प्रेस चौतारी मकवानपुरद्वारा उज्ज्वल र निसा सम्मानित
हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कार उज्वल अधिकारीलाई प्रदान गरेको छ । यसै गरी सृजनशील पत्रकारिता पुरस्कारबाट निशा गुरुङ पुरस्कृत भएकी छन् ।
प्रेस चौतारी नेपाल मकवानपुरको वार्षिक साधारण सभाको अवसरमा शनिबार उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको हो । वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल र प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले संयुक्त रूपमा उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन् । उनीहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको साधारण सभाको वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका थिए । साधारण सभामा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा, बानका वरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईँ, प्रेस चौतारी नेपालका सचिव विष्णु तारुके, प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटी अध्यक्ष शरद सापकोटा, केन्द्रीय सदस्य हरि हुमागाईँ, प्रकाश दाहाल लगायतको सहभागिता रहेको छ ।
साधारण सभाको बन्द सत्रमा जिल्ला शाखाको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन माथि छलफल हुनेछ । यसै गरी विभिन्न समसामयिक विषयमा समेत साधारण सभाले निर्णय लिने प्रेस चौतारी नेपालका नेता प्रकाश दाहालले जानकारी दिए ।