रामचन्द्र पौडेलको आरोप- सभापतिज्यूको मौनता रहस्यमय छ – Nepal Press

रामचन्द्र पौडेलको आरोप- सभापतिज्यूको मौनता रहस्यमय छ

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुरको मौनता रहस्यमय भएको आरोप लगाएका छन् । प्रेस युनियन, कास्कीले मंगलबार पोखरामा गरेको पूर्णप्रसाद-मायादेवी शान्ति पत्रकारिकता पुरस्कार वितरण कार्यक्रममा नेता पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापति जिम्मेबार रहेको दावी गरे ।

‘कांग्रेस अहिले अनिर्णयको बन्दी भइरहेको आरोप लागिरहेको छ,’ पौडेलले भने, ‘हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ ।’ उनले राष्ट्रमा ‘राजनीतिक अराजकता’ बढिरहेको समयमा कांग्रेसले चाँडै ठोस निर्णय गरेर अन्त्य गर्नुपर्ने धारणा राखे ।

यो समय कांग्रेस ठोस निर्णयबिहीन र मौन बसे राष्ट्रको मूल राजनीतिमा भूमिका नदेखिने बताउँदै नेता पौडेलले भने, ‘अझै पनि निर्णय दिन नसक्ने हो भने राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका खेलेको ठहर्दैन, दायित्व पूरा गरेको ठहर्दैन । यो अनिर्णयको, ढुलमुल अवस्थामा कांग्रेस रहनु हुँदैन ।’

नेता पौडेलले आफूले सभापति देउवालाई फोन गरेरै ओलीइतर पक्षसँग गठबन्धन गरेर सरकार ढाल्न आग्रह गरेको तर, त्यो काम अहिलेसम्म सुरु नभएको बताए । उनले जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री ओलीले दिएको आश्वासन आफूहरुले पूरा गर्न सक्ने गरी गठबन्धन गर्न देउवालाई आग्रह गरेको सुनाए ।

‘सभापतिज्यूलाई फोन गरेर जनता समाजवादी पार्टीका नेताहरुलाई केपी ओलीले दिएको आश्वासन हामी पनि गर्छौं भनिदिऔं र उनीहरुलाई साथमा ल्याऔं, माओवादी केन्द्रलाई पनि साथ लिएर सरकार ढालौं भनेको हुँ,’ पौडेलले भने, ‘तर, अहिलेसम्म यो कुरा अघि बढेको थाहा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *