इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह – Nepal Press

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं, बैशाख २९ गते । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो व्यक्त भएको छ ।

इजरायलमा रहेका नेपालीहरुलाई समस्या परे दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । तेलअभिभ नियोगले बुधबार सूचना जारी गर्दै इजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएकाले सुरक्षित रहन अपिल गरेको हो ।

सोमबारदेखि प्यालेस्टाइन र इजरायलको गाजा क्षेत्रमा रकेट आक्रमण हुँदा दर्जनौं हताहत भएका छन् । हमास विद्रोही र इजरायली सेनाबीचको लडाइ मत्थर हुने संकेत मिलेको छैन ।

जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको दूतावासले जानकारी दिएको छ । मंगलबार मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएका दूतावासको सूचनामा उल्लेख छ ।

यसले सबैलाई त्रसित तुल्याएको भन्दै यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न ईजरायलमा रहेका नेपालीलाई दूतावासले सूचना जारी गर्दै अपिल गरेको छ ।

साइरन बज्नासाथ हुनुहुन्छ भने बङ्कर, भर्‍याङ वा सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भए नजिकैको बङ्करमा पुगिहाल्न र त्यो उपलब्ध नभएमा जहाँ रहेको हो त्यही सुरक्षित हुने उपाय अवलम्वन गर्न भनिएको छ ।

कुनै समस्या परेमा दूतावास, साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर