विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाख ५ मा बिहे – Nepal Press

विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाख ५ मा बिहे

काठमाडौं । ‘धोकेबाज गायिका’ एलिना चौहान बिहेको तयारीमा जुटेकी छिन् । अचम्ममा नपर्नुहोला, एलिनाका भावी श्रीमान् अरू कोही नभएर अष्ट्रेलियानिवासी विष्णु सापकोटा नै हुन् ।

दुई महिना अगाडि मात्रै एलिनाले विष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो । नेपाल प्रेसले उनीहरूको ‘ब्रेक अप’ को खबर ब्रेक गरेपछि एलिनाले फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । त्यसमा उनले ब्रेकअपको स्वीकारोक्ति गरे पनि आफ्नो इच्छाबिना र सही समयको पर्खाइबिना समाचार लेखिएको गुनासो गरेकी थिइन् ।

‘म मान्छु कि म सार्वजनिक व्यक्तित्वभित्र पर्छु, तर पनि मेरो व्यक्तिगत जीवन छ र त्यसलाई गोप्य राख्न चाहने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार मसँग मात्र छ । थाहा छ– धेरैले मेरो धेरैभन्दा धेरै कुराहरू थाहा पाउन चाहनुहुन्छ। तर यो भन्दैमा सञ्चारकर्मीहरूले मेरो इच्छाबिना अथवा सही समयको पर्खाइबिना यसरी मेरो बारेमा समाचारको तातो विषय बनाएर मलाई मानसिक रूपमा पीडा दिनु भएन,’ उनले लेखेकी थिइन् ।

तर, यो जोडीको सम्बन्धमा फेरि अर्को ट्विस्ट आएको छ । उनीहरू अहिले फेरि प्रेममा छन् । कसरी त ?

निकटस्थ स्रोतका अनुसार समाचार बाहिरिएको केही समयपछि विष्णु नेपाल आएका थिए । पोखरा/स्याङ्जातिर एकजना साझा साथीको विवाहमा एलिना र विष्णुको भेट भयो । उक्त भेटमा कुराकानीपछि प्याचअप भएको स्रोतको दाबी छ । कपाल, दारी खौरेर नयाँ लुक्समा आएका विष्णुले आफूबाट विगतमा गल्ती भएको स्वीकारेका थिए । एलिना पनि उनीसँग कन्भिन्स्ड भइन् । त्यसपछि उनीहरू फेरि अफेयरमा छन् ।

एलिना र विष्णुले आफूहरूको प्याचअपको समाचार भने गोप्य राखेका थिए । विवाहकाे मिति तय भएपछि उनीहरुले खबर बाहिर ल्याएका हुन् । वैशाख ५ मा विवाह गर्ने तय भएकाे छ । एलिनाले लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ । बिष्णुको बुवाआमा एलिनाको घरमा गएर कुराकानी गरेको पनि स्रोतले बताएको छ ।

एलिना–विष्णुको प्रेम सम्बन्धको पटकथामा यो अन्तिम ट्विस्ट होस भन्ने कामना गरौं ।

(समाचार प्रकाशनपछि बिष्णु सापकोटाले नेपाल प्रेसमा फोन सम्पर्क गर्दै असन्तुष्टि जनाएका छन् । आफूहरुबीच ब्रेकअप नै नभएको उनको दाबी छ । दुवैकाे निजी जीवनमा असर पर्नसक्ने गुनासो उनले गरेका कारण  हेडलाइन र समाचारमा केही संशोधन गरिएको छ- स‌म्पादक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर