‘अखण्ड भारत’ काे नक्साले विश्वमा भ्रम नछर्न भारतलाई क्रान्तिकारीको चेतावनी – Nepal Press

‘अखण्ड भारत’ काे नक्साले विश्वमा भ्रम नछर्न भारतलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतले संसदमा जारी गरेको अखण्ड भारतको नक्साको प्रतिवाद गर्न आग्रह गरेको छ ।

संयोजक पवन कार्कीले विज्ञप्ति जारी गर्दै कहिले सुस्ता त कहिले कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमामा बल मिच्च्याई गर्दै नेपालको राष्ट्रिय अखण्डता विपरीत कार्य गरिरहेको भारत सरकारले पछिल्लो पटक मे २८ मा आफ्नो नयाँ संसद भवनको उद्घाटन गर्ने क्रममा उक्त संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेत राखेर नक्सा सार्वजनिक गर्नु घोर आपत्तिजनक रहेको बताएका छन् ।

‘नेपाल को भू-भाग भारत ले आफ्नो नक्सा मा राख्ने कुरा प्रती हाम्रो संगठन अखिल(क्रान्तिकारी) घोर आपत्ति र निन्दा प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपालको भू-भाग नियोजित ढंगले आफ्नो देशको नक्सामा राख्ने भारतिय विस्तारवादको रवैया खेदजनक रहेको उल्लेख गर्दै क्रान्तिकारीले नेपाली जनता लाई कुनै पनि हालतमा यो सह्य नहुने जनाएको छ ।

भारतले सार्वजनिक गरेको नक्सा विश्व सामु एउटा भ्रम भएको र यस्तो प्रकारको मिथ्या भ्रम बोकेको नक्सा आफ्नो संसद भवनमा राखेर दुनियालाई भ्रमित नगर्न भारत सरकारलाई अखिल क्रान्तिकारीले चेतावनी दिँदै घटनाको सम्बन्धमा नेपाल सरकारको गंभीर ध्यानाकर्षण गराएको छ ।

‘तत्काल नेपाल सरकारले यसको खण्डन गर्न र नक्सा हटाउन भारतसँग पहल गर्नका साथै यस बारे आफ्नो धारणा स्पष्ट गर्न अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, आम नेपाली जनतामा यसको सशक्त प्रतिवाद र खण्डन गर्न पनि संगठनले अपील गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर