गोर्खा अस्पतालमा आइसोलेसन संचालन गर्न महासंघ र काठमाडौं महानगरबीच सहमति – Nepal Press

गोर्खा अस्पतालमा आइसोलेसन संचालन गर्न महासंघ र काठमाडौं महानगरबीच सहमति

काठमाडौं । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका -१७ बीच सहमति भएको छ ।

कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धरले हस्ताक्षर गरेका छन्।

उक्त आइसोलेसन केन्द्र आइतवारबाट संचालनमा आउने छ भने सुरुमा ५० बेड रहने तथा आवश्यकताका आधारमा विस्तार गर्दै गरी १ सय वेडसम्म पुर्याउने महासंघले जनाएको छ ।

उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिने महासंघले जनाएको छ ।

महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइशोलेशनमा रहेका विरामीहरूको रेखदेख, स्याहार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेसनमा रहेका आपतकालिन वा आकस्मिक उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउने छ भने महासंघले कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ ।

महासंघले कोभिड–१९ को नयाँ भेरियण्टबाट संक्रमित बिरामीको स्वस्थ्य सुरक्षालाई प्राथमिकतामा राखी विभिन्न सहयोगका कार्यक्रम संचालन गरिरहेको छ ।

उक्त अभियान अन्तरर्गत भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन र महानगर २९ को सहयोग एवं सहकार्यमा महासंघले आजैबाट काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ ।

यसैगरी कोभिड संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि हेल्लो डाक्टर सेवा समेत शुरु गरेको महासंघले बुधबार कोभिड १९ सहायता केन्द्र स्थापना गरी कोभिड १९ का बिरामीलाई सहयोग गरिरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *