फर्केर हेर्दा २०८० : यी हुन् १२ महिनाका २४ ‘इन्टरटेनमेन्ट गसिप’ – Nepal Press

फर्केर हेर्दा २०८० : यी हुन् १२ महिनाका २४ ‘इन्टरटेनमेन्ट गसिप’

२०८० साल हामीबाट बिदा भएको छ । नेपाली चलचित्र सहित समग्र मनोरञ्जन क्षेत्रमा यो वर्ष पनि समाचार र गसिपहरुको कमी भएन । चलचित्र हिट फ्लप जे भए पनि कलाकारहरु भने विभिन्न कारणले समाचारमा छाइ नै रहे ।

गायक–गायिकाहरु पनि चर्चामा आइ नै रहे । केही कलाकारहरु आफ्नो निजी जीवनका घटनाहरुले गर्दा गसिपको पात्र भने । सेलिब्रिटी लभ, ब्रेकअप, विवाह, डिभोर्सजस्ता सन्दर्भहरुमा पाठकको रुचि हुन्छ नै । यस वर्ष पनि बढी गसिपहरु यस्तै विषयमा लेखिए ।

प्रस्तुत छ, २०८० सालका १२ महिनामा नेपाल प्रेसमा प्रकाशित २४ वटा गसिप समाचारहरुको एक झलकः

१) सकम्बरीले विवादमा प्रकाश सपुत

२०७९ चैत ३० गते रिलिज भएको गायक तथा सर्जक प्रकाश सपुतको ‘सकम्बरी’ ले कलाकारिता क्षेत्रमा राम्रै बहस छेड्यो । यो वर्ष २०८० लागेसँगैको पहिलो गसिप हो ।

रिलिज भएको २४ घन्टामै १० लाख भ्युज बटुलेको गीत धेरैलाई सह्य भएन । सपुतले भिडियोमा कलाकार बन्ने सपना बोकेर गाउँबाट शहर आएकी युवतीलाई पाइला-पाइलामा यस क्षेत्रका पुरुष पात्रहरुले गरेको दुरुपयोगलाई देखाएका थिए ।

गीतको शब्दहरुमा समेत उनले सकम्बरीले लगाएका लुगादेखि हरेक चिज आफैंले किन्न नसक्ने भाव व्यक्त गरेपछि कलाकार बन्न होमिएकी एउटी महिलाले पुरुषको सहायताबिना केही गर्न नसक्ने र आफ्नो ज्यान बेच्दै हिँडेमात्र सफलता पाइने भान दिएको भन्दै धेरैले गीतको चर्काे आलोचना गरे ।

भिडियोको अन्त्यमा सकम्बरीलाई राजनीतिमा समेत अफर आएको देखाईएपछि कलाकारिताबाट राजनीतिमा हाम्फालेका महिलाहरुले पनि उनको गीतप्रति असन्तुष्टि जनाएका थिए ।

२) पूजा शर्माको महंगो रेस्टुरेन्ट

नायिकाबाट ‘रेस्टुरेन्ट साहुनी’ बनेकी पूजा शर्माको महंगो रेस्ट्रेन्टबारे सायदै सबै विज्ञ होलान् । झम्सिखेलमा उनले स्थापना गरेको ‘ट्याग स्पोर्ट्स लाउञ्ज एन्ड बार’ मा एक कप मिल्क टीकै १५० रूपैयाँ पर्ने समाचारले राम्रो चर्चा पाएको थियो । पूजाको रेस्टुरेन्टको पहिलो ग्राहक बनेकी थिईन अभिनेत्री गौरी मल्ल ।

मल्लले आफ्नो सामाजिक सञ्जालमा पूजाको रेस्टुरेन्टबारे वर्णन गर्दै आफूहरुले अर्डंर गरेका खानेकुरामा पूजाले एकदमै ‘न्यूनतम चार्ज’ गरेको बताउँदै बिलसहित फोटो हालेकी थिइन् ।

जसमा एउटा चियाको मुल्य नै १५० थियो । चिया नै १५० रुपैँयाको देखेपछि दर्शक छक्क परे । मल्लले सुरूमा बिलको फोटो हालेपनि मानिसहरू मूल्यसूची हेरेर झस्किन थालेपछि हटाइन् ।

पढ्नुस् सम्बन्धित समाचार : पूजा शर्माको रेस्टुरेन्टमा एक कप दूध चियाको रु. १५० ! पहिलो ग्राहक बनिन् गौरी मल्ल

३) आयूष र एलिजाको टिकटक लभ

‘टिकटकबाट ‘टक अफ दि टाउन’ बनेका जोडी आयुष सिंह ठकुरी र अलिजेह जमालीको प्रेमले सबैलाई चकित तुल्यायो। टिकटक लाइभबाट दुबईमा बस्दै आएकी पाकिस्तानी जमाली  र नेपालका आयुषको भेट भएको थियो ।

टिकटक लाइभमा एक-अर्कासँग फ्लर्ट गर्दागर्दै यी दुईको लभ परेको थियो । सुरुमा सबैले यी दुईको प्रेम मजाक भएको ठान्थे तर आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएपछि भने सबै पक्का भए ।

सुरुवाती दिनबाटै चर्चाको पात्र बनेका यी दुईले दुबईमा ईन्गेजमेन्ट समेत गरे। टिकटक बन्द भएपनि यी दुईको अहिलेपनि सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ ।

सम्बन्धित समाचार : टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

४) निशा र शरदको अंशबण्डा 

बाहिर सुमधुर तर भित्र गम्भीर समस्या चलिरहेको नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषावकरको दाम्पत्य सम्बन्ध २०८० को गसिपमध्येको एक हो ।

पाँच वर्ष लामो प्रेम सम्बन्धपछि २०७४ सालमा विवाह गरेकी निशाले २०७९ साल भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा अंश र मानाचामलको मुद्दा दायर गरेकी थिइन् ।

सो मुद्दाको २०८० मंसिर २८ गते अदालतले फैसला सुनायो जस अनुरुप शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाईन भने अंश प्राप्त नहुञ्जेलसम्म निशालेृशरदबाट मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्चसमेत पाउने भईन। शरद र निशाबीच अदालतले अंशबन्डा गरिदिए पनि उनीहरूको सम्बन्धबिच्छेद भने भएको छैन ।

सम्बन्धित समाचार : डिभोर्सबिनै शरद र निशाबीच अंशबन्डा, यस्तो छ जिल्ला अदालतको फैसला

५) बादल वर्षा बिजुलीको चमक

१८ वर्ष पुरानो गीत भाइरल भएर सामाजिक सञ्जाल गर्माएको गीत हो,‘बादल वर्षा बिजुली’। २०६२ सालमा निर्माण भएको चलचित्र ‘कर्तव्य’ मा समावेश यो गीतले लामो समय टिकटक हल्लायो।

गीत भाइरल भएपछि गायिका देखि संगीतकारसम्मको खोजी भयो। त्यसबेला सामान्य चलेको यो गीत अहिले डान्सिङ स्टेपका कारण टिकटकमा भाइरल भएको थियो ।

प्राश्ना शाक्यले गाएको गीतमा टिकटक स्टार प्रिज्मा र प्रिन्सी खतिवडाले उत्कृष्ट नृत्यसहित भिडियो बनाएपछि धेरैले उनीहरुको स्टेप कपी गरेका थिए ।

पूरा समाचार: बादल वर्षा बिजुली : अठार वर्षअघिको गीत एक्कासि बौरिएर टिकटकमा भाइरल

६) बालेनले आदिपुरुष रोकेपछि

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकेपछि लामो समय यो विवाद चलिरह्यो । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतकी छोरी भनेपछि यो विषय एकाएक चुलिएको थियो ।

बालेनले चलचित्रमा भनिएको उक्त संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। तर, तीन दिनसम्म पनि विवादित संवाद नहटाएपछि उनले पूर्वचेतावनीअनुसार काठ्माडौँका सम्पूर्ण हलहरुमा शो संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न रोक लगाएका थिए ।

उनले काठ्माडौँका हलहरुमाा नगरप्रहरी नै पठाएर प्रदर्शन रोक्न आदेश दिएका थिए । उनको यो निर्णयप्रति कतिले सहमति जनाए भने कतिले असन्तुष्टि । उनको निर्णयप्रति भक्तपुर र ललितपुरका मेयरले समेत आपत्ति जनाए ।

सबै हिन्दी चलचित्र रोक्न नहुने भन्दै चलचित्र संघले उच्च अदालतमा बालेनविरुद्ध रिटसमेत दर्ता गराएका थिए। जे होस्, यो विषयले लामो समय सामाजिक सञ्जाल हल्लायो ।

पूरा समाचार : बालेनको जवाफ- अदालत र सरकार भारतको गुलाम भए, कुनै कानून र अदालतलाई मान्दिनँ

७) प्रियंकाकी सासुको बिहेमा देखिएको तामझाम

अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले गरेको विवाह र बिहेमा देखिएको तामझामले मिडिया र सोसल मिडियालाई गसिपका थुप्रै शीर्षक दियो । कतिले उनीहरुको विवाहलाई उदाहरणीय भन्दै बधाइ दिए भने कतिले नचाहिँदो तमासा देखाएको भनेर खिज्याए ।

रविनाको विवाहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भए भने रविनाका छोरा तथा प्रियंकाका श्रीमान आयूष्मानकी पूर्वप्रेमिका परमिता आरएल राणाको आयूष्मानका भाइ आशिरमानसँग निकटताले सामाकि सञ्जाल तात्यो ।

रविनाको विवाहमा परमिता उपस्थित मात्र थिइनन्, उनी यत्रतत्र छाएकी थिइन् । त्यस्तै सासूको विवाहमा प्रियंकाले श्रीमानकी पूर्वप्रेमिकाको परमितासँग रमाउँदै डान्स गरेको भिडिओले पनि राम्रै स्थान पायो ।

पूरा समाचार : सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?

८) रोमानियामा प्रकाश सपुतमाथि बोतल प्रहार

दर्शकका प्रिय गायकलाई कसैले हमला गर्दा समाचार नबन्नु र चर्चाको विषय नहनु भन्ने सायदै होला । यस्तै भयो गायक प्रकाश सपुतमाथि भएको बोतल प्रहार घटना । आफ्नो सांगीतिक प्रस्तुती दिन रोमानिया पुगेका गायक सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भयो ।

असार १० गते नेपाली समय अनुसार रातको १२ बजे सपुतले ‘बोल माया’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो जसलाई सपुतले छल्न भ्याएनन् ।

दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएपछि माहोल केही सेलाएको थियो ।

पूरा समाचार : रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

९) पल शाहको अन्तरवार्ता लिँदा सन्दीपको शो बन्द

नायक पल शाहको अन्तवार्ता लिएकै कारण कमेडियन सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भयो । एउटा कलाकारका कारण शो नै बन्द गर्नुपर्ने भएपछि केही समय यो गसिपको विषय बन्यो ।

सन्दीपले असार २३ गते आफ्नो कार्यक्रमको आठौँ एपिसोडमा शाहलाई पाहुनाको रुपमा निम्त्याएका थिए । उक्त अन्तरवार्तामा पलले कुनै रोमाञ्चकारी कथा सुनाए जसरी आफ्नो जेल यात्राको ‘ग्लोरिफाइ’ गरेका थिए भने बलात्कारजस्तो संगीन मुद्दासँग जोडिएको विषयमा सन्दीपले अत्यन्तै भद्दा रियाक्सन दिएका थिए ।

अन्तरवार्ता प्रसारण भएपछि सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भयो । चाैतर्फी आलोचनापछि महिलाको स्वाभिमान र समाजको चेतनालाई ठेस पुगेको भन्दै कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोक्यो ।

पूरा समाचार : पल शाहको अन्तरवार्ता विवाद : सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ बन्द

१०) भागवत गीताको नाममाथि बबण्डर

अभिनेत्री तथा निर्देशक झरना थापा निर्देशित र निर्माता सुनिल कुमार थापा निर्मित चलचित्र ‘भगवत गीता’ कोे नामलाई लिएर पनि ठूलै बबण्डर खडा भयो । श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रुपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको बताउँदै केही आध्यात्मिक संस्थाहरुले प्रर्दशोन्मुख चलचित्रको नामप्रति आपत्ति जनाए ।

आपत्तिपछि बोर्डका अध्यक्ष भुवन केसीको उपस्थितिमा चलचित्रकी निर्देशक, निर्माता, अभिनेत्री, वितरक, बोर्डका सदस्य र आपत्ति जनाएका आध्यात्मिक संस्थाका प्रतिनिधिबिच चलचित्र विकास बोर्डमा छलफल भयो ।

छलफलको प्रारम्भमा निर्माता थापाले  ‘भगवत’ लाई भागवत बनाउने जस्ता थप केही प्रस्तावहरु राखेका थिए जसलाई धार्मिक प्रतिनिधिहरुले अस्वीकार गरे । थुप्रै नामको छलफल पश्चात अन्तत दुवै पक्ष ‘एक भागवत र एक गीता’ नाम राख्न सहमत भए ।

पूरा समाचार : विकास बोर्डमा सहमति जुट्यो- ‘एक भागवत र एक गीता’ नाम फाइनल (भिडिओ)

११) अनमोल केसी र सुदर्शन थापाको लफडा

अभिनेता अनमोल केसीले सुदर्शन थापाले निर्माण गर्ने चलचित्र ‘रावायण’ नखेल्ने भएपछि सुदर्शन र अनमोलबिच ठूलै लफडा पर्यो । काम गर्ने भनेर पछि धोका दिएको भन्दै सुदर्शनकी पत्नी सुप्रिया कटुवालले प्रहरीमा अनमोल विरुद्ध ‘आपराधिक विश्वासघात’को उजुरी दिएकी थिइन् ।

फिल्म खेल्ने भनेर १० लाख रुपैयाँ अग्रिम भुक्तानी लिइसकेपछि चलचित्र सुटिङमा जानुभन्दा तीन दिन अगाडि अनमोलले धोका दिएको उनको आरोप थियो । उजुरीपछि अनमोल पक्राउ परेका थिए । अनमोलले पैसा फिर्ता गरेपनि प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।

पूरा समाचार :  अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग (कुराकानी)

१२) श्रृंखलाको प्रेम र विवाह

पूर्वमिस नेपाल श्रृंखला खतिवडाको प्रेम चर्चा सगरमाथाभन्दा कम चुलिएन । कुनै समय भ्लगर सिसन बाँनियासँग प्रेममा रहेकी श्रृंखलाको अमेरिका गएपछि ब्रेकअपको खवर आयो ।

सिसनसँग अलग्गिएपछि श्रृंखलाको सम्भव सिरोहियासँग प्रेम सम्बन्ध सुरु भयो । श्रृंखलाले सम्भवसँगको प्रेमसम्बन्धलाई आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत साहित्यिक रुपमा आफै सार्वजनिक गरेकी थिइन् । सम्भवसँगको प्रेमसम्बन्ध बाहिरिएपछि सिसनसमेत ट्रोलको सिकार भए । अन्तत केही वर्ष डेट गरेर श्रृंखला र सम्भवले मंसिर २८ मा विवाह गरे ।

पूरा समाचार : श्रृंखलाले सार्वजनिक गरिन् सम्भवसँगको प्रेम

१३) अष्ट्रेलियामा दर्शकलाई सुगम पोखरेलको लात्ती र मुक्का

गायक सुगम पोखरेलले अष्ट्रेलियामा रक्सीले मातेर स्टेजमा गरेको हर्कतले पनि मिडियामै राम्रै चर्चा पायो । अष्ट्रेलियाको एडिलेडमा रक्सीले फिटान भएर गाउन गएका सुगमले अघिल्लो लहरमा रहेका एक पुरुष दर्शकलाई ताकेर लात्ती उज्याएका थिए ।

उनले झोक्किँदै स्टेजबाट ओर्लिएर आफूले टार्गेट गरेका पुरुष दर्शकलाई माइकसहितको मुक्काले प्रहार गरेका थिए । यतिमा मात्र सीमित नरहेका सुगमले कन्सर्टकै क्रममा दर्शकलाई मौनधारण गर्न भने । दर्शकले होहल्ला गरेपछि उनले माइक र पानीको बोतलले दर्शकलाई प्रहार गरेका थिए । कार्यक्रमपछि उनको चौतर्फी आलोचना हुन थालेपछि उनले दर्शकसँग माफी मागे ।

पूरा समाचार : अष्ट्रेलिया काण्ड: सुगम पोखरेलले लात्ती र मुक्कासमेत हानेका थिए दर्शकलाई, रक्सी खाएको स्वीकार

१४)मिस युनिभर्समा नेपालकी प्लस साइज सुन्दरी

‘मोटो शरीर’ भएका युवतीलाई सुरुमै खारेज गर्ने सौन्दर्य प्रतियोगिताको दुनिँयामा २३ वर्षीया जेन दीपिका ग्यारेटले नयाँ सिस्टम बसाईदिईन। ८० केजी तौल भएकी दीपिकाले भदौमा मिस नेपाल युनिभर्सको ताज हात पारेसँगै मिस युनिभर्सको ७२ औं संस्करणमा आफ्नो स्थान बनाइन् ।

उनको भद्दा शरीरलाई लिएर सामाजिक सञ्जालमा अनेकन टिप्पणीहरु भए । तर ‘मिस युनभर्स २०२३’ मा सहभागी भएसँगै अन्तर्राष्ट्रिय मिडियामा उनको चर्चा सुरु भयो ।

उनको सहभागीताले सबैलाई चकित बनायो किनकि कुनै पनि ग्लोबल ब्यूटी प्याजेन्टमा प्लस साइजको सुन्दरीलाई अहिलेसम्म प्रतिस्पर्धामा देकिएको थिएन ।

कतिपयले उनलाई सम्भावित फाइनलिस्टको रुपमा समेत हेरेका थिए तर जेन टप २० बाट बाहिरिइन् । यद्यपि, मिस युनिभर्समा भाग लिने विश्वकै पहिलो प्लस साइज मोडलको इतिहास भने उनले बनाइन् ।

पूरा समाचार : पूर्वमन्त्रीकी नातिनीले मिस युनिभर्समा रचेकाे कीर्तिमान !

१५) पूजा र पलको पुनर्मिलन

वर्ष २०८० को बुझेर बुझि नसक्नुको गसिप बन्यो पुजा शर्मा र पल शाहको पुनर्मिलन । पल बलात्कार आरोपमा पक्राउ परेपछि फिल्म रिलिजमै पललाई सम्झिएर धरधरी रोएकी थिइन् पूजा । तर पल जेलबाट छुटेपछि भने पूजा उनलाई भेट्न गइनन् । न त पलले नै पूजालाई भाउ दिए ।

पल जेल रहिन्जेल उनको पक्षमा खुलेर बोलेकी पुजालाई पलले आफ्नो बहिनीको विवाहमा समेत बोलाएनन् । अवार्ड समारोहमा अर्वाड थाप्दासमेत उनीहरु एकअर्कासँग नबोली अर्वाड थापेर फर्किएका थिए । बीचमा एक्कासी यी दुईको सम्बन्धमा बहार छायो । अहिले भने यी दुईको मित्रताको प्याचअप भएको छ ।

पूरा समाचार : पलले ‘भाउ नदिएपछि’ चिढिएकी पूजा : जेलबाट छुटेपछि भेट्न गइनन्, स्टाटस पनि हटाइन् (भिडिओ)

१६) कट्टा हान्दिन्छु माथि कपिराइट विवाद

‘कट्टा हान्दिन्छु’ बोलको गीत जति हिट भयो त्यति नै विवादित पनि । यो गीतमा चोरीको उजुरी दिनकै चोरी समातियो । गायिका एलिना चौहानले गाएको ‘कट्टा हान्दिन्छु’ सार्वजनिक भएको केही दिनमै गायक विश्वराम कार्कीले आफ्नो सिर्जना चोरी गरिएको आरोप लगाउँदै प्रतिलिपि अधिकार कार्यालयमा उजुरी गरेका थिए ।

कारण, कार्कीले एलिनाको गीत आउनु ५ दिन अघि ‘कट्टा हान्दिन्छु’ बोलकै गीत युट्युबमा रिलिज गरेका थिए जसमा शब्द र संगीतको क्रेडिट काक्रीलाई नै दिइएको थियो ।

कार्कीले चोरीको आरोप लगाएपछि एलिनाले आफ्नो सामाजिक सञ्जालबाट ५ वर्ष पुरानो एउटा गीत सार्वजनिक गरिन् जसको केही शब्द विश्वरामको गीतसित हुबहु मिल्थ्यो । मोहन साउदले गाएको सो गीतको बोल पनि ‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु’ नै थियो ।

पूरा समाचार : ‘कट्टा हान्दिन्छु’ विवादमा ट्विस्ट : चोरीको उजुरी दिनेकै ‘चोरी’ समातियो

१७) ज्योती मगर स्टेजमा पछारिएपछि 

पुस १९ गते इलामको बिहीबारेमा आयोजित १३ कुने सीमसार महोत्सवमा गीत गाउन राति करिब ११ बजे स्टेज उक्लिएकी ज्योती मगर गाउँदै उफ्रिने क्रममा स्टेजमा जाकिइन् । उनी स्टेजमा पछारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

धेरैले उनलाई ट्रोल गरे भने केहीले आयोजकमाथि प्रश्न उठाए । ज्योति गीत गाउने क्रममा आफ्नै शैलीमा बुरुक बुरुक उफ्रिरहेकी थिइन् ।

गाउँदै उफ्रिने क्रममा स्टेजमा भ्वाङ पर्यो । भ्वाङमा ज्योतिको देब्रे खुट्टो घुँडासम्म छिर्यो, उनी पछारिइन् । उनलाई सुरक्षाकर्मीले आएर उद्धार गरेका थिए । चोटका कारण खुट्टाले साथ नदिए पनि करिब आफ्नो प्रस्तुती भने छाडिनन् ।

पूरा सामाचार : १३ कुने महोत्सव : मध्यरातमा ज्योति मगर नाच्दानाच्दै स्टेजमा भ्वाङ, नराम्ररी पछारिइन्

१८) म्याकुरीको पारिवारिक झमेला

म्याकुरी नामले परिचित कमेडियन पवन खतिवडा र पत्नी सुम्निमा खालिङबिचकाे पारिवारिक कलह पनि कुनै चलचित्रको भन्दा कम भएन । दुई वर्ष प्रेमसम्बन्धमा रहेपछि २०७८ साल असोज १८ गते यी दुइले औपचारिक तवरबाट विवाह गरेका थिए ।

तर विवाह गरेको दुई वर्षमै यी दुईबिच मनमुटाव सुरु भयो । घरभित्रै सल्टाउन सकिने यी दुईको कलहले केही समय मिडिया हल्लायो । केही बाहिरी व्यक्तिहरु उनीहरुको विवादमा घुसेर थप गिजोल्ने प्रयास समेत गरेका थिए ।

पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् । लामो समयको आपसी कलहपछि अन्तत यी दुई पनि डिभोर्सका लागि तयार भए ।

पूरा समाचार : म्याकुरी र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’, आइतबार मुद्दा दर्ताको तयारी

१९) एलिना चौहान र साउन्ड टेक्निसियनको विवाद

फागुन २ गते भएको पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा राति प्रस्तुतिका क्रममा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन भएको थियो । भनाभन र साउन्डमा सुधार नभएपछि उनी अन्तिम गीत नगाई स्टेजबाट बाहिरिएकी थिइन् ।

एलिना गइसकेपछि साउन्ड टेक्निसियनमाथि दर्शक खनिएका थिए । उनीहरुमाथि हातपातसमेत भएको थियो । पछि साउण्ड सिस्टम व्यवसायीले गायिका एलिनाले माफी नमागेसम्म उनको कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिए । र अन्तत एलिनाले माफी मागिन् ।

पूरा समाचार : महोत्सवमा गाउने क्रममा साउन्ड टेक्निसियनसँग एलिना चौहानको भनाभन (भिडिओ)

२०) समीक्षाको असफल कन्सर्ट

गायिका समिक्षा अधिकारीले गत चैत १० गते पल शाहको गृहजिल्ला, दाङमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । कार्यक्रमका लागि उनी तुलसीपुरको एउटा होटलमा बसेकी थिइन् । तर, उनको प्रस्तुति हेर्न दर्शक कार्यक्रमस्थलमा आएनन् ।

दर्शकको भिड बढेपछि स्टेज उक्लने आशामा उनी होटलमै दिनभरि प्रतिक्षारत रहिन् । तर, आयोजकको फोन आएन । समीक्षालाई सुन्न जम्मा २३ जना दर्शकले मात्रै टिकट काटेका थिए ।

प्रस्तुति दिन नपाएपछि समीक्षा आफ्नो पारिश्रमिक लिएर फर्किन बाध्य भइन् । पलको गृहजिल्लामा समीक्षा ह्यूमिलेट भएको खबरले पनि मिडियामा राम्रै स्थान पायो ।

पूरा समाचार : पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद्द

२१) एलिनाको ब्रेकअछि विवाह

‘धोकेबाज गायिका’ एलिना चौहानको ब्रेकअपको खवर बाहिरिएपछि, यो खवरले लामो समय सामाजिक सञ्जालमा तात्यो । अष्ट्रेलियानिवासी प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको उनी स्वयंमले स्विकारेकी थिइन् ।

ब्रेकअप भएको दुई महिनामै उनको विवाहको खबर बाहिरियो । उनको विवाहको खवरले दर्शक झनै चकित परे । कारण, उनका भावी श्रीमान् अरू कोही नभई उहीँ ब्रेकअप भएका विष्णु सापकोटा निस्किए ।

हाल उनीहरू फेरि अफेयरमा छन् । यो जोडी यहीँ वैशाख ५ गते लगनगाँठो कस्ने तयारीमा छ । एलिनाले विवाहको लागी लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ ।

पूरा समाचार : विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाख ५ मा बिहे

२२) पूजा शर्मा र समीक्षाको लभ हेट रिलेशन

कुनै समय पललाई च्यापेर समिक्षाको विपक्षमा बोल्ने पूजा पलसँग टाढिएपछि भने तीनै गायिका समीक्षा अधिकारीसँग नजिक भइन् । उनले समिक्षासँग यति सामिप्यता बढाईन की समिक्षाको गीतमा सँगै टिकटक भिडियो बनाएरसमेत हाल्न थालिन् ।

एकसाथ टिकटक बनाएको देखेपछि पुजालाई धेरैले नाटक गरेको, स्वार्थी, अवसरवादी, आदि लगायतका कमेन्ट्सहरु पनि गरे। तर पूजा समीक्षाको नजिक भएजस्तो गरिरहिन् ।

पछि फेरि पल र पूजाको मिलन भयो। पलसँग नजिकिएपछि पूजा पलको बखान गर्दै हिँड्न थालिन् । दोहोरो चरित्र देखेपछि समिक्षाले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञा दिदै तीव्र कटाक्ष गरेकी थिइन् ।

पूरा समाचार : पल शाहसँग टाढिएकी पूजा शर्मा समीक्षासँग नजिकिँदै, टिकटकमा देखिए एकसाथ

थप : ‘बहुरुपी औरत’ भन्दै पूजालाई समीक्षा अधिकारीको कटाक्ष

२३)राजेशपायलको महंगो डिभोर्स

आफूभन्दा २६ वर्ष कान्छी प्रेमिकासँग विवाह गरेका गायक राजेशपायल राईको डिभोर्स कलाकारिता क्षेत्रको एक महंगो डिभोर्स मध्येको एक हो । फ्यानबाट प्रेमिका भई केही समय लिभईनमा बस्दैगर्दा पुत्रलाभ भएपछि राजेशपायलले साङबुङ राईसँग विवाह गरेका थिए ।

आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका राईले पछि आफै सम्बन्धविच्छेदको मुद्दा हाले । सम्बन्ध तोड्न साङबुङले पनि उच्च डिमान्ड राखिन् जुन राजेशपायलले पूरा गरिदिए ।

जसअनुसार काठमाडौंभित्रै रहेको एउटा घडेरी, नक्सालमा रहेको करिब ५ करोडको राजेशपायलको घर र नगद ५० लाख रूपैयाँ साङबुङले पाइन् ।

साथै, राजेशपायलले भविष्यमा थप १ करोड रूपैयाँ दिने लिखित प्रतिवद्धतासहित छोराको पढाइको सम्पूर्ण खर्च र छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ पनि पत्नीलाई दिन राजी भए ।

पूरा समाचार : करिब ५ करोडको घर र ५० लाख नगद दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

२४) रवि ओडमाथि वैवाहिक बलात्कार मुद्दा

नेपाल आइडल सिजन-२ का विजेता गायक रवि ओडको वैवाहिक बलात्कार मुद्दा यो वर्षकै अन्तिम गसिप हो जसले धेरैलाई अचम्मित पार्यो । कारण, उनी विवाहित हुन् भन्नेबारे उनका क्लोज सर्कलका साथीभाइलाई समेत थाहा थिएन ।

आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनकी श्रीमतीले चैत्र २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि अदालतबाट पक्राउ पुर्जी जारी गरेपनि कार्यक्रमका लागी जापानमा भएकाले गायक वड अहिलेसम्म प्रकाउ परेका छैेनन् । रविले आफूलाई ‘तिरस्कार’ मात्र नभएर ‘चिट’ पनि गरिरहेको महसुस गरेपछि उनकी श्रीमती प्रहरीसम्म पुगेकी हुन् ।

पूरा समाचार : श्रीमतीको जाहेरीपछि गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *