विवेकशील साझा महाधिवेशनमा होमियो, को-को छन् नेतृत्वको आकांक्षी ? – Nepal Press

विवेकशील साझा महाधिवेशनमा होमियो, को-को छन् नेतृत्वको आकांक्षी ?

अध्यक्षमा बास्कोटा र पाण्डेबीच प्रतिस्पर्धा हुन सक्ने

काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको बहिर्गमनसँगै छिन्नभिन्न बनेको विवेकशील साझा पार्टीले अब नयाँ शिराबाट अघि बढ्ने जमर्को गरेको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै फेरि वैकल्पिक शक्तिका रुपमा पार्टीलाई उभ्याउन नेताहरु जुटेका छन् ।

विवेकशील साझाको पहिलो महाधिवेशन यही माघ २७ र २८ मा काठमाडौंमा हुँदैछ । महाधिवेशनमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरुले भाग लिनेछन् । महाधिवेशनले अध्यक्षसहितको पदाधिकारी टीम र केन्द्रीय कमिटी छनोट गर्नेछ ।

तत्कालीन अध्यक्ष मिश्रले पार्टीमा ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज प्रस्तुत गरेपछि विवाद उत्पन्न भएको थियो । संयोजक मिलन पाण्डेसहितका केही नेताहरु मिश्रले प्रतिगामी धार समातेको भन्दै विरोधमा उभिए । तर, केन्द्रीय कमिटीको दुईतिहाइ बहुमतबाट मिश्रको लाइन पारित भयो भने पाण्डेसहितका २६ केन्द्रीय सदस्यलाई कारबाही गरी पार्टीबाटै निष्काशित गरिएको थियो ।

गएको स्थानीय चुनावमा विवेकशील साझाले निराशाजनक परिणाम हात पारेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए । उनीसँगै केन्द्रीय कमिटीका ३० जनाभन्दा बढीले पार्टी परित्याग गरेको बताइएको छ । कार्यकर्ता पंक्तिमा पनि थुप्रैले पार्टी छोडेका छन् भने कतिपय निष्क्रिय बसेका छन् । महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जाको सञ्चार गर्ने र छुटेकाहरुलाई फेरि जोड्ने नेताहरुको विश्वास छ ।

विवेकशील–साझामा यसअघि अध्यक्ष र संयोजकका रुपमा दुईजनाको समानान्तर नेतृत्व थियो । तर, अब अध्यक्षमात्रै रहने गरी विधान संशोधन गरिँदैछ । साथै, सामूहिक नेतृत्वको भावनाअनुसार पदाधिकारी टीम बनाइनेछ । अध्यक्षपछि उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । पदाधिकारी टीम ९ जनाको हुनेछ । केन्द्रीय कमिटी भने कत्रो हुने भन्ने टुंगो लागिसकेको छैन ।

अध्यक्षको प्रतिस्पर्धामा मुख्य दुई दावेदार छन् । पूर्वसंयोजक मिलन पाण्डे र साविक अध्यक्ष समीक्षा बास्कोटाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । यद्यपि, अन्य नेताहरु पनि आकांक्षी छन् । यसअघि विवेकशील–साझा छोडेर स्वतन्त्र बसेकी रञ्जु दर्शना फेरि पार्टीमा फर्किएकी छन् र अध्यक्ष वा महासचिवमा उनको दावेदारी छ ।

यस्तै रमेश पौडेल र केशव दाहालको नाम पनि चर्चामा छ । उनीहरु दुवै मिलन पाण्डेको टीमका हुन् । समीक्षा बास्कोटाको टीमबाट प्रकाशचन्द्र परियारले पनि प्रमुख पदमा आकांक्षा राखिरहेका छन् । उम्मेदवारीको औपचारिक घोषणा भने कसैले गरिसकेको छैन ।

पार्टीका पूर्वसंयोजक पाण्डेले पार्टीमा सबैलाई मिलाएर लैजाने पक्षमा आफू रहेको बताए । नेतृत्व कसले गर्ने भन्दा पनि पार्टीले सही दिशा लिनु महत्वपूर्ण रहेको उनको भनाइ छ ।

‘पार्टीले अंगीकार गर्ने अग्रगामी विचारलाई बोक्नसक्ने मान्छे चाहिन्छ’, उनले भने, ‘म नै हुनुपर्छ भन्ने छैन, सहमतिमा तेस्रो व्यक्ति पनि हुनसक्छ ।’

पार्टीमा विगतमा रवीन्द्र मिश्रलाई साथ दिनेहरु एकातिर र उज्ज्वल थापाको लिगेसीबाट आएकाहरुको अर्को समूह छ । यस हिसाबले अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय कमिटीमा प्यानल प्रतिस्पर्धा हुनसक्ने सम्भावना पनि टरेको छैन । यद्यपि, दुवै पक्षले स्वतन्त्र प्रतिस्पर्धामा नै जोड दिइरहेका छन् । अध्यक्ष र पदाधिकारी सकेसम्म सर्वसम्मत होस् भन्ने नेताहरुको चाहना छ । तर, सर्वसम्मत नेतृत्वबारे छलफल भएको छैन ।

पार्टीकी अध्यक्ष बास्कोटाले महाधिवेशनमार्फत विवेकशीललाई फेरि एकपटक वैकल्पिक शक्तिका रुपमा ब्युँझाउने दाबी गरिन् ।

‘पद व्यवस्थापनमात्रै ठूलो कुरा होइन, वैकल्पिक राजनीति गर्ने अन्य साथीहरुलाई महाधिवेशनपछि समेटेर एउटा मूलधारको ठूलो फोरम निर्माण गर्ने हिसाबले सोचिरहेका छौं’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर