प्रदेश १ कांग्रेसमा संस्थापनबाट थापाको उम्मेदवारी फाइनल, अर्को पक्षमा कोइराला र घिमिरेको दाबी – Nepal Press

प्रदेश १ कांग्रेसमा संस्थापनबाट थापाको उम्मेदवारी फाइनल, अर्को पक्षमा कोइराला र घिमिरेको दाबी

इटहरीः नेपाली कांग्रेसको प्रथम प्रदेश समितिको लागि संस्थापन पक्षबाट उद्दव थापा उम्मेदवार बन्ने तय भएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटाैलाका साझा उम्मेदवारका रूपमा थापालाई अगाडि सारिएको हो । थापा नेपाली कांग्रेस झापाका निवर्तमान सभापति हुन् ।

संस्थापन इतर पक्षमा भने अहिलेसम्म उमेदवारको ठेगान लागेको छैन । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला र पार्टी केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सभापति गुरुराज घिमिरे आकांक्षी छन् । उनीहरुमध्ये को उम्मेदवार बन्ने भोलीसम्ममा टुंगो लाग्ने छ ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता कोइरालाले आफ्नो टिममा छलफल गरेर चाँडै साझा उम्मेदवार घोषणा गर्ने बताए । उनले भने, ‘सके आजै नसके भोलीसम्ममा उम्मेदवार फाइनल हुन्छ ।’

नेपाली कांग्रेसको प्रथम प्रदेश १ समितिको अधिवेशन विहीबार प्रदेश १ को राजधानी बिराटनगरमा सुरु हुँदैछ । शुक्रबार मतदाता नामावली प्रकाशन हुने र शनिबार चुनाव हुने तयारी छ ।

हालसम्म भएका जिल्ला अधिवेशनबाट प्रदेश १ मा संस्थापन पक्षले ७ र पौडेल÷कोइराला पक्षले ६ र सिटौला पक्षले एक जिल्ला सभापति पाएका छन् ।

प्रदेश १ का १४ जिल्लामा सबैभन्दा धेरै मतदाता भएका झापा, मोरङ र सुनसरीमध्ये झापामा सिटौला हावी भएका छन् । मोरङ र सुनसरीमा पौडेल र कोइराला पक्ष बलियो भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर