रवि लक्षित गगनको टिप्पणी- सहकारी ठगीको नाम लिँदा कसैले खुट्टा उचालेका छन्, नबिराउनू नडराउनू – Nepal Press

रवि लक्षित गगनको टिप्पणी- सहकारी ठगीको नाम लिँदा कसैले खुट्टा उचालेका छन्, नबिराउनू नडराउनू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गरेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दा आफैं खुट्टा उचालेको टिप्पणी गरेका छन् ।

संवाद यात्राको क्रममा कैलाली पुगेका थापाले नबिराएको भए छानबिनको माग गर्दैमा कोही तर्सिनु नपर्ने उनको भनाइ छ ।

उनको भनाइ जस्ताको तस्तैः

हामी घेराबन्दीमा परिरहेका छौं । हामी आफ्नो घरभित्रको मिल्नुपर्छ । त्यसैले गठबन्धन पनि नगर्ने, फुटबन्द पनि नगर्ने, त्यसका लागि पार्टीभित्रको फोहोर सफा गर्ने, पार्टीलाई थप शुद्ध र पवित्र बनाउने, पार्टीभित्र पदमा पुग्ने मान्छे त थोरै हुन्छन् । तर, सबै लागिरहेका हुन्छन् । त्यस्तोमा एउटा व्यक्ति जिम्मा लिएर जान्छ, राज्यको स्रोत दुरुपयोग गर्छ, अख्तियारको दुरुपयोग गर्छ अनि त्यसको सिंगो दोष पार्टीले व्यहोर्नुपर्छ । चौतारो र चिया पसलमा गाली खानुपर्छ ।

नयाँ नयाँ खुलेको पार्टीहरुमा दुईचार जना ठग आएर हाम्रोबारेमा दश वटा कुरा भनिरहँदा साथीहरु शीर निहुराएर बस्नुपर्छ । त्यो शीर निहुराएर बस्नुपर्ने कारण के छ ? पार्टीमा लागेका साथीले राज्यको कुनै जिम्मेवारी लिन्छ, त्यो जिम्मेवारी लिँदैगर्दा कहींकतै गलत काम गर्छ भने त्यसको भारी त्यो गर्ने मान्छेले बोक्नुपर्छ, पार्टीले बोक्दैन । बोक्नु पनि हुँदैन, सक्दैन । त्यहाँ पार्टीले प्रेम देखाउने होइन, कठोर हुने हो । नियम कानून उल्लंघन गर्छ भने पार्टी कठोर हुनुपर्छ ।

अहिले सहकारीको कुरा आएका छन्, नाम चलेको सहकारी बन्द भएका छन्, त्यसको पैसा कसले लिएर गयो ? सहकारी सञ्चालकले घरजग्गा र मिडियामा लगानी गर्न पाउने हो कि होइन ? यो गैरकानूनी काम गर्नेहरु को को हुन् ? यसको खोजबिन गरौं । त्यसो गर्दा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, गगन थापाको नाम आउँछ कि रवि लामिछानेको आउँछ कसलाई के थाहा ? हामी रवि लामिछाने, गगन थापा भनिरहेका छैनौं । हामीले जसले गलत गरिरहेको छ, त्यो मान्छे खोजौं भनिरहेका छौं ।

यो सहकारी डुबेका पीडितको पैसा फिर्ता गर्ने उपाय खोज्नुपर्छ । त्यसका लागि संसदीय छानबिन समिति बनाऔं, त्यहाँ माओवादी, रास्वपा, कांग्रेस बस्छ । एकदुई महिना लगाएर अध्ययन गर्छ र दूधको दूध, पानीको पानी छुट्याउँछ । त्यसको रिपोर्ट ल्याउँदा एमालेको होला, माओवादी, कांग्रेस, घण्टी जसको होस्, समिति बनाएर छानबिन गरौं भनेका छौं । अहिले त खुट्टा उचाल भन्दा उचाले जस्तो गरिरहेका छन् । मैले भनिरहेको छु, नबिराउनू, नडराउनू ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर