प्रदेश तहसनहस हुन दिन्नँ, अविश्वास प्रस्तावको सामना गर्छुः मुख्यमन्त्री राई – Nepal Press

प्रदेश तहसनहस हुन दिन्नँ, अविश्वास प्रस्तावको सामना गर्छुः मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि दर्ता भएको अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले बहुमतका साथ आरामले अविश्वास प्रस्तावको सामना गर्ने बताएका हुन् ।

‘आजको अविश्वास प्रस्ताव सरकार असक्षम भएर हैन’, उनले भने, ‘सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशलाई कमजोर बनाउने मनसायबाट दर्ता भएको हो, यसको डटेर सामना गर्छु ।’

पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले भनेका कुराको सम्पादित अंशः

संविधान जारी भएदेखि नै संविधान र संघीयतालाई कार्यान्वयन हुन नदिन अनेक प्रयास हुँदै आइरहेका थिए । हामीले समृद्धि, सुशासनको नारा जनताबीच लगेर संयुक्त रुपमा बहुमत हाँसिल गर्यौं ।

हामीले जनताको बीचमा गरेका वाचा र प्रतिबद्धताको बीचमा कहीं नछुटिकन मुलुकलाई नेतृत्व गरिरहेका थियौं । जो संघीयता र संविधान कार्यान्वयन नहोस्, देश फेरि द्वन्द्व र असफलतातिर जाओस् भन्ने चाहना राख्नेहरूलाई उत्साहित बनाउने गरिकन केन्द्रीय सरकारलाई आफ्नै पार्टीभित्रबाट काम गर्न नदिने खालको वातावरण बन्यो । र प्रधानमन्त्रीलाई बन्द कोठामा राखेर लेनदेन गर्नको निम्ति जुन प्रकारको घेराबन्दी गरियो, प्रधानमन्त्रीले उपयुक्त लोकतान्त्रिक गणतान्त्रिक विकल्पको रुपमा जनादेशमा जाने विकल्प रोज्नुभयो । त्यो सही विकल्प थियो, छ ।

जनताको म्याण्डेट प्राप्त प्रधानमन्त्रीलाई कसैको आग्रह र चाहनामा साट्न मिल्दैन थियो । उहाँले ताजा जनादेशको निम्ति जुन कुरा लिएर जानुपर्दथ्यो, त्यहीं गर्नुभयो । यसप्रकार प्रतिगमनकारीलाई सहयोग र बल पुग्ने गरिकन जुन प्रकारको घेराबन्दी संघीय सरकारलाई गरियो, परिणामस्वरुप राजनीतिक परिस्थिति र नयाँ ढंगले अवस्था विकास भयो । यसको प्रत्यक्ष प्रभाव प्रदेशमा सुनियोजित ढंगले भयो ।

आजको अविश्वास प्रस्ताव एक नम्बर प्रदेशमा प्रदेश सरकार असक्षम भएर हैन, प्रदेश सरकारले काम गर्न नसकेर हैन । मुख्यमन्त्रीले कुनै नाजायज काम गरेर हैन । यो अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशलाई कमजोर बनाउने मनसायबाट दर्ता भएको हो । यसको सामना म आरामले गर्छु । किनकि विवेक भएका मानीयहरू प्रदेश सभामा हुनुहुन्छ ।

यो बनिबनाउ, निर्देशित, चालबाजी हो भन्ने कुरा प्रदेशसभाका माननीय सदस्यहरूलाई राम्रोसँग थाहा छ । मुख्यमन्त्रीले एउटा सफल नेतृत्व गरिरहेको छ । प्रदेशलाई सही दिशामा अगाडि बढाइरहेको छ । संघीयतालाई संस्थागत गर्ने कुरामा सफल नेतृत्व गरिरहेको छ । यो कुरा प्रदेश सभाका बहुमत अधिकांश सांसदहरूलाई थाहा छ । त्यसैले म बहुमतका साथ प्रदेश सभामा यसको म सामना गर्छु । र प्रदेशलाई कोल्याप्स गर्ने, तहसनहस बनाउने जुन चाहना र कदम छ त्यसलाई हामी असफल तुल्याउँछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर