सभामुखप्रति आक्रामक ओली- यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छन् ! – Nepal Press

सभामुखप्रति आक्रामक ओली- यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छन् !

सापकोटालाई प्रश्न-सभामुख हो कि गठबन्धनको प्यादा ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एमव प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोस पोखेका छन्। सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दा ओलीले व्यक्त गरेको अभिव्यक्तिले सभामुख-एमाले द्वन्द्व बढ्ने देखिएको छ।

गठबन्धनको मतियार हो वा एमालेविरुद्ध षड्यन्त्रको मोहोरा भन्दै ओलीको प्रश्न छ-‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ सभामुखलाई-सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता कि गठबन्धनको मतियार हो कि एमालेविरुद्ध जालझेल गर्ने सरकारको एउटा मोहोरा को कि ? के हो सभामुख भनेको ?’

ओलीले षड्यन्त्रको हिस्सेदार भएको व्यक्तिले निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने बताए। ‘प्रमुख प्रतिपक्ष पार्टी फुटाउनमा सरिक हुने, षड्यन्त्रको हिस्सेदार, षड्यन्त्रको भागिदार अनि एउटा षड्यन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सक्दैन,’ उनले भने।

पर्सिदेखि शुरु हुन लागेको संसदमा सभामुखविरुद्ध कडा रुप लिने संकेत गर्दै ओलीको प्रश्न छ- सभामुखको बारेमा हामीले गम्भीर प्रश्न उठाउनै पर्दछ । अग्निप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो कि एमाले विरोधी हो एमलेविरुद्ध षड्यन्त्र गर्ने ?’

सापकोटा सभामुखको असानबाट बोल्न नसुहाउने भाषा पनि बोलेको आरोप ओलीले लगाए। ‘संसद शुरु हुन्छ, सभामुखको आसनबाट भन्छन- यो अधिनायकवादको पराजय हो भनेर,’ उनको प्रश्न छ, ‘यस्तो भाषा बोलिन्छ ? प्रमुख प्रतिपक्षका विरुद्ध आक्रमण र हमला गरिन्छ ? राजनीतिक लान्छना लगाइन्छ सभामुखको कुर्सीबाट ?’

केही थाहा नभएको व्यक्ति सभामुखको कुर्सीमा विराजमान भएको भन्दै यो देशका लागि दुर्भाग्य भएको उनको भनाइ छ। ‘कुनै नम्स थाहा छैन, कुनै भ्यालू थाहा छैन, कुनै महत्व थाहा छैन,’ आक्रोसित ओलीले भने, ‘यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ। यस्तो दुर्भाग्य यो देशको ? लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो, त्यो सिस्टमको टुप्पा-टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर