शानदार जितसँगै स्पेन अन्तिम १६ मा – Nepal Press

शानदार जितसँगै स्पेन अन्तिम १६ मा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५-० गोलको फराकिलो नतिजामा पराजित गर्दै स्पेन युरो २०२० को अन्तिम १६ मा पुगेको छ ।

बुधबार राति स्पेनको सेभियामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन पाब्लो साराबिया, फेरान टोरेस र आयमेरिक ल्यापोर्टले एक-एक गोल गरे ।

बाँकी दुई स्लोभाकियाका खेलाडीले आत्मघाती गोल गरेका थिए । खेलको १२औं मिनेटमा पेनाल्टी पाएको स्पेनका फरवार्ड अल्भारो मोराटाले गोल गर्ने मौका गुमाएका थिए ।

तर, ३०औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले गरेको आत्मघाती गोलसँगै स्पेनले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफमा थप आक्रामक बनेको स्पेनका लागि ५६औं मिनेटमा साराबियाले तेस्रो गोल गरेका थिए । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका टोरेसले पहिलो टचमै ६७औं मिनेटमा स्पेनका लागि चौथो गोल गरेका थिए ।

त्यसको चार मिनेट नबित्दै पाउ टोरेसको प्रहारमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेका थिए ।

जितसँगै समूह ईको उपविजेता बन्दै प्रि-क्वार्टरफाइनलमा पुगेको स्पेनले सोमबार कोपनहेगन- डेनमार्कमा क्रोएसियाको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर