बिदाइ कार्यक्रममा आउन सन्दीपलाई पारसले गरेका थिए लिखित आमन्त्रण – Nepal Press

बिदाइ कार्यक्रममा आउन सन्दीपलाई पारसले गरेका थिए लिखित आमन्त्रण

काठमाडौं । टी-२० विश्वकप खेल्ने राष्ट्रिय टीमको बिदाइ कार्यक्रममा सबैलाई आश्चर्यमा पार्दै क्रिकेट सन्दीप लामिछाने सोल्टी होटलमा उपस्थित भए । उनी त्यहाँ आउनेबारे थोरैलाई मात्रै थाहा थियो ।

एकाएक सन्दीपलाई कार्यक्रम स्थलमा देख्दा खेलाडीहरु सुखद आश्चर्यमा परेका थिए । सन्दीपले सुरुमा पारसलाई भेटेका थिए । पारसले उनलाई अंकमालसहित स्वागत गरे । त्यसपछि प्रशिक्षक मोन्टी देसाई र खेलाडीहरुले पालैपालो सन्दीपलाई हग गरेका थिए ।

कार्यक्रमस्थलमा वेस्ट इन्डिजका खेलाडीहरुको पनि उपस्थिति थियो । केही दिनअघिको म्याचमा वेस्ट इन्डिजका अलराउन्डर किमो पलले मैदानमै ‘सन्दीप कहाँ छन् ?’ भनेर सोधेका पनि थिए ।

उनीसहित वेस्ट इन्डिजका खेलाडीहरु पनि सन्दीपसँग भेट्दा खुशी देखिए । औपचारिक कार्यक्रम सुरु भएपछि सन्दीप हलको अन्तिम सिटमा बसेका थिए ।

स्रोतका अनुसार क्यानको निमन्त्रणमा सन्दीप विदाइ कार्यक्रममा उपस्थित भएका हुन् । क्यानबाट सचिव पारस खड्काले सन्दीपलाई लिखित निमन्त्रणमा पठाएका थिए । सन्दीपको म्यासेन्जरमा पारसको निमन्त्रणा आएको थियो ।

सन्दीप नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टि–२० खेल हेर्न त्रिवि मैदानमा पनि पुगेका थिए । त्यहाँ पनि पारससँग उनको भेट र कुराकानी भएको थियो । पारस र सन्दीपको सम्बन्ध पहिल्यैदेखि त्यति न्यानो नभएको चर्चा नेपाल क्रिकेट वृत्तमा चल्ने गर्छन् । तर, पछिल्ला केही घटनाहरुमा पारसले सन्दीपप्रति सहृदयता देखाइरहेका छन् ।

जिल्ला अदालतले दोषि ठहर गरेपछि सन्दीपलाई क्यानले निलम्बनमा राखेको छ । जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।

उक्त मुद्दाको फैसला समयमा नहुँदा सन्दीप क्रिकेटमा फर्किन पाएका छैनन् । उनको अर्को पेसी पर्सी आइतबारलाई तोकिएको छ । यदि आइतबार सुनवाइ सुरु भएर सन्दीपलाई अदालतले सफाइ दिएमा विश्वकपमा उनलाई सहभागी गराउने रणनीतिमा छ क्यान ।

 


प्रतिक्रिया

4 thoughts on “बिदाइ कार्यक्रममा आउन सन्दीपलाई पारसले गरेका थिए लिखित आमन्त्रण

  1. Sandip euta hamro deshko gahana thiyo sadyantrakarile fasayo sahrai dukha lagirako xu

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर