अष्ट्रेलिया काण्ड: सुगम पोखरेलले लात्ती र मुक्कासमेत हानेका थिए दर्शकलाई, रक्सी खाएको स्वीकार – Nepal Press

अष्ट्रेलिया काण्ड: सुगम पोखरेलले लात्ती र मुक्कासमेत हानेका थिए दर्शकलाई, रक्सी खाएको स्वीकार

काठमाडौं । गायक सुगम पोखरेलले अष्ट्रेलियामा रक्सीले मातेर स्टेजमा गरेको हर्कतका थप भिडिओ फुटेजहरु सार्वजनिक भइरहेका छन् । टिकटकमा आएका नयाँ भिडिओ क्लिपमा उनले गीत गाउने क्रममा दर्शकलाई लात्ती उज्याएको तथा मुक्का प्रहार गरेकोसमेत देखिएको छ ।

अष्ट्रेलियाको एडिलेडमा भएको कार्यक्रममा उनी रक्सीले फिटान भएर गाउन आएका थिए । उनले केही गीत गाए पनि । तर, सुरुदेखि उनी असामान्य र असन्तुलित देखिएका थिए । दर्शकहरु उनको गीतमा रमाएर साथ दिइरहँदा सुगमले भने दर्शकहरुलाई बारम्बार अपमानित गरेको भिडिओमा देखिन्छ ।

गीत गाउने क्रममा उनले अघिल्लो लहरमा रहेका एक पुरुष दर्शकलाई ताकेर लात्ती उज्याएका थिए । तर, त्यसलाई दर्शकले सामान्य रुपमा लिए । तर, सुगम भने यतिमा सीमित भएनन् । उनी झोक्किँदै स्टेजबाट ओर्लिए र आफूले टार्गेट गरेका पुरुष दर्शकलाई माइकसहितको मुक्काले प्रहार गरे । त्यसपछि कार्यक्रममा खटिएका सेक्युरिटीले उनलाई त्यहाँबाट हटायो ।

सुगमले यति गर्दा पनि दर्शकले धैर्य गुमाएनन् । मुक्का खाने दर्शकले प्रतिवाद गर्न खोजे पनि सुगम स्टेज उक्लिएपछि उनी मौन बसे । त्यसपछि कन्सर्टकै क्रममा उनले दर्शकलाई मौनधारण गर्न भने । दर्शकले होहल्ला गरेपछि उनले माइक र पानीको बोतलले दर्शकलाई प्रहार गरेका थिए ।

यसअघि सो घटनामा आफ्नो बचाउ गर्दै ‘एक्सनको रियाक्सन’ गरेको प्रतिक्रिया दिएका सुगम अहिले चौतर्फी आलोचनापछि भने केही नरम भएका छन् । एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै उनले दर्शकसँग माफी मागे ।

सो अन्तर्वार्तामा सुगमले आफूले रक्सी पिएको स्वीकार पनि गरेका छन् । उनले भने, ‘मेरो नियत गलत थिएन । तर, मेरो कमजोरी के भन्दा मैले थोरै मदिरा सेवन गरेको थिएँ त्यो दिन । त्यो गर्नु हुँदैनथ्यो ।’

आफूले मदिरा सेवन गर्न छोडे पनि एक महिनादेखि फेरि खान थालेको उनको भनाइ छ ।

‘मबाटै गल्ती भएको हो । म भावनामा बगें । मेरो भगवान दर्शकप्रति कुनै पनि अनादर गरेको छैन । म यही समाजले गर्दा गायक भएको हो । मैले पिउनु हुँदैनथ्यो । सरी’, उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *