प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे – Nepal Press

प्रचण्डको दाबीः ओली पराजित भइसके, हाम्रो विजयको सुरुवात भयाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनपछि आफूहरुको विजयको सुरुवात भएको बताएका छन् ।

‘पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर ओलीजी इतिहासमा प्रतिगमनको बाहक बन्नु दुभाग्यपूर्ण त हो,’ सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर मैले के भनेको छु भने केपी ओली इतिहासमा पराजित हुनुभयो । उहाँ कलंकित हुनुभयो। उहाँले कलंकको टीका लगाउनुभयो । फेरि एकचोटि हाम्रो विजय अभियानको सुरुवात भयो ।’

प्रचण्डले ओलीलाई ‘श्री ३ महराज’ बन्न खोजेको आरोपसमेत लगाए। भने, ‘केपी ओली सामन्ती शासकजस्तो, श्री ३ महाराज जस्तो, जङ्गे (जङ्गबहादुर राणा) बन्ने बाटोमा हिंड्नुभयो।’

प्रचण्डले सदन विघटित नभई ओली नेतृत्वको सरकारको विघटन भएको बताए । ‘सदन मरेको छैन, जीवित छ,’ उनको भनाइ थियो, ‘सदन विघटन भएको छैन । विघटन भएको केपी ओलीको सरकार हो ।’

संविधान र जनताको भावनाविपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै प्रचण्डले अदालतले त्यसको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

‘सम्मानित अदालतले यति सामान्य कुरा, संविधानमा बडो प्रष्टसँग लेखिएको प्रावधान बुझ्दैन भनियो भने अदालतको अपमान गरेको ठहर्छ,’ प्रचण्डको भनाइ थियो, ‘म अदालतको भरोसा गर्न चाहन्छु । छिटो भन्दा छिटो प्रतिनिधिसभा सुरु गर्ने आदेश आउनेमा विश्वास छ ।’

केहीले आफूहरु सडकमा पुग्यौं भनेर चिन्ता गरेको भन्दै प्रचण्डले आफूहरु सडकमा नभई जनताको बीचमा पुगेको बताए । ‘केपी ओलीलाई धन्यावाद’ उनको भनाइ थियो, ‘उहाँले हामीलाई जनताको बीचमा जाने बाटो देखाइदिनुभयो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *