एमाले सुदूरपश्चिमको इन्चार्ज मै हो, रावलसँग मतभेद छैन: लेखराज भट्ट – Nepal Press

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हो, रावलसँग मतभेद छैन: लेखराज भट्ट

कञ्चनपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले एमाले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको बताएका छन् । पार्टी उपाध्यक्ष भिम रावलसँग आफ्नो कुनै मतभेद नरहेको पनि उनले स्पष्ट पारे ।

प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको उल्लेख गरे ।

‘स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकमा मात्रै होइन अध्यक्षले हामीलाई बालकोटमा बोलाएर सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावले सहजीकरण कार्यदलको नेतृत्व गर्न भन्नु भएको हो,’ भट्टले भने, ‘हामीले त पार्टी अध्यक्ष र कमिटीले गरेको निर्णय मान्ने हो ।’

अध्यक्ष ओलीलाई उदृत गर्दै भट्टले एमालेमा जेठ २ हुबहु लागू हुन नसक्ने समेत बताए ।

‘जेठ २ हुबहु हुनुपर्छ भन्ने उहाँको माग थियो, तर एकीकरणको भावना समेटेर लैजानु पर्छ, जेठ २ हुबहु हुन सक्दैन भन्ने अध्यक्षको भनाइ छ । अहिले कार्य विभाजनको प्रश्न हो,’ भट्टले भने ।

उनले थपे, ‘कसैलाई भ्रम नहोस् उहाँ- भिम रावल) र मेरोबिचमा मतभेद अथवा भिन्न मत छैन । सद्भावपूर्ण व्यवहारका साथ र एक-अर्कालाई बुझेर सहकार्य गरेर जाने हो ।’

एमाले सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला भट्टले सो प्रष्टोक्ति दिएका हुन् ।

उनले एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही नगर्दासम्म र सभामुख अग्निप्रसाद सापकोटाले आत्मालोचना नगर्दासम्म संसद् चल्न नसक्ने बताए । भट्टले सभामुख प्रचण्डको कार्यकर्ताका रूपमा प्रस्तुत भएको समेत आरोप लगाए।

कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको प्रक्रियागत काम अघि बढाउन भट्ट कञ्चनपुर पुगेका थिए । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका बेला सुख्खा बन्दरगाह निर्माणका लागि पहल गरेका थिए ।

सुख्खा बन्दरगाह, गेटा मेडिकल कलेज, औद्योगिक क्षेत्र, औद्योगिक कोरिडोर विशेष आर्थिक क्षेत्र लगायतका केही महत्वपूर्ण योजना भट्टकै पहलमा सुरु गरिएका थिए । यी योजना सम्पन्न भए सुदूरपश्चिम मात्र नभएर मुलुककै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *