कानूनमन्त्री प्रधान भन्छन्: रेशम चौधरी राजनैतिक निर्णयको आधारमा रिहा हुँदैनन् – Nepal Press

कानूनमन्त्री प्रधान भन्छन्: रेशम चौधरी राजनैतिक निर्णयको आधारमा रिहा हुँदैनन्

रुपन्देही । कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले जेलमा रहेका नागरिक उन्मुक्तिका नेता रेशम चौधरी राजनैतिक निर्णयको आधारमा रिहा नहुने बताएका छन् । चौधरीको मुद्दा कानूनअनुसार नै टुंगिनुपर्ने उनको भनाइ थियो ।

मन्त्री प्रधानले थुनामा रहेका सबैको हकमा एकै प्रकारको व्यवहार हुनुपर्ने विषयमा राजनैतिक दलहरु एकमत रहेकाले अन्यथा विश्लेषण गर्न नहुने बताए ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पश्चिम नवलपरासी आएका मन्त्री प्रधानले परासीमा पत्रकारसँग कुराकानी गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहाको विषयमा सर्वदलीय सहमति नभएको जानकारी दिए ।

उनले मुलुकमा सुशासन र दण्डहीनताको अन्त्य गर्न मौजुदा कानून अपुरो रहेकाले कानून बनाउन ध्यान केन्द्रित गर्ने बताए । विकास निर्माणको काममा अहिले मौजुदा रहेको कानून अपूरो र बाधक भएको भन्दै त्यसलाई सुधार गर्न परामर्श थालेको बताए ।

मुलुकमा भ्रष्टाचार बढ्नुमा ऐन–कानूनमा नीतिगत रुपमा नै त्रुटि रहेको बताउँदै उनले त्यसले सुशासन र आर्थिक विकासमा असर पारिरहेको बताए ।

नेपालमा समयमै मल उपलब्ध हुन नसक्नुमा पनि कानून बाधक भएको उनको भनाइ छ । ‘कानूनी प्रावधान नै त्रुटिपूर्ण रहेकाले नीतिगत रुपमै भ्रष्टाचार भइरहेको र मल समयमा नआउनु पनि त्यसैको परिणाम हो’, मन्त्री प्रधानले भने ।

आफ्नो मन्त्रालय विकास निर्माणको काम गर्ने मन्त्रालय नभएकाले धेरैलाई खासै खुशी नलागेको उनको भनाइ थियो । तर, कानून मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको र आफूले पार्टीलाई परेका मन्त्रालयमध्ये रोजेर लिएको उनले जानकारी दिए ।

यसैबीच मन्त्री प्रधानले पश्चिम नवलपरासीको सुनवलमा दोश्रो सुनवल औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै औद्योगिक विकासविना देशको विकास हुन नसक्ने बताए ।

अहिलेको सरकार जनतालाई कसरी खुशी राख्ने भन्ने सोचका साथ अगाडि बढेको उनले बताए ।

अहिले उद्योगी व्यवसायीहरुसमेत धराशायी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधान गर्न क्याबिनेटमा छलफल भइरहेको मन्त्री प्रधानले जानकारी गराएका थिए ।

मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले यस क्षेत्रका उद्योग, व्यापार व्यवसाय, कृषिको प्रवर्द्धन गर्न र सुनवलको पहिचानका लागि मेलाको आयोजना गरिएको जानकारी दिए ।

माघ २२ गतेसम्म चल्ने मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशी वस्तुहरु र पहाडी कृषिजन्यका गरी १५० स्टल रहेको संघका वाणिज्य उपाध्यक्ष तथा मेला आर्थिक समिति संयोजक लेखनाथ खरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर