रविन्द्र मिश्रले सुसंस्कृत राजनीतिको उदाहरण पेस गर्नुभयो : समीक्षा बास्कोटा – Nepal Press
नेपाल टक

रविन्द्र मिश्रले सुसंस्कृत राजनीतिको उदाहरण पेस गर्नुभयो : समीक्षा बास्कोटा

‘विचारभन्दा माथि देश दस्ताबेजलाई ग्राउन्डमा पुर्‍याउन सकेनौँ’

काठमाडौं । अध्यक्ष रविन्द्र मिश्रले अचानक राजीनामा दिएपछि विवेकशील साझा पार्टीमा स्तब्धता छाएको छ । जन्मदाताले नै हात झिकेपछि पार्टीको भविष्य के हुन्छ भन्ने प्रश्नहरू पनि उठ्न थालेका छन् ।

मिश्रको राजीनामाबारे पार्टीका धेरै नेताहरूले आज समाचार पढेर थाहा पाएका थिए । स्थानीय चुनावमा पार्टीले निराशाजनक नतिजा ल्याएको भए पनि मिश्रलाई राजीनामा निम्ति आन्तरिक दबाब थिएन । उनले आफैँ नैतिक दबाब महसुस गरेर राजीनामा दिएका हुन् । राजीनामाको विज्ञप्तिमा उनले पार्टीबाट कारबाही गरिएका नेताहरूलाई पुनर्स्थापन गर्नसमेत आह्वान गरेका छन् ।

विवेकशील साझाकी नेतृ समीक्षा बास्कोटा मिश्रको निर्णय आफूहरूको लागि अनपेक्षित रहेको बताउँछिन् । यद्यपि, यसले सुसंस्कृत राजनीतिको उच्चतम उदाहरण स्थापित गरेको उनको भनाइ छ ।

बास्कोटा आफैँ विवेकशील साझाबाट काठमाडौंमा मेयरको उम्मेदवार थिइन् । सोचेभन्दा निकै कम भोट ल्याएकी छन् उनले । बालेन साहको ह्वीममा मतदाता दौडिएका बेला समीक्षातर्फ कसैको ध्यानै परेन । आफ्नो चुनावी नतिजाबाट हिम्मत भने नहारेको उनी बताउँछिन् ।

‘मेरो उम्मेदवारीको टाइमिङ गलत भयो,’ समीक्षाको आत्मसमीक्षा छ ।

बास्कोटासित अध्यक्षको मिश्रको राजीनामा र विवेकशील साझाको चुनावी परिणामलाई लिएर गरिएको संक्षिप्त कुराकानी:

अध्यक्षले राजीनामा दिँदै हुनुहुन्छ भन्ने तपाईँलाई पूर्व जानकारी थियो ?

थिएन । यो हाम्रो लागि अनपेक्षित नै भयो ।

किन यस्तो निर्णय लिनुभयो जस्तो लाग्छ ? चुनावी परिणाम मात्रै कारण हो कि अरू पनि केही छ ?

राजनीतिक रूपमा हेर्दा चुनावको नतिजा नै मुख्य कारण हो । उहाँले वैकल्पिक राजनीतिलाई स्थापित गर्न इमानदार प्रयास गर्नुभयो । धेरै आन्तरिक कारणहरूले गर्दा चुनावमा सोचेजस्तो भएन । धेरै व्यक्तिहरूले उहाँकै कारण बिग्रियो भनिरहेका थिए । उहाँले विज्ञप्तिमा लेखेअनुसार बाटो खुलाइदिनुभएको छ ।

यसलाई सकारात्मक हिसाबले पनि हेर्नुपर्छ जस्तो लाग्छ । उहाँले सुसंस्कृत राजनीतिको एउटा स्टान्डर्ड सेट गर्नुभएको छ । जस्तो अवस्थामा पनि कुर्सी नछाड्ने परम्परागत राजनीतिक संस्कारबाट माथि उठेर निर्णय लिनुभयो । हामीले चाहेको सुसंस्कृत राजनीति भनेको यस्तै हो । यसले उहाँको हाइट झन् बढेको छ ।

अब साधारण सदस्य मात्रै रहने भनिसकेपछि विवेकशील साझामा उहाँको भूमिका अब कस्तो होला, वा केही पनि नहोला ?

विज्ञप्ति आएको भन्दा थप कुरामा म पनि अनभिज्ञ छु । उहाँले केही सेयर गर्नुभएको पनि छैन । तर, हामीलाई अझै पनि आशा छ कि उहाँले कुनै न कुनै रूपमा पार्टीलाई साथ–सहयोग दिनुहुने छ ।

विवेकशील साझा पार्टी भन्ने बित्तिकै रविन्द्र मिश्रको पार्टी भनेर चिनिन्थ्यो । उहाँ नै नेतृत्वमा नरहेपछि अब पार्टीको भविष्य के होला भन्ने प्रश्न उठिरहेका छन् नि ?

पार्टी अध्यक्षको हिसाबले र मुभमेन्ट लिड गरेको हिसाबले विवेकशील साझा भन्नासाथै रविन्द्र मिश्रको नाम आउँछ । यद्यपि हामी सामूहिक रूपमा अघि बढेका हौँ । केन्द्रीय समिति छ । कार्यसम्पादन समिति छ । एउटा व्यक्ति नहुँदा सबै सकिने भन्ने हुँदैन ।

उहाँको हाइटको अर्को व्यक्ति छैन पार्टीमा । अब कसले नेतृत्व गर्ने त ?

अहिले एक किसिमको अन्योल त उब्जेको छ नै । तर पार्टीभित्र सबै जना बसेर छलफल गर्ने हो । पार्टीलाई कसरी अगाडि बढाउने भनेर केन्द्रीय कमिटी बस्छ । भोलि कार्यसम्पादनको बैठक बसेर रविन्द्रजीलाई निर्णय फिर्ता लिन रिक्वेस्ट गर्ने कुरा पनि हुन सक्छ ।

त्यसो भए राजीनामाको निर्णय फिर्ता लिन बैठकले आह्वान गर्छ ?

त्यो सबै बैठक बसेपछि थाहा हुन्छ । मैले व्यक्तिगत रूपमा यही हुन्छ भन्न मिल्दैन । छलफलका विभिन्न पाटाहरू हुन्छन् नि त । चौतर्फी कुरा उठ्छ । कसरी अगाडि बढ्ने भनेर सामूहिक निर्णय लिइने छ । पार्टीमा कयौँ नेताहरू हुनुहुन्छ । सम्भावना बोकेका नेताहरू हुनुहुन्छ । कसले नेतृत्व गर्ने बैठकले नै निर्धारण गर्छ ।

कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गर्न उहाँले आग्रह गर्नुभएको छ । त्यस्तो भयो भने मिलन पाण्डे फेरि स्वतः संयोजक बन्नुहुने हो ?

त्यसबारे मैले खासै केही टिप्पणी गर्न पर्छ जस्तो लाग्दैन । विधानअनुसार जाने हो । कहिलेकाहीँ पार्टीमा यस्तो सिचुयसन आउँदा विधान हेर्ने हो । मिलन पाण्डेको हकमा केन्द्रीय समितिले निर्णय लिएको हो । उहाँले कारबाही फिर्ताका लागि आग्रह गर्नुभएको छ । यो विषयमा केन्द्रीय कमिटीले नै निर्णय गर्नुपर्छ । केन्द्रीय कमिटीको बैठक नबस्दासम्म के के हुन्छ भनेर कसैले आँकलन गर्न सक्दैन । मुख्य कुरा विधानलाई बिर्सन भएन ।

स्थानीय चुनाव परिणामलाई कसरी विश्लेषण कसरी गर्नुभएको छ ? यो निराशाजनक नै हो ?

चुनावभन्दा अगाडि पार्टीभित्रको माहोल राम्रो भएन । ‘विचारभन्दा माथि देश’ दस्ताबेज आइसकेपछि जिम्मेवार साथीहरूले नै अध्यक्ष र दस्ताबेजको खिलाफमा उभिनुभयो । उहाँहरूले जे–जे कुरा बाहिर धरातलमा ल्याउनुभयो, त्यसको असर हो । कयौँ नेताले जिम्मेवारीपूर्ण काम नगरेको पनि हो । सबैले आआफ्नो कमजोरी स्विकार्नुपर्छ । अध्यक्षज्यूले त सबै जिम्मेवारी लिन्छु भन्नुभएको छ । तर पार्टीमा कयौँ जिम्मेवार नेता छन् । केन्द्रीय सदस्य, सांसद हुनुहुन्छ । उहाँहरूले आफ्नो समीक्षा आफैँ गर्नुहोला । म पनि आफ्नो भागको जिम्मेवारी लिन तयार छु ।

विचारभन्दा माथि देशको दस्ताबेजका कारण नै पार्टीले चुनावमा धक्का खानुपरेको हो त ?

यसो भनेर गत न्यारेसन स्थापित गर्न खोजिएको छ । केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले सो दस्ताबेज पास गरेको हो । जनताबाट एकदम राम्रो रेस्पोन्स मिलेको थियो । दस्ताबेजपछि धेरै साथीहरू पार्टीमा जोडिनुभयो । त्यही दस्ताबेजले एकीकरण र ध्रुविकरणको प्रक्रिया अगाडि बढको थियो । त्यसैले दस्ताबेजलाई दोष दिनु भनेको आत्मरति मात्रै हो ।

बरु त्यो दस्ताबेजलाई हामीले आम नागरिकको माझमा लिएर जान सकेनौँ । दस्ताबेजको विरोधमा केही साथीहरूले मिडियावाजी गर्दै गर्दाले हामीले ग्राउन्डमा लैजान नसकेको यथार्थ हो । आज पनि विभिन्न पार्टीका नेता र नागरिकले तपाईँहरूको दस्ताबेज ठिक हो, यसरी आउनैपथ्र्यो भनेर राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । त्यसैले दस्ताबेजको कारण मात्र चुनाव परिणाम नराम्रो आएको होइन । पार्टीभित्रको सानोसानो किचलोलाई बाहिर ल्याएर अध्यक्षलाई निरन्तर प्रहार गर्ने प्रवृत्ति मुख्य कारक तत्त्व हो ।

तपाईँ आफैँ काठमाडौंबाट उम्मेदवार हुनुभएको थियो । उल्लेख्य भोट ल्याउन सक्नुभएन । काठमाडौंको मत परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

मैले राजनीतिमा लागेर १०० प्रतिशत दिने हो । परिणाम स्विकारेर हिँड्नुभन्दा अर्को विकल्प हुँदैन जस्तो लाग्छ । यो प्राविधिक विषय हो ।

परिणाम जस्तो आए पनि आजसम्म मलाई राम्रो प्रतिक्रियाहरू दिइरहनुभएको छ । तपाईँजस्तो व्यक्तिले मत परिणामलाई ठूलो ठानेर राजनीति छाड्नु हुँदैन है भनेर हौसला दिइरहनुभएको छ । म राजनीति र राजधानीको फोहोर सफा गर्न आएको हुँ भनेको थिएँ । राजधानीको फोहोर सफा गर्ने मौका पाइनँ । तर राजनीतिको फोहोर सफा गर्ने अभियानमा अझै पनि सक्रिय रहनेछु ।

स्वतन्त्र उम्मेदवार बालेन साहको पक्षमा लहर आएको बेला उम्मेदवार हुनुभयो, आफूलाई अनलक्की ठान्नुहुन्छ ?

‘अनलक्की’ भन्नुभन्दा पनि मेरो उम्मेदवारीको टाइमिङ गलत भयो भन्छु म । व्यक्तिगत रूपमा उम्मेदवार आफैँ गलत होइन । समय गलत थियो भन्ने लाग्छ । कहिलेकाहीँ राम्रो कुराका लागि पनि समय गलत हुन सक्छ । समय बलवान छ ।

पार्टीगत रूपमा समीक्षा गर्नुपर्ने विषयहरू छन् । पाँच वर्षमा के गुमायौँ भनेर समीक्षा गर्नै पर्छ । ०७४ सालमा विवेकशील र साझाले ल्याएको मतलाई सम्मान गर्न सकेनौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर