उपेन्द्र यादवलाई बारा २ कति ‘कम्फर्टेबल’ ? – Nepal Press

उपेन्द्र यादवलाई बारा २ कति ‘कम्फर्टेबल’ ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन लड्ने बाटो खुला भएको छ । उपराष्ट्रपतिमा बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्वाचन आयोगको निर्णयसँगै अध्यक्ष यादवको उपचुनाव लड्ने बाटो खुला भएको हो ।

यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए । राउतले ३५ हजार ४२ मत ल्याएर विजयी हुँदा यादवले १६ हजार ९७९ मतमात्रै ल्याएका थिए ।

बारा २ बाट निर्वाचित पार्टीका सांसद यादवलाई उपराष्ट्रपतिमा पठाएपछि उपेन्द्रले संसद यात्रा तय गर्ने पक्का भएको छ । गत निर्वाचनको समानुपातिक मतलाई हेर्दा बारा २ उपेन्द्रको संसद यात्राको लागि सुरक्षित देखिन्छ ।

अहिले उपराष्ट्रपतिकै निर्वाचनमा केन्द्रित भएकाले आफूहरु उपनिर्वाचनको विषयमा प्रवेश नगरेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

उनले भने, ‘अहिले हामी गठबन्धनमा छौं । उपराष्ट्रपति निर्वाचन सम्पन्न होस् । त्यसपछि मात्रै हामी उपनिर्वाचनको विषयमा प्रवेश गर्छौं । अहिले नै हामीले उम्मेदवारको विषयमा कुनै छलफल गरेका छैनौं ।’

उपनिर्वाचनको विषयमा पार्टी र गठबन्धनको बैठकमा छलफल गरेर नै टुंगो लाग्ने उनको भनाइ छ । उपराष्ट्रपतिमा रामसहाय गइसकेपछि अध्यक्ष यादवले उपचुनाव लड्ने चर्चा छ नि भन्ने प्रश्नमा नेता श्रेष्ठले भने, ‘अहिले हामी उपराष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर लागेका छौं । परिस्थिति बन्दै गए नहोला भन्न सकिन्न । तर, उपराष्ट्रपति निर्वाचनपछिको माहोल कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।’

बारा २ मा रामसहायले गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहालाई पराजित गरेका थिए । त्यसवेला जसपाले एमालेसँग सहकार्य गरेको थियो ।

जसपाका यादव १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा माओवादीका कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । तर, अहिले जसपा कांग्रेस नेतृत्वको दश दलीय गठबन्धनमा सामेल छ ।

गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी र आम जनता पार्टी सहभागी छन्।

तर, अध्यक्ष यादवले गठबन्धनका कति दलको समर्थन पाउँला हेर्न बाँकी छ । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले आफूहरु अहिले उपराष्ट्रपतिको निर्वाचनको विषयमा मात्रै केन्द्रित भएकाले उपनिर्वाचनको विषयमा प्रवेश नगरेको बताए ।

उनी भन्छन्, ‘अहिले हामी समग्र गठबन्धनलाई अगाडि बढाउने विषयमा केन्द्रित छौं । अब उपराष्ट्रपतिको निर्वाचन सकिएपछि थप विषयमा छलफल हुन्छ ।’

सकेसम्म गठबन्धन दलहरुको एकै मत हुनुपर्ने उनको भनाइ छ । उपराष्ट्रपतिको निर्वाचनको विषयमै असन्तुष्टि पोख्दै मधेस केन्द्रित तीन दलले उपेन्द्रविरुद्ध मोर्चा कसिसकेका छन् ।

गठबन्धनका लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच आपसी समझदारीको आधारमा कार्यगत एकता गर्ने शनिबार नै सहमति भएको छ । तीन दलको यो सहमतिले उपेन्द्र नेतृत्वको जसपाविरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ । यद्यपि उनीहरु १० दलीय गठबन्धनमै छन् ।

तर, आफूहरु पनि गठबन्धनमै सामेल भएकाले सोहीअनुसार निर्णय हुने लोसपा नेता शरदसिंह भण्डारीले बताए । उनले नेपाल प्रेससँग भने, ‘हामी गठबन्धन दलमै छौं । विचार मिल्नेसँग मोर्चा पनि अगाडि बढाऔं भनेर जनमत र नागरिक उन्मुक्तिसँग सहकार्य गरेका हौं । तर, उपनिर्वाचनकै विषयलाई केन्द्रित गरेर गरेका होइनौं ।’

बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव लड्ने परिस्थिति बन्यो भने तपाईंहरुको समर्थन हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘जसपासँग पनि सहकार्य नहोला भनेका छैनौं । हामी पनि गठबन्धनमै भएकाले गठबन्धनकै निर्णयअनुसार अघि बढ्छौं । त्यो वेलामा कस्तो परिस्थिति बन्छ, अहिल्यै भन्न सक्ने अवस्था छैन ।’

तर, जसपा सांसद प्रदीप यादव आफूहरुले संसदमा पार्टी अध्यक्ष यादवको आवश्यकता महसुस गरेको बताउँछन् । उनी भन्छन्, ‘अहिले हामी उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित छौं । तर, उपनिर्वाचनको उम्मेदवारको विषयमा अहिले छलफल भएको छैन । हामीले उपेन्द्रजीलाई उठ्नुपर्छ भनेर दबाब बढाएका छौं।’

उनले अध्यक्ष यादवले उपनिर्वाचनमा लड्ने भनेर अहिलेसम्म कतै मुख नखोलेको दाबी गरे । उनले थपे, ‘अहिले हामीले लडेर ल्याएको व्यवस्था नै खतरामा भएको बेलामा उहाँ जतिको मान्छे संसदमा आवश्यक छ । त्यसैले उहाँलाई हामीले भनिरहेका छौं । त्यो सम्भावनालाई नकार्न सकिन्न ।’

उपनिर्वाचनमा उपेन्द्र यादव उठ्नुभयो भने दश दलीय गठबन्धनको साथ पाउने सम्भावना छ ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले इच्छा व्यक्त गर्नुभयो भने त्यसमा दुईमत छैन । उहाँले गठबन्धनको साथ पाउनुहुन्छ । उहाँ नै गठबन्धनका साझा उम्मेदवार बन्नुहुन्छ ।’

तर, मधेसमा त उपेन्द्र यादवविरुद्ध जनमत, लोसपा र नागरिक उन्मुक्तिको मोर्चा बन्यो नि भन्ने प्रश्नमा नेता यादवले थपे, ‘उहाँहरुको मार्चाले हामीलाई कुनै फरक पर्दैन । उहाँहरुलाई गठबन्धनमा बस्नु छ भने गठबन्धनको सहमतिअनुसार अघि बढ्नुहुन्छ ।’

कति ‘कम्फटेबल’ ?

सांसद यादवले गठबन्धनको तर्फबाट आफ्नो पार्टीको जो लडे पनि जीत सुनिश्चित भएको दाबीसमेत गरे ।

उनले भने, ‘त्यहाँको समानुपातिक मतलाई हेर्दा पनि हामी पहिलो पार्टी हौं । त्यसमा पनि गठबन्धनको साथ पाउँदा हाम्रो उम्मेदवार जित्नेमा ढुक्क छौं । समय अझै छ । कसरी अगाडि बढ्छ, हेरौं ।’

मंसिरमा भएको निर्वाचनमा बारा २ मा समानुपतिकमा जसपाले १३ हजार २४२ मत ल्याएर पहिलो पार्टी बनेको थियो । नेपाली कांग्रेस ११ हजार १७९, नेकपा एमालेले ९ हजार १९३, जनमत पार्टीले ८ हजार ८४६, लोसपाले ४ हजार २३५ मत ल्याएको थियो ।

यस्तै नागरिक उन्मुक्तिले ३ हजार ७९४, माओवादी केन्द्रले ३ हजार २६५, नेपाल संघीय समाजवादी पार्टीले २ हजार ३६६, नेकपा एकीकृत समाजवादीले १ हजार ९९६, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९२ मत ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर