।

चिकित्सकहरुले एपेन्डिक्सको शल्यक्रियापछि नै प्रधानमन्त्रीको कुर्सी अलग राख्न सुझाव दिएका थिए । शुरुमा प्रचण्डले केही नभने पनि नेकपामा विवाद बढ्दै जाँदा कुर्सीको प्रसंग पेचिलो बनेको थियो ।

प्रचण्डले एउटा बैठकमा मुखै फोरेर ‘म पार्टीको कार्यकारी अध्यक्ष, तपाईसँगै उतै थिएँ तर अहिले म सातजना यता भएँ’ भन्दै अपमान गरिएको बताएका थिए ।

पेरिसडाँडाको प्रचण्डको भाषणपछि पुनः कुर्सीकाण्ड चर्चामा आएको बेला हामीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापालाई सोध्यौं– के बालुवाटारबाट प्रचण्डको कुर्सी गलहत्याइएको थियो ? प्रचण्डलाई अध्यक्षको लहरबाट सात जनाको लहरमा अपमान गर्ने उद्देश्यले नै सारिएको हो ?

थापाको जवाफ यस्तो आयो– अहिले कुर्सी सारिएको, गलहत्याइएको भन्ने कुरा किन आयो थाहा भएन । अध्यक्ष कमरेड प्रचण्डलाई यो कुरा राम्रोसँग थाहा छ । यो राजनीतिक नभई स्वास्थ्य मापदण्डको कारण थियो । यो प्रधानमन्त्रीको वा हाम्रो सचिवालयको पनि विषय थिएन, चिकित्सकहरुको विषय थियो । त्यतिबेलै उहाँले बुझेको कुरा हो ।

शल्यक्रियाको तीन महिनासम्म संक्रमणको खतरा हुन्छ भनेर दूरी कायम गर्दा प्रधानमन्त्रीको छेउको कुर्सी हटाइएको सचिवालयले त्यतिबेलै बताएको थियो । वैशाख २० गते नेकपा सचिवालय बैठकले पार्टीमा ‘अस्थायी सहमति’ कायम गरेका दिन प्रचण्डको कुर्सी अ‍ोलीकै लहरमा राखेको फोटो सचिवालयले नै सार्वजनिक गरेपछि समाचारको विषय बनेको थियो ।

शल्यक्रियाअघि प्रधानमन्त्री र प्रचण्डको कुर्सीको रुप रंग आकारदेखि दुई नेता भेट्ने सानो कक्षमा समेत एकै खाले आसन व्यवस्था गर्ने गरिएको सचिवालयका सदस्यहरुले बताएका छन् ।


प्रतिक्रिया

One thought on “के थियो प्रचण्डलाई ‘गलहत्याइएको’ कुर्सी काण्ड ?

  1. यो बिसय राजनैतिक होकि स्वास्थ्य को दृस्ठिकोण ले गर्दा हो भन्ने कुरा तिमिहरुलाइ राम्रोसँग थाहा छ। सुर्य ले भन्नू भयो भनेर उदृत गर्ने नै उस्तै हौ।

Leave a Reply to Khagendra Gm Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर