‘प्रतिगमन उतिबेलै सच्चिएको हो, नयाँ र परिपक्व ढंगले नेकपा ब्युँताउनुपर्छ’ (भिडिओ) – Nepal Press

‘प्रतिगमन उतिबेलै सच्चिएको हो, नयाँ र परिपक्व ढंगले नेकपा ब्युँताउनुपर्छ’ (भिडिओ)

माओवादी नेता बाबुराम गौतम भन्छन्- प्रदेश १ को मुख्यमन्त्री हामीले मागेका छौँ, सरकारको मन्त्रीमा मेरो दाबी हुन्छ

काठमाडौं । बाबुराम गौतम राष्ट्रिय राजनीतिमा चर्चित अनुहार होइनन् । ओखलढुङ्गाका बालकृष्ण ढुंगेल बाचुन्जेल जसरी राष्ट्रिय राजनीतिमा चर्चाको पात्र भइरहे, उनकै सहयोद्धा बाबुराम गौतम भने माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक राजकीय पदमा पुगेका छन् ।

जनयुद्धकालपछि पनि लगातार पार्टी संगठनमा मात्र काम गरेका गौतमले पहिलो पटक संसदीय टिकट पाए र पहिलो प्रयासमा जित निकाले । नेपाली कांग्रेससहितको गठबन्धनबाट ओखलढुङ्गा प्रदेश सभा क्षेत्र नम्बर २ को उम्मेदवार बनेर जितेका गौतम अब सरकार बन्ने बेला भने एमालेसँग मिल्ने ठाउँमा छन् ।

यसअघि पनि सो क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । यस पटक गौतम माओवादीबाट प्रत्यक्ष निर्वाचितमध्येका सिनियर र जनयुद्धकालीन पुरानो नेता भएकाले प्रदेश सरकारमा मन्त्रीको पहिलो लहरको नेतामा पर्छन् । यद्यपि उनलाई प्रदेशको सभामुखको चर्चा पनि चलिरहेको छ ।

विकास निर्माणमा मन्त्री भएर भूमिका निर्वाह गर्न सकिने निष्कर्षमा रहेका गौतम माओवादी पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुङ्गा इन्चार्ज गौतम फेरि पनि नेकपा ब्युँतिने वा नयाँ ढंगले एकता हुनुपर्ने पक्षमा देखिन्छन् ।

पछिल्लो राजनीतिक कोर्स परिवर्तन हुनुको कारण, ओली र प्रचण्डबीचको पुनः सहकार्य, फेरि वाम एकताको चर्चालगायतका विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद बाबुराम गौतमसँग नेपाल प्रेसकर्मी रमेश पराजुलीले गरेको कुराकानी:

– पछिल्लो एक सातामा भएको राजनीति कोर्स परिवर्तनलाई कसरी लिनुभएको छ ?

पहिले नेकपाकालमा बिग्रिएको कोर्सलाई यू–टर्न गर्न खोजिएको हो । त्यस वेला भएको गल्तीलाई करेक्सन गर्न खोजेको रूपमा मैले बुझेको छु । तत्कालीन नेकपा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फेरि एकै ठाउँमा बसेर काम गर्न सकिन्छ कि भनेर प्रयास गरेको मेरो बुझाइ छ ।

– तर, कांग्रेस नेतृत्वको गठबन्धनबाट चुनाव जितेर प्रचण्ड प्रधानमन्त्री बन्न मात्रै बालुवाटारबाट बालकोट पुगेको जस्तो देखियो नि ?

यो व्यवस्थामा स्वभावैले प्रधानमन्त्री पद नै कार्यकारी हो । स्वभावैले सबै जना प्रधानमन्त्री बन्न चाहन्छन् । आफू र आफ्नो पार्टीको विचार लागू गर्ने ठाउँ नै प्रधानमन्त्री भएपछि हो । कसैको केसमा पनि प्रधानमन्त्री बन्न खोज्नुलाई नराम्रो मान्नु हुँदैन ।

अध्यक्षज्यूको हकमा पनि त्यही नियम लागू हुन्छ । प्रधानमन्त्री बन्न मात्रै नभएर केही गर्न उहाँ जानुभएको हो । उहाँसँग देश र जनताको रूपान्तरण गर्ने थुप्रै एजेण्डा छन् । विगतबाट थाती रहेका एजेण्डा कार्यान्वयन गर्न त्यहाँ जानुपर्थ्यो । त्यसका लागि ओली र प्रचण्डले आफ्नो समीक्षा गरेर एकजुट भएको जस्तो लागेको छ । यसमा अन्यथा लिनु हुँदैन ।

– कांग्रेसको भोटको बलमा जितेर एक महिना नपुग्दै एमालेसँग मिलेर सरकार बनाउनु त राजनीतिक बेइमानी भएन र ?

यो परिस्थितिमा मलाई त्यस्तो लाग्दैन । किनकि अहिले नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेताहरूबाट हामीले सुनिरहेका छौँ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसहित राज्यका प्रमुख पद आफैँलाई चाहिन्छ, माओवादी केही पनि होइन, लतारेर मात्रै ल्याउन सकिन्छ भनेर सोच्दाखेरी भएको गल्ती हो ।

माओवादीले सहकार्य गरेर आफूलाई पनि बचाइराखेको छ । त्यही सहकार्यकै कारणले कहिले कांग्रेस त कहिले एमालेलाई ठूलो दल पनि बनाइराखेको छ । लिने र दिने क्रम चलिरहेको छ ।

गठबन्धनबाट सरकार बनाउने अन्तिम प्रयास पनि भएको थियो । कमरेड प्रचण्ड अन्तिम समयसम्म तत्कालीन प्रधानमन्त्रीसँग वार्तामै हुनुहुन्थ्यो । सबै कार्यकारी पद कांग्रेसलाई चाहिन्छ भन्ने कुरा हाम्रो पार्टीले स्वीकार गर्ने कुरा भएन । त्यही कारणले गठबन्धन टुटेर एमाले नेतृत्वको गठबन्धन बन्यो ।

– भनेपछि गठबन्धन टुट्नुको मुख्य कारण कांग्रेस हो ?

हो, त्यसमा दुई मत छैन । कांग्रेसको नेतृत्वकै कारणले गठबन्धन टुटेको हो ।

– माओवादी जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि निरन्तर सत्तामा छ । तर, जनमत चाहिँ निरन्तर घट्दै गइरहेको छ । त्यसलाई पार्टीले कसरी समीक्षा गरेको छ ?

माओवादी केन्द्र एउटा क्रान्तिकारी धारबाट आएको पार्टी हो । वर्गसंघर्षको भट्टीबाट आएको पार्टी हो । माओवादीले उठाएको एजेण्डा विगतमा पूरा हुन सकेका छैनन् । त्यस कारण जनतामा निरन्तर निराशा आइरहेको छ । त्यसमा आफूलाई समीक्षा गरेर पार्टी निर्माण गर्न पार्टी सिद्धान्तलाई सुदृढ गरेर जानुपर्ने अवस्थामा छौँ ।

विचार र संगठन निर्माण गर्नुपर्नेमा हामी चुक्दै गएका छौँ । त्यसलाई हामीले स्वीकार गरेर जनताको एजेण्डा बोकेर जान सक्यौं भने हामी बलियो बन्दै जान्छौँ । माओवादी र नेपालका समग्र कम्युनिस्ट पार्टीको हकमा पार्टी पुनर्गठन अभियान थाल्नुपर्छ भन्ने मलाई लाग्छ ।

– त्यसो भए निरन्तर सत्तामा रहँदा पनि जनताको एजेण्डा कार्यान्वयनमा माओवादी कहाँ चुक्यो ?

यो चाहिँ एउटा परिस्थितिको पनि सीमा हो भन्ने ठान्छु । २०६४ सालमा गठन भएको अध्यक्ष कमरेड नेतृत्वको सरकारलाई संसारभरका शक्ति केन्द्रहरू मिलेर दुर्घटनामा पुर्‍याउने काम भयो । त्यतिखेर थुप्रै काम हुन सक्थ्यो ।

नेपालमा परिवर्तनबाट आएको नेतृत्वलाई टिक्न दिएको इतिहास छैन । २०१५ सालमा प्रधानमन्त्री बीपी कोइरालालाई पनि डेढ वर्ष चल्न नदिई ‘कु’ गरेर जेल जीवनमा पठाइएको थियो । पछि २०५१ मा आएको एमाले सरकार पनि ९ महिनामै ढालिएको थियो ।

तल्लो तहमा कुनै विवाद नभई माथि नेतृत्वकै कारणले अलग भएको थियो । अहिले पनि कम्युनिस्टहरू मिलुन् भन्ने ठूलो जमात छ । त्यसै कारणले हुन पनि सक्छ । तर, त्यसलाई परिपक्व बनाएर गर्नुपर्छ ।

नयाँ आएको शक्तिलाई टिक्न नदिएर ढाल्ने हामीकहाँ परम्परा नै बस्दै आएको छ । त्यसमा विभिन्न शक्ति केन्द्र र प्रवृत्ति हाबी हुँदै आएका छन् । त्यही भएर माओवादीले आफ्नो एजेण्डा लागू गर्न नसकेकै कारणले कमजोर बन्दै गयो । पार्टी पनि विभाजित भए । अब पुनः मित्र शक्तिहरूसँग सहकार्य गरेर आफ्नो एजेण्डा पूरा गर्नुपर्छ ।

– माओवादीले कहिले एमाले त कहिले कांग्रेसको मतबाट जितेर उनीहरूमाथि नै शासन गरेको भन्ने आरोप पनि लाग्ने गरेको छ नि ?

माओवादीले सहकार्य गरेर आफूलाई पनि बचाइराखेको छ । त्यही सहकार्यकै कारणले कहिले कांग्रेस त कहिले एमालेलाई ठूलो दल पनि बनाइराखेको छ । लिने र दिने क्रम चलिरहेको छ । त्यही क्रममा कसले बढी ट्याक्टिसको प्रयोग गर्न सक्यो भन्ने कुरामा भर पर्छ । तर, हामीले लिएकोभन्दा धेरै दिएका छौँ ।

– माओवादीले तेस्रो निर्णायक शक्ति भएर आफूलाई फाइदामै राख्यो भन्ने तपाईँको बुझाइ हो ?

हरेक शक्तिले आफूलाई फाइदामा राख्ने कोसिस गर्नै पर्छ । हामी तेस्रो दलको रूपमा रह्यौँ । तर, हामीलाई तेस्रो हुने कुनै रहर छैन । पहिलो हुन चाहन्छौँ । त्यसमा हाम्रो कतिपय कमजोरीले काम गरेको छ । तेस्रो हुँदा पनि हाम्रो नेतृत्वले उपयुक्त पहल लिइराखेको छ ।

– यसअघि २०७४ मा एमालेसँग पार्टी एकता भएको थियो । तर, टिक्न सकेन । अहिले फेरि एकता गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । त्यसमा तपाईँको मत के छ ?

अघिल्लो एकतामा केही कमजोरी थिए । त्यति वेला दुई अध्यक्षले पहलकदमी लिनुभएको थियो । दोस्रो तहका नेताहरू केही मात्रै सक्रिय थिए । आम पार्टी र कार्यकर्तासँग संवाद भएको थिएन । तर, अहिले हामीले गठबन्धनको सरकारमा बल्ल जाँदैछौं ।

अब एकता गर्ने हो भने तल्लो तहबाटै छलफल थाल्नुपर्छ । जनतादेखि कार्यकर्ता हुँदै नेताहरूको एकता गर्न सकियो भने मात्रै सफल भइन्छ । अहिले हल्ला त धेरै आइरहेको छ । त्यसका लागि हतारो गर्नुभन्दा व्यवस्थित गरेरै जानुपर्छ ।

– यसअघिको एकतामा नेता मिले जनता कार्यकर्ता मिल्न सकेनन् भन्ने तपाईँको बुझाइ हो?

त्यो वेलामा हामी सबैमा बढी दम्भ भयो । एमाले र माओवादीबीच एकता भएपछि को पहिला हुने भन्ने दौडमा लाग्यौँ । त्यसमा धेरै कमजोरी भएकै कारणले विभाजनमा पुग्यौँ । त्यो पनि हाम्रो रहर नभएर अदालतबाट भएको थियो ।

अब कुरा आउँदै गर्दा विचार र सिद्धान्तको छलफलका आधारमा कति मिल्न सक्छौँ, कति सक्दैनौँ भन्ने छलफल गर्दा मिलनबिन्दु भेटिए एकता ठीक नत्र अहिलेको जस्तो सहकार्य मात्रै गर्न सकिन्छ ।

तत्कालीन पार्टी अध्यक्ष केपी ओलीले संसद् विघटन गरेको सत्य घटना नै हो । त्यो संसद् पुनः स्थापनापछि पाँचै वर्ष चलेर अहिलेको अवस्थामा आइपुगेको हो । त्यसो हुँदा अहिले होइन प्रतिगमन त्यही वेलामा सच्चिइसक्यो ।
– अहिलेको राजनीतिक परिवेश फेरि नेकपा व्युँतिने लाइनमा गएको हो ?

राजनीतिमा असम्भव भन्ने केही हुँदैन । त्यसमा पनि हामी एकै ठाउँमा बसेर काम गरिसकेका पङ्क्ति हौँ । तल्लो तहमा कुनै विवाद नभई माथि नेतृत्वकै कारणले अलग भएको थियो । अहिले पनि कम्युनिस्टहरू मिलुन् भन्ने ठूलो जमात छ । त्यसै कारणले हुन पनि सक्छ । तर, त्यसलाई परिपक्व बनाएर गर्नुपर्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गर्नुभयो भनेर सडक आन्दोलनमा जानुभएको थियो । अहिले प्रचण्ड बालुवाटारबाट बालकोट पुग्दा प्रतिगमन सच्चिएको हो ?

तत्कालीन पार्टी अध्यक्ष केपी ओलीले संसद् विघटन गरेको सत्य घटना नै हो । त्यो संसद् पुनः स्थापनापछि पाँचै वर्ष चलेर अहिलेको अवस्थामा आइपुगेको हो । त्यसो हुँदा अहिले होइन प्रतिगमन त्यही वेलामा सच्चिइसक्यो ।

तर, हामी कम्युनिस्ट पार्टीका मान्छेहरू सच्चियौँ कि सच्चिएनौँ भन्ने अहिलेको सहकार्यबाट परिपक्व बन्छौँ भन्ने लाग्छ । अहिलेको सहकार्यमा विचार र सिद्धान्त मिलिरह्यो भने पार्टी एकता गरेर जानसक्छौं ।

– एमाले र माओवादी फेरि एकै ठाउँमा उभिएपछि माधव नेपाल एक्लिनुभएको छ । उहाँलाई सहकार्यमा जोड्न कस्तो पहल भइरहेको छ ?

माधव कमरेड तत्कालीन नेकपाको वरिष्ठ नेता हुनुहुन्थ्यो । पार्टी फुटेपछि उहाँले पनि सानो समूह लिएर एकीकृत समाजवादी गठन गर्नुभएको छ । गठबन्धनको विषयमा उहाँले केही नैतिक प्रश्न उठाउनुभएको छ । प्रधानमन्त्रीसहित हाम्रो पार्टी र नेकपा एमालेले पनि पहल जारी राखेको छ । मलाई लाग्छ, उहाँ सरकार र गठबन्धनमा आउनुहुन्छ ।

– उहाँले बालुवाटार छाडेर बालकोट जाँदा प्रचण्डले सल्लाह गर्नुभएन भनेर चित्त दुखाएको कुरा सार्वजनिक रुपमै राख्नुभयो नि ?

निर्णायक मोडमा पहलकदमी छिनछिनमै बदल्नुपर्ने स्थिति आउँछ । त्यो दिन सरकार बनाउन नदिन विभिन्न खालको षड्यन्त्र भइरहेको हामीलाई सूचना थियो । शेरबहादुर देउवाले त्यो दिनको समय घर्काएर ठूलो दलको हैसियतले सरकार बनाएर सबै आफैँ राख्न खोजेको सूचना हामीकहाँ आइरहेका थिए ।

त्यस्तो अवस्थामा माधव कमरेड पहलकदमी लिन पछि पर्नुभयो । प्रचण्डजीले वेलैमा निर्णय लिन सक्नुभयो । माधवजीलाई छाडेर नभई सधैँ राख्ने गरी उहाँले पहल गर्नुभएको थियो ।

हाम्रो भागमा मुख्यमन्त्री प¥यो भने अघिल्लो कार्यकालमा अर्थमन्त्री बन्नुभएको इन्द्र आङ्वोजीलाई अगाडि सारेका छौं । त्यो भएन भने मन्त्रीमण्डलमा कसरी जाने भन्ने विषयमा नयाँ ढंगबाट छलफल गर्छौँ । सरकारमा सहभागिताका लागि मेरो दाबी स्वाभाविक हुन्छ ।

आफ्नो निर्णयलाई माधव कमरेडको साथ मिल्छ भन्नेमा प्रचण्डजी ढुक्क हुनुहुन्थ्यो । अहिले पनि उहाँले स्वीकार्नुहुन्छ । त्यसको विकल्प छैन । एमालेसँग भर्खरै फुटेको कारणले केही तुष हुनु सामान्य हो । त्यसमा चित्त दुखाउनुपर्ने कुरा छैन । उहाँ गठबन्धनमै आउनुहुन्छ ।

– प्रदेश १ मा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की मुख्यमन्त्री बन्ने कुरा छ, माओवादीको पनि दाबी हो ?

हाम्रोतर्फबाट पनि त्यहाँ दाबी छ । देशभरिको बाँडफाँट गर्दा प्रदेश १ माओवादीको भागमा परोस् भन्ने हाम्रो माग हो । केन्द्रबाट हुने भागबन्डामा १ नम्बर प्रदेश सरकार चाहिँ हामीलाई चाहिन्छ भनेर माग गरेका हौँ ।

– माओवादीबाट तपाईँ मन्त्रीको दाबेदार भनिन्छ, तपाईँ के भन्नुहुन्छ ?

हाम्रो भागमा मुख्यमन्त्री पर्‍यो भने अघिल्लो कार्यकालमा अर्थमन्त्री बन्नुभएको इन्द्र आङ्वोजीलाई अगाडि सारेका छौँ । त्यो भएन भने मन्त्रीमण्डलमा कसरी जाने भन्ने विषयमा नयाँ ढंगबाट छलफल गर्छौँ । सरकारमा सहभागिताका लागि मेरो दाबी स्वाभाविक हुन्छ ।

– ओखलढुंगामा माओवादीको जनमत लगातार घटेको देखिन्छ । पहिले एमालेको बलमा एउटा प्रदेशसभा जित्नुभयो, अहिले कांग्रेसले जितायो । बालकृष्ण ढुंगेलसँगै ठूलो पङ्क्ति एमालेमा विलीन भएपछि कमजोर भएको हो ?

त्यो होइन, बालकृष्ण ढुंगेल पार्टीमा हुँदादेखि नै हाम्रो जनमत साँघुरिएको अनुभव हामीलाई छ । २०७४ मा एमाले गठबन्धनबाट र अहिले कांग्रेस गठबन्धनबाट एकएक सीट जित्यौँ । मतको हिसाबले धेरै तलमाथि परेको देखेको छैन ।

सांगठनिक रूपमा हेर्दा २०७० देखि म निरन्तर नेतृत्वमै छु । केही साथीहरू जानुभए पनि समानुपातिकको मतलाई हेर्दा धेरै भोट घटेको देखिँदैन । तर, हामीले गर्व गर्न लायक संगठन बनाउन सकेका छैनौँ । आगामी निर्वाचनसम्म पूरै हाम्रो शक्ति लगाउने अवस्थाको बचनबद्ध भएका छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर