घनश्याम भुसाल भन्छन्- खराब पार्टी भएको मुलुकको भविष्य राम्रो हुँदैन (भिडिओ) – Nepal Press

घनश्याम भुसाल भन्छन्- खराब पार्टी भएको मुलुकको भविष्य राम्रो हुँदैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो देश बनाउन राम्रो पार्टीहरू हुनुपर्ने बताएका छन् ।

अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले मुलुकको राम्रो भविष्यका लागि असल पार्टी हुनुपर्ने बताए ।

‘राम्रो राष्ट्र बनाउने भने राम्रो राजनीति चाहिन्छ । राम्रो राजनीतिका लागि राम्रो पार्टी चाहिन्छ,’ उनले भने,‘खराब पार्टीहरू भएको मुलुकको राम्रो भविष्य हुँदैन । राम्रो पार्टी भन्ने राम्रो चेतना हो ।’

नेपालका राजनीतिक दलले समाजवादका नाममा जनतामा भ्रम छरिरहेको नेता भुसालले टिप्पणी गरे । नेपाली कांग्रेसले बीपी कोइरालाको समाजवादलाई खाली बोलीका लागि बनाएको बताउँदै उनले भने, ‘बीपीले प्रजातान्त्रिक समाजवाद एक प्याराग्राफ लेखिदिए । अहिले कांग्रेसले त्यही भन्दैन । कसैले राम्ररी लेखिदिए प्रजातान्त्रिक समाजवाद छलफल होला ।’

एमालेले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने गरेको तर कसरी हुन्छ ? त्यो प्रष्ट नभनेको उनले बताए । ‘हामी समृद्ध नेपाल सुखी नेपाली भनेका छौं एमालेवाला । त्यो कसरी आउँछ कहिल्यै भन्दैनौं,’ उनले थपे ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ शताब्दीको वैज्ञानिक समाजवाद’ भन्ने गरेको र नेकपा एकीकृत समाजवादीले ‘यात्रा समृद्धिको, लक्ष्य समाजवाद’को भन्ने गरेको, तर कसरी आउँछ भनेर नभनेको पनि उनले टिप्पणी गरे ।

‘प्रचण्ड कमरेडले दस्तावेजमा २१ शताब्दीको वैज्ञानिक समाजवाद भनिएको छ,’ उनले भने,‘एकीकृत समाजवादीले यात्रा समृद्धिको, लक्ष्य समाजवाद भनिएको छ । त्यो कसरी आउछ ? परीक्षण हुनेगरी भन्दिनु न !’

यी पार्टीका सिद्धान्त र यिनका कार्यक्रम नै वैज्ञानिक नभएको नेता भुसालले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर