पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन सकिँदैन : मन्त्री भट्ट – Nepal Press

पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन सकिँदैन : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पारेका छन् ।

ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताए ।

पेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक भारतले युद्ध हारेको तथ्य पेश गर्दै उनले नेपाल आयल निगमको विकल्पमा निजी क्षेत्रलाई पेट्रोलियम आयातको जिम्मा लगाउन नसकिने जिकिर गरे ।

“पेट्रोलियम अत्यन्त संवेदनशील विषय हो, यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ”, उनले भने ।

ग्यास बिक्रेतालाई व्यवसाय सञ्चालनका क्रममा परेको अप्ठ्यारा हल गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि छलफल गर्न आग्रह गरे । “भर्खरै प्रतिनिधिसभा पुनःस्थापना भएको छ, कतिपयले अब वर्तमान सरकार रहँदैन भनेका छन् तर नेपालको राजनीति पुस ४ गतेको अवस्थामा पुगेको छ”, उनले भने ।

“सरकार परिवर्तन भएर निजी क्षेत्रको समस्या समाधान हुँदैन कि भनेर आशङ्का नगर्नुस्, यही सरकारले व्यवसायीका समस्या समाधान गर्छ’ उनले भने । वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन गर्न लागिपरेको जानकारी दिँदै उनले केपी ओली नेतृत्वको सरकारले नै मुलुकको समृद्धिको नेतृत्व गर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाल आयल निगमका नायब कार्यकारी निर्देशन सुशील भट्टराईले ग्याँस बिक्रेताले आफूहरुको मुनाफा कमी भइरहेको बताइरहँदा बिक्रीस्थललाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

उनले आपसी छलफलका माध्यमबाट व्यवसायीका मुनाफा निर्धारण गर्न सकिने पनि बताए। महासङ्घका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले बिक्रेताको हकहित र अधिकारका लागि महासङ्घ सदैव लागिपरेको बताए । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर