सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ? – Nepal Press

सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा फेरि एकपटक आदरार्थी शब्दबारे बहस भएको छ । एक सम्पादकले यो प्रसंग निकालेपछि ओलीले कडा जवाफ फर्काए ।

ती सम्पादकले सञ्चारमाध्यमहरूले राष्ट्रपतिदेखि सर्वसाधारण सबैलाई एउटै भाषा प्रयोग गर्ने गरेको तर ओलीले बारम्बार गुनासो गरको भन्दै असन्तुष्टी जनाएका थिए । अबका १५ महिना यस्तो गुनासो सुन्नु नपर्ने भन्दै उनले सन्तोष व्यक्त गरेका थिए ।

उनलाई बीचमा रोक्दै ओलीले प्रश्न गरे, ‘तपाईं आफ्नो बाआमालाई पनि तिमी भन्नुहुन्छ ?’

सम्पादकले एउटा गीतको पंति भन्दै ‘तिमी’ भन्दा फरक नपर्ने बताए ।

त्यसपछि ओलीले भने, ‘त्यो त गीतमा न हो । गीतमा त भगवानलाई पनि तँ भनिन्छ ।’

उनले मुनामदनको ‘ईश्वर तैले रचेर फेरि..’ गीत सम्झाएका थिए । गीत र साहित्यमा तिमी, तँ जे भने पनि सञ्चारमाध्यमको भाषा आदरार्थी हुनुपर्ने उनको भनाइ छ ।

यस विषयमा आफ्नो व्यक्तिगत गुनासो नभएको तर भाषिक समृद्धिको चिन्ता भएको उनले बताए ।

ओलीले भने, ‘तपाईंहरूले भेदभावपूर्ण भाषा प्रयोग गर्नुभयो भनेको होइन । तिमी, तपाईं भन्ने, आदरभाव व्यक्त गर्ने, यो हाम्रो भाषिक समृद्धि हो । हाम्रो भाषा तिमी, तपाईं, हजुरमा व्यक्त हुन्छ । कसैले बोलाउँदा हामी ‘हजुर’भन्ने जवाफ दिन्छौं । हामी अरुको मात्रै सिको नगरौं ।’

उनले थपे, ‘मलाई तिमी भनेको भनेर गुनासो गरेको होइन । मलाई त तिमी होइन तँ भने पनि हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर